देवचुलीमा मगर संग्रहालय बनाइँदै

देवचुली, ८ पुस ।
मगर संस्कृति लोप हुन लागेको भन्दै त्यसको संरक्षणका लागि नवलपरासी पूर्वको देवचुलीमा मगर संग्रहालय स्थापनाका लागि भवन निर्माण थालिएको छ । नेपाल मगर संघ देवचुली- १० ले पृथ्वीनगरमा संग्रहालय बनाउन लागेको हो । मौलिक कला संस्कृति नै लोप हुने गरी देखिएको आधुनिकताले मगर पहिचान गुम्न थालेको भन्दै मगर अगुवाले सो संग्रहालय स्थापनाका लागि पहल गरेका हुन् ।

देवचुलीमा मगर समुदायको कला, संस्कृति, रहनसहन र भेषभूषालाई संरक्षण गर्दै पुस्ता हस्तान्तरणका लागि समेत संग्रहालय स्थापना गर्न लागिएको मगर संग्रहालयका अध्यक्ष भुवनसिं आलेले बताए । मगरले प्रयोग गर्ने भाँडावर्तन, लत्ताकपडा, बाजागाजा र जीविकासँग सम्बन्धित सामग्री राखिने उक्त संग्रहालयमा अन्य समुदायलाई अवलोकनका लागि समेत व्यवस्था गरिने उनले बताए ।

नगरपालिका, वडा र स्थानीय गाउँबासीहरुको सहयोगमा संग्रहालय बनाउन लागिएको हो ।

संग्रहालयका लागि स्थानीय समुदायमा भएका मगर सभ्यता झल्काउने सामग्रीहरु संकलन गरिएको र आगामी फागुन १५ गते उद्घाटन गर्ने तयारी गरिएको मगर संग्रहालयका सचिव गनबहादुर रानाले बताए । भवनका लागि २२ लाख भन्दा बढीको खर्च भएको उनले जानकारी दिए ।

पर्यटन प्रवर्द्धनका लागि समेत मगर संग्रहालय सहयोगी हुने भएकाले यसको थप विकास र प्रवर्द्धनमा राज्यले लगानी गर्नुपर्ने देवचुली नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष रेप्तीकुमार घर्ती मगरले बताए । वडाले संग्रहालयको भौतिक निर्माणका लागि सहयोग गरिरहेको बताउँदै आफ्नै भाषा, संस्कृति, भेषभुषा र संस्कार संस्कृति भएका मगरको मौलिकता रक्षाका लागि सबैले चासो दिनुपर्ने बताए । मगर समुदायको मौलिकता जोगाइराखे देवचुलीको पर्यटन विकासमा समेत टेवा पुग्ने उनले बताए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट