मकवानपुर, ८ पुस ।
मकवानपुरकाे मकवानपुरगढी गाउँपालिका बुढिचौरस्थित एकता स्वावलम्बन कृषि सहकारी संस्था लिमिटेडले कृषकहरुबाट उत्पादित मिठे फापर र तिते फापर खरिद गरि संकलन गर्न शुरुवात गरेको छ ।
गाउँपालिकाले प्रति केजी मूल्य एक सय रुपैयाँ तोकिएकोमा सहकारी संस्थाले १ सय १० मा खरिद गरेको हाे । जसमा अनुदान रकम समेत थप गरि प्रति केजी १ सय १६ रुपैयाँको दरले कृषकहरुबाट फापर खरिद गरिएको सहकारीका व्यवस्थापक गुन्जरत्न लुङ्वाले जानकारी दिए ।
आइतबारबाट खरिद गर्न सुरु गरिएकाेमा पहिलो दिन २१ जना कृषकहरुबाट २ हजार १ सय ७४ केजी फापर खरिद भएको सहकारीका सचिव अजय योन्जनले बताए । सहकारीका अध्यक्ष बालानन्द तिमल्सिनाले यस वर्षदेखि कृषकहरुबाट फापर संकलन शुरुवात गरेकोमा अनुमानित १० मेट्रिक टन खरिद गर्ने लक्ष्य रहेको जानकारी दिए ।
गत वर्ष कृषकहरुले प्रति केजी ९० रुपैयाँमा विक्री गरेकोमा यस वर्ष गाउँपालिकाको अनुदान समेत थप गरि प्रति केजी १ सय १६ रुपैयाँ पाएकोमा कृषकले समेत खुशी व्यक्त गरेका छन् । फापर बिक्री गर्ने कृषकहरु मध्ये मकवानपुरगढी ८ बुढिचौरका कृषक चन्द्रबहादुर लुङ्वाले सबैभन्दा बढी २ सय ६८ केजी फापर बिक्री गरेका छन् ।
मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तान र वडा नम्बर ८ का वडा अध्यक्ष कुमारसिं घिसिङ, वडा सदस्यद्वय गोकुलप्रसाद देवकोटा र सूर्यमाया दोङको उपस्थितिमा फापर खरिद तथा संकलनको कार्य शुरुवात गरिएको हो । कार्यक्रममा सहकारी संस्थाका पदाधिकारीहरु र फापर बिक्री गर्ने कृषकहरुको उपस्थिति रहेको थियो ।





