भरतपुर, १६ कात्तिक ।
भरतपुर महानगरपालिका-९ स्थित गुरुकुल माविमा व्यवस्थापन संकायमा कक्षा- १२ मा अध्ययन गर्ने विद्यार्थीसँग अन्तरक्रिया गरिएको छ । जीवनमा कसरी अगाडि बढ्ने ? विषयमा केन्द्रित रही अन्तर्क्रियात्मक कार्यक्रम संचालन गरिएको हो ।
कार्यक्रममा चार्टर एकाउन्टेन्ट संघ बागमती प्रदेशका प्रमुख सिए निशान पौडेलले श्रव्यदृश्य सामग्रीसहितको कक्षा संचालन गरेका थिए । पौडेलले जीवनमा सफलता प्राप्तिका लागि के गर्ने ? कुन कामलाई कुन ढंगले गर्ने ? कामको वर्गीकरण कसरी गर्ने ? जस्ता विषयमा विद्यार्थीलाई अनुभव सुनाएका थिए । पौडेलले स्थायी लेखा नम्बर (पान) र मूल्य अभिवृद्धि कर (भ्याट) का बारेमा पनि विद्यार्थीलाई प्राविधिक ज्ञानसहित अभिमुखीकरण गरेका थिए । 
कार्यक्रममा कक्षा १२ मा अध्ययनरत १४० जना विद्यार्थी सहभागी थिए । कार्यक्रम संयोजक सुशील रेग्मीले सहजीकरण गरेको कार्यक्रममा सहप्राचार्य प्रतीक ढकाल, शैक्षिक निर्देशक सिर्जन अविरल, निवर्तमान प्राचार्य नवीन भण्डारी, सामाजिक विषय शिक्षक रुद्रनाथ दवाडी, रसायन विज्ञान प्रमुख जेएन लामिछानेको पनि उपस्थिति थियो ।
कार्यक्रम संयोजक रेग्मीले गुरुकुलले विद्यार्थीलाई पढाइसँगै अतिरिक्त क्रियाकलापमा जोड्दै आएको र यस्ता खालका कार्यक्रमहरू साप्ताहिकरूपमा गरिरहेको बताए ।
उनका अनुसार विद्यार्थीहरुलाई नियमितरूपमा यस्ता कार्यक्रमहरुमा सहभागी गराउँदा विद्यार्थीको सिर्जनात्मक पक्षमा सकारात्मक प्रभाव पनि देखिएको छ । 
कार्यक्रममा निवर्तमान प्राचार्य नवीन भण्डारी र सामाजिक विषय शिक्षक रुद्रनाथ दवाडीले सिए पौडेललगायतलाई मायाको चिनो प्रदान गरेका थिए ।





