भरतपुर, ४ मंसिर ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौंमा मंसिर ७ गते हुन लागेका दुई वटा छुट्टाछुट्टै सम्मेलनलाई मध्यनजर गरेर निषेधित क्षेत्र थप गरेको छ ।
प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जारी गरेको आदेशअनुसार पद्मोदय मोडदेखि सिंहदरबार पश्चिम गेट, सर्वोच्च अदालत हुँदै माइतीघर मण्डलाको चारैतर्फ र माइतीघर मण्डलादेखि बबरमहल, बिजुलीबजार पूलहुँदै नयाँ बानेश्वर चोकसम्म निषेधित क्षेत्र घोषणा गरिएको छ । प्रमुख जिल्ला अधिकारी बस्नेतले सोमबारदेखि लागू हुनेगरी ३० दिनका लागि सो क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको बताएका छन् ।
स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ बमोजिम यस्तो आदेश जारी गरिएको छ । यसअघि काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गर्न रोक लगाएको थियो ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंको राष्ट्र, राष्ट्रियता धर्म, संस्कृति, नागरिक बचाउ महाअभियान र नेकपा (एमाले)को भ्रातृ संगठन राष्ट्रिय युवा संघले एकै समयमा माइतीघर मण्डलामा प्रदर्शन गर्ने घोषणा गरेपछि प्रशासनले माइतीघर मण्डलामा प्रदर्शन गर्न निषेध गरेको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यका अनुसार माइतीघर मन्डलामा ७ गते हुने भनिएको दुवै पक्षको प्रदर्शन गर्न नदिने गरी निषेधित गरिएको छ ।
काठमाडौं जिप्रकाले दुवै समूहलाई माइतीघर मण्डलाबाहेक तीनकुने, चावहिल, माछापोखरी, मूलपानी क्रिकेट मैदान र नक्साल नारायणचौरमध्ये एकठाउँमा कार्यक्रम गर्न सुझाव समेत दिएको छ । 
कसैको भड्काइमा नलाग्न सत्ता गठबन्धन चितवनको अपिल
चितवनका सत्ता गठबन्धनमा आवद्ध दलहरुले दुर्गा प्रसाईले मंसिर ७ गते काठमाडौँमा गर्ने प्रदर्शनलाई लक्षित गर्दै कसैको भड्काइमा नलाग्न नागरिकलाई अपिल गरेका छन् ।
सत्ता गठबन्धनमा आवद्ध पाँच दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, ने.क.पा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले संयुक्तरुपमा सोमबार एक विज्ञप्ति प्रेषित गर्दै सो आव्हान गरेका हुन् ।
विज्ञप्तिले घुमाउरो ढंगले प्रसाईको प्रदर्शनलाई लक्षित गर्दै संविधानको कार्यान्वयनमार्फत् जनताको अपेक्षाहरुको सम्बोधन गरी सुशासनको प्रत्याभूति दिन सरकार र राजनीतिक दलको दायित्व रहेको स्मरण गराउँदै सबै प्रकारका षडयन्त्र र अतिवादका विरुद्ध एकताबद्ध हुन सबै नागरिकलाई आव्हान गरेको छ । विज्ञप्तिमा कुनै किसिमको भड्काइमा नलाग्न र नलगाउन सबै राजनीतिक दल, नागरिक समाज, सामाजिक अगुवा र आम नागरिकमा राजनीतिक दलहरुले अपिल गरेका छन् ।
विज्ञप्तिमा मुुलुकलाई अस्थिर बनाई अमुक शक्तिकेन्द्रहरुको क्रिडास्थल बनाउने र अग्रगमनका विरुद्ध प्रतिगमनलाई स्थापित गर्ने षडयन्त्रहरु देखापरेको जनाइएको छ । विज्ञप्तिमा भनिएको छ, ‘मुलुकको यस संगिन घडीमा जनतालाई विभिन्न बहानामा भड्काउने, उत्तेजित पार्ने र अस्थिर राजनीतिक चलखेल राष्ट्र र राष्ट्रियताको लागि घातक हुन्छ । समाजमा व्याप्त भ्रष्ट्राचार र कुशासनका विरुद्ध दृढतापूर्वक उभिएर संविधानको संरक्षण गर्दै मुलुकलाई निकास दिनेतर्फ सरकार र गठबन्धनमा आवद्ध दलहरु अगाडि बढिरहेको अवस्थामा सामाजिक वातावरणसमेत खलल पार्ने गरी गरिएका क्रियाकलापले गम्भीर परिस्थितिको संकेत गरेको छ ।’ 





