भरतपुर, २७ मंसिर ।
नारायणगढमा प्रधान कार्यालय रहेको हंस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले १४ औं वार्षिकोत्सवको अवसरमा बुधबार खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सहकारीका सदस्य, कर्मचारी, सुरक्षाकर्मी, स्थानीय बासिन्दा गरी ९ जना महिलासहित ५२ जनाले रक्तदान गरेका छन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि कार्कीले आफूले विगतका दिनमा गरेका रक्तदानका अनुभव तथा रक्तदानको महत्वबारे प्रकाश पार्दै समाजसेवाको लागि सहकारीको प्रशंसा गरे । उनले समुदायको विकासमा हात मिलाउन आग्रह गरे । त्यसैगरी संस्थाका अध्यक्ष दिनेशकुमार चुकेले संस्थाको स्वागत मन्तव्य राख्दै देशमा सहकारी आन्दोलनको महत्वमाथि प्रकाश पार्दै विगत १४ वर्षमा हंस सहकारीको उपलब्धि र प्रगतिका लागि सबैलाई बधाई दिए । वार्षिकोत्सवको अवसर पारी संस्थाले हरेक वर्ष खुल्ला रक्तदान कार्यक्रम गर्दै आइरहेको र विभिन्न समयमा यस्तो सामाजिक कार्यक्रम गर्दै आइरहेको अध्यक्ष चुकेले बताए ।
कार्यक्रममा संस्थाका प्रबन्धक नारायणप्रसाद सापकोटाले सहकारी र यसका विभिन्न गतिविधिका बारेमा जानकारी गराउँदै आफ्ना सदस्य तथा समाजलाई आर्थिक तथा गैरआर्थिक सेवा उपलब्ध गराउने उद्देश्यले संस्थाको स्थापना भएको र संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान, स्वास्थ्य शिविर, छात्रवृत्ति, राहत वितरणलगायत विभिन्न सामाजिक तथा परोपकारी कार्यक्रमहरु गर्दै आएको बताए । कार्यक्रममा वडा प्रहरी कार्यालय नारायणगढका प्रमुख प्रहरी निरीक्षक वसन्त पाण्डे, जिल्ला ट्राफिक प्रहरी कार्यालय भरतपुरका प्रमुख प्रहरी निरीक्षक सूर्य सुवेदी, संस्थाका लेखा तथा सुपरिवेक्षण समितिका संयोजक गोविन्दप्रसाद पौड्याल, संस्थाका संचालक एवं अग्रज रक्तदाता अनिता मैनाली, ब्लड बैंक चितवनका विश्वनाथ सापकोटा लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
संस्थाका उपाध्यक्ष एवं रक्तदान कार्यक्रमका संयोजक बाबुराम अधिकारीले कार्यक्रमलाई सफल बनाउने सम्पूर्ण अतिथि, रक्तदाता, आयोजक तथा सहयोगी मनहरुलाई धन्यवाद दिँदै आगामी दिनमा पनि सहकारीले समर्पण र इमान्दारीका साथ जनताको सेवालाई निरन्तरता दिने बताए । संस्थाका सचिव शारदा शर्मा पौडेलले संचालन गरेको कार्यक्रम संयोजक अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।




