बिहे खर्च कटाएर विद्यालयमा अक्षयकोष स्थापना

भरतपुर, २१ मंसिर ।
पत्रकार लक्ष्मी पौडेल र लेखक नारायण नेपालले विवाहमा हुने खर्च कटाएर विद्यालयमा अक्षय कोष स्थापना गर्ने घोषणा गरेका छन् । मंसिर १८ गते नुवाकोटका नारायण नेपाल र नवलपरासीकी लक्ष्मी पौडेलले विनातामझाम परिवारको रोहवरमा विवाह गरे ।

लक्ष्मीले आफूले प्राथमिक शिक्षा अध्ययन गरेको पर्वतको विहादीस्थित जनता आधारभूत विद्यालय र नेपालले नुवाकोट बेलकाेटगढीस्थित आफ्नो स्वर्गीय बुबा ढुण्डीराज नेपालको पहलमा स्थापना भएको मालिका माध्यमिक विद्यालयमा ५०–५० हजारबराबरको अक्षय कोष स्थापना गर्ने घोषणा गरेका छन् ।

पछिल्लो समय भड्किलो बन्दै गएको विवाहलाई सुधार्नुपर्ने बताउँदै दुवैजनाले सरल तरिकाले विवाह सम्पन्न गरे । न महँगा कपडा न झकिझकाउ गरगहना । मात्र माला र टीका लगाएर दुई परिवार एक भएको घोषणा गरे ।

उनीहरुको कदमको सहभागी सबैले प्रसंसा गरेका छन् । आफैंले अध्ययन गरेको विद्यालयमा अध्ययनरत विपन्न तथा दलित र असहाय बालबालिकालाई वार्षिक रुपमा छात्रवृत्ति उपलब्ध गराउनका लागि अक्षयकोष स्थापना गरिएको पौडेलले बताइन् ।

एक सचेत युवाले आजको जमानामा भड्किलो विवाह गरेर रुपैयाँ दुरुपयोग गर्न नहुने भन्दै उदाहरणीय कामको सुरुवातका लागि थोरै भए पनि उक्त रकम शिक्षा क्षेत्रमा सहयोग गरेको नारायण नेपालको भनाइ छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट