भरतपुर, १६ कात्तिक ।
देशको मध्यभागमा रहेको चितवनको केन्द्रभाग भरतपुरमा भदौको पहिलो साताबाट आरम्भ कलेजले आफ्नो सेवा आरम्भ गरेको छ । मंसिरको पहिलो साताबाट पढाई सुरु हुन गइरहेको आरम्भ कलेजमा विद्यार्थीको आकर्षण बढेको पाइएको छ । सूचना प्रविधि र व्यवस्थापन पढ्न चाहने विद्यार्थीहरुको पहिलो रोजाई बन्दैछ आरम्भ कलेज ।
भरतपुर महानगरपालिका वडा नम्बर ११, नहरचोक नजिकै रहेको आरम्भ कलेजको स्थापना चितवनका पाँच र काठमाडौँका पाँच जना शिक्षाप्रेमीले गरेका हुन् । कलेजको व्यवस्थापन र संचालनमा संलग्न व्यक्तिहरु दुई दशकभन्दा बढी शैक्षिक क्षेत्रमा काम गरिसकेका अनुभवी छन् । शिक्षकहरु पनि अनुभवी र ऊर्जावान छन् । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेजले प्रारम्भिक चरणमा व्यवस्थापन संकायतर्फ स्नातक तहका दुई कार्यक्रम संचालन गरेको कलेजका प्रमुख सुरज शिवाकोटीले जानकारी दिए । शिक्षाको क्षेत्रमा उल्लेखनीय काम गर्न पञ्चवर्षीय योजना तयार पारिएको उनी बताउँछन् ।

आरम्भ कलेजमा विद्यार्थीको आकर्षण बढ्नुको प्रमुख कारण ‘पढ्दै, कमाउँदै’ भन्ने कलेजको मुख्य नारा रहेको छ । यस नारालाई सार्थक बनाउन कलेजले व्यवस्थापन संकाय अन्तर्गत ब्याचलर अफ इन्फरमेसन म्यानेजमेन्ट (बिआइएम) र ब्याचलर अफ होटेल म्यानेजमेन्ट (बिएचएम) मा धमाधम भर्ना लिन सुरु गरेको छ । चारवर्षे स्नातक तहको पाठ्यक्रममा आधारित यी विषयमा वर्षका दुई सेमेस्टरका दरले कुल आठ सेमेस्टर पढाई हुने क्याम्पस प्रमुख शिवाकोटीले जानकारी दिए । माध्यमिक शिक्षा परीक्षा (एसइई) मा कम्तीमा डी ग्रेड (एक दशमलव आठ जिपिए) ल्याउने विद्यार्थीले सिम्याट परीक्षा उत्तीर्ण गरेपछि सहजै भर्र्ना हुन पाउने उनले बताए ।
कलेजमा भर्ना भएका विद्यार्थीले पहिलो वर्षदेखि नै बिहान पढाई र दिउँसो काम गरेर पढ्दै, कमाउँदै गर्न सक्ने क्याम्पस प्रमुख शिवाकोटी बताउँछन् । ‘बिएचएम र बिआइएम दुवै संकायमा पहिलो वर्षदेखि चौथो वर्षसम्म आठ वटै सेमेस्टरमा करिअर सर्भिस ट्रेनिङ हुन्छ’ उनले भने, ‘चौथो वर्षको दुई सेमेस्टर पूरै प्रयोगात्मक हुन्छ । विद्यार्थीहरुले स्वदेश वा विदेशमा इन्टर्नसीप गर्नुपर्छ । इन्टर्नसीपका लागि सबै विद्यार्थी विदेश जान्छन् भने पनि पठाउँछौँ । कसैले नेपालमै इन्टर्नसीप गर्न चाहेमा त्यो विकल्पसमेत छ ।’
चौथो वर्षको वैदेशिक इन्टर्नसीपको लागि युरोपका चार देश जर्मनी, फिनल्याण्ड, स्वीजरल्याण्ड र बेल्जियमसँगै अमेरिकामा संस्थाका अध्यक्ष सुरेन्द्र सुवेदीले भ्रमण गरेर मौखिक सहमति लिएपछि यतिबेला कागजी काम अगाडि बढिरहेको क्याम्पस प्रमुख शिवाकोटीले जानकारी दिए । अस्ट्रेलिया र क्यानडाका लागि पनि कुरा अगाडि बढेको उनले बताए ।

सबैलाई छात्रवृत्ति
आरम्भ कलेज संचालक समितिका अध्यक्ष सुरेन्द्र सुवेदी काठमाडौँ मोडल कलेजका प्राचार्यसमेत हुन् । काठमाडौँ मोडल कलेज हालै नेपाल सरकारबाट देशभरकै उत्कृष्ट कलेजका रुपमा सम्मानित भएको छ । आरम्भ कलेजले विद्यार्थीहरुलाई मनोवृत्ति, सीप र ज्ञानको सम्मिश्रणबाट शिक्षा दिने अध्यक्ष सुवेदीको दाबी छ ।
चितवनमा उच्चशिक्षा लिन चाहनेलाई काठमाडौँ वा विदेश जान नपरोस् भन्ने उद्देश्यले भरतपुरमा कलेज संचालनमा ल्याइएको अध्यक्ष सुवेदीले बताए । कलेजले शैक्षिक, नैतिक पक्षसँगै अतिरिक्त क्रियाकलाप अन्तर्गत विद्यार्थीहरुको बौद्धिक र शारीरिक विकासका लागि खेलकुद, साहित्य र सिर्जनात्मक कार्यक्रमहरु अगाडि सारेको उनले जानकारी दिए ।
आरम्भ कलेजले त्रिभुवन विश्वविद्यालयबाट बिएचएमतर्फ ६६ र बिआइएमतर्फ ६६ गरी कुल १३२ जना विद्यार्थी पढाउन अनुमति पाएको छ । कलेज शुभारम्भको अवसरमा कलेजले यस वर्ष जुनसुकै विषयतर्फ भर्ना हुने विद्यार्थीलाई एकदेखि दुई लाख रुपैयाँसम्म छात्रवृत्तिको व्यवस्था गरेको छ । मेरिटमा आधारित, विशिष्ट क्षेत्रमा आधारित, आवश्यकतामा आधारित र सामुदायिक सेवामा आधारित छात्रवृत्तिको व्यवस्था मिलाइएको छ । आरम्भ कलेज गुणस्तरीय शिक्षाको ज्योति बन्ने क्याम्पस प्रमुख शिवाकोटीको दाबी छ ।
व्यवस्थापन संकाय अन्तर्गतका बिआइएम र बिएचएम शैक्षिक कार्यक्रमले प्रविधि र होटल व्यवस्थापनमा विद्यार्थीहरुलाई पूर्णरुपमा योग्य, सक्षम र सफल तुल्याउने छ, उनले भने, ‘व्यावहारिक, सैद्धान्तिक र समयसापेक्ष अन्तर्राष्ट्रिय स्तरको सीप प्रक्षेपण गराई यस क्षेत्रका उद्योगहरुका लागि एक प्रमुख विकल्प बनाउने हुँदा यस संस्थाको समाजमा अलग पहिचान हुने कुरामा समेत हामी विश्वस्त छौँ ।’
१२ कठ्ठामा फैलिएको आरम्भ कलेज परिसरमा २ वटा भवन रहेका छन् । एउटा भवन निर्माण सम्पन्न भइसकेको छ भने होटल म्यानेजमेन्टको अत्याधुनिक ल्याब रहने अर्को भवन निर्माणको अन्तिम चरणमा छ । आरम्भ कलेजका सबै कक्षाकोठा र ल्याब पूर्ण वातानुकुलित छन् । कलेजमा सेमिनार हल, ल्याब र पुस्तकालय छन् । फुटसल, बास्केटबल र स्वीमिङ पुल निर्माणको योजना रहेको प्राचार्य शिवाकोटीले जानकारी दिए । उनले भने, ‘पढ्दै कमाउँदै भन्ने कलेजको लक्ष्य छ । अहिलेको समय सूचना प्रविधिसहितको व्यवस्थापनको हो । त्यसैले विद्यार्थीहरुसामु आरम्भ कलेज एउटा अवसरका रुपमा आएको छ ।’ 
व्यक्तिगत हेरविचार
आरम्भ कलेजले भर्ना भएका विद्यार्थीहरुको व्यक्तिगत प्रोफाइल तयार गरेर हरेक विद्यार्थीको व्यक्तिगत क्षमता विश्लेषण गरी सोही अनुसार शिक्षा प्रदान र हेरचाहको नीति अवलम्बन गरेको क्याम्पस प्रमुख शिवाकोटी बताउँछन् ।
‘कलेजमा भर्ना भएका विद्यार्थीको व्यक्तिगत प्रोफाइल तयार गरेर विद्यार्थीका सबल पक्ष र दुर्बल पक्ष पत्ता लगाई सोही अनुसारको सहायता उपलब्ध गराउनेछौँ’ क्याम्पस प्रमुख शिवाकोटी भन्छन्, ‘हामीले आइडिया स्टुडियोसँगको सहकार्यमा आइडिया इन्कुबेसन सेन्टरको अवधारणा अघि सारेका छौँ । यस्तो सेन्टरबाट विद्यार्थीहरुले व्यावसायिक योजना निर्माण, व्यवसायको विकास र नयाँ व्यवसायको आइडिया ल्याउन सक्छन् ।’
यसबाहेक विद्यार्थीहरुलाई प्रत्येक महिना होटल एक्स्पोजर, औद्योगिक भ्रमण, सूचना र प्रविधिको अवलोकनलगायतका अवसर दिइने क्याम्पस प्रमुख शिवाकोटीले जानकारी गराए । कलेजमा पूर्व लोथरदेखि पश्चिम शुक्रनगर र नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को कावासोतीसम्मका विद्यार्थी भर्ना भएको र उनीहरुलाई आवतजावतका लागि बसको व्यवस्था गरिएको उनले बताए । कलेज स्थापनाको पहिलो वर्षमै विद्यार्थीहरुको यो आकर्षणले आफूहरुलाई राम्रो गर्नका लागि थप हौसला प्राप्त भएको क्याम्पस प्रमुख शिवाकोटीको भनाइ छ ।





