लागुऔषधसहित ४ जना प्रहरी नियन्त्रणमा

मकवानपुर, ११ पुस ।
मकवानपुर प्रहरीले लागुऔषध गाँजा ९८ किलाेसहित ४ जनालाई नियन्त्रणमा लिएकाे छ । मकवानपुरकाे २ छुट्टाछुट्टै स्थानबाट उनीहरुलाई नियन्त्रणमा लिएकाे प्रहरीले जनाएकाे छ ।

हेटौंडा उपमहानगरपालिका- १५ राताेमाटेबाट ८८ किलाे ३ सय ९० ग्राम गाँजासहित १ जना र मनहरी गाउँपालिका- ९ रमनटारबाट १० किलाे गाँजासहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएकाे बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएकाे छ । हेटौंडा -१५ राताेमाटेबाट उक्त परिणामकाे गाँजासहित थाहा नगरपालिका- ५ बज्रबाराहीका सविनकुमार गुरुङलाई नियन्त्रणमा लिइएकाे प्रहरीले जनाएकाे छ ।

हेटौंडा- १५ रातोमाटे प्रहरी चौकीबाट खटिएको टोलीले चितवनतर्फबाट सर्लाहीतर्फ जाँदै गरेको ना.८ ख ७५०४ नम्बरको डिब्बा ट्रकलाई रोकी जाँच गर्ने क्रममा उक्त ट्रकमा सात वटा पोकामा ८८ किलाे ३ सय ९० ग्राम लागुऔषध गाँजा फेला परेकाे थियाे । प्रहरीले ट्रक चालक २५ वर्षीय सविनकुमार गुरुङलाई ट्रकसहित नियन्त्रणमा लिएकाे जनाएकाे छ ।

यसैगरी पूर्वपश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको महनरी गाउँपालिका–९ रमनटारमा भएको दुर्घटनामा घाइते उद्धारका लागि पुगेको प्रहरीले १० किलाे लागुऔषध गाँजा बरामद गरेको छ । उक्त घटनामा ३ जनालाई नियन्त्रणमा लिएको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएकाे  छ । सोमबार रमनटारस्थित सडक किनारमा रोकिराखेको ना ४ ख ९४३३ नम्बरको ट्याङ्करमा बा ४० प ८२७३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा दुर्घटना भएको थियो ।

उद्धार गर्न घटनास्थलमा पुगेको प्रहरीले दुर्घटनामा परेको मोटरसाइकल र घाइते फेला नपरेपछि घटनास्थल नजिकै झाडीबाट २ वटा झोलामा ५/५ किलाे लागुऔषध गाँजा फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । घटनास्थलमा घाइते फेला नपर्नु तर लागुऔषध गाँजा फेला परेपछि प्रहरीले गरेकाे अनुसन्धानबाट मोटरसाइकल चालक कैलाश गाउँपालिका- ७ शर्सि बस्ने २५ वर्षीय हरी प्रजा, माेटरसाइकल पछाडि सवार सोही स्थान बस्ने १८ वर्षीय प्रस्थान प्रजालाई मनहरीमै आफन्तको घरबाट घाइते अवस्थामा नियन्त्रणमा लिइएकाे हाे ।

मोटरसाइकल चालक हरीलाई प्राथमिक स्वास्थ्य केन्द्र मनहरीमा सामान्य उपचार पश्चात थप उपचारर्थ भरतपुर अस्पताल चितवन पठाईएको छ भने प्रस्थान र टयाङकर चालकलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएकाे प्रहरीले जनाएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट