‘मोम्चो’ भित्र चेपाङ समुदायको सामाजिक र सांस्कृतिक पक्षको सुन्दर चित्रण

‘मोम्चो’ शब्द मेरो लागि नयाँ शब्द हो । पत्रकार वसन्त पराजुलीको मोम्चो कथासङ्ग्रहको शीर्ष शब्दले नै मेरो ध्यान आकृष्ट ग¥यो । त्यसैले मोम्चोलाई पढ्ने जमर्को गरें । पुस्तक हात पर्ने बित्तिकै शब्दको अर्थ पहिल्याउन मोम्चो कथाभित्र छिरें । अनि बल्ल थाहा भयो, मोम्चो भनेको महिला रहेछ । चेपाङ भाषाको मौलिक शब्दलाई शीर्षक राखिएको रहेछ ।
कथाकार पराजुलीको दोस्रो कृतिका रुपमा रहेको यो कथासङ्ग्रहमा समाजका विविध घट्ना तथा परिस्थितिहरुलाई सुक्ष्म ढङ्गले केलाइएको छ । जम्माजम्मी ११ वटा कथाहरु सङ्ग्रहित यसमा ‘मोम्चो’ कथाबाटै यस सङ्ग्रहको शीर्षक राखिएको छ ।

महिला जीवनका विभिन्न आयामहरुको उजागर गरिएको कथा हो ‘मोम्चो’ । मोम्चो अर्थात् महिलाले आफ्नो जीवनमा भोग्नुपरेका विभिन्न जीवनखण्डहरु यस कथामा उतारिएको छ । चेपाङ समुदायको परिवेश र सामाजिक, सांस्कृतिक पक्षको सुन्दर चित्रण गरिएको यस कथाकी प्रमुख पात्र मङ्गली हुन् । आफ्नो पढाइलाई छोडेर उमेर नपुग्दै मङ्गलीको गोरेसँग चेपाङ संस्कृतिअनुसार मागीबिहे हुन्छ तर बैंसले जीवन फक्रने बेलासम्ममा गोरेले अर्कै फूलको बास्ना पाइसकेको हुन्छ ।
मङ्गली एक प्रतिनिधि पात्र मात्र हुन् । चेपाङ समुदायभित्र प्रायजसो भागीविवाह होस् या मागीविवाह होस्, सानै उमेरमा विवाह गर्ने, आजीवन दुःख कष्ट, सङ्कटमा रुमलिनु पर्ने मोम्चोहरुको पीडालाई यस कथामा प्रस्तुत गरिएको छ ।

मङ्गलीकी सहपाठी, बालसखा आइतीले पढेर गाउँकै एक विद्यालयको शिक्षक भएर आफ्नो जीवनलाई सही मार्गतिर डोर्‍याइरहेको प्रसङ्ग प्रस्तुत गरी मोम्चोहरुको लागि शिक्षा अपरिहार्य भएको सन्देश पनि यसमा व्यक्त गरिएको छ ।
महिलामाथिको सामान्य हिंसा मात्र नभई जघन्य अपराधले सीमा नाघेको घट्नालाई ‘वक्ररेखा’ कथामा प्रस्तुत गरिएको छ । प्रमुख पात्र श्रुतिलाई श्रीमान श्रब्यले प्रेम, खुशी, आनन्दको गोरेटोमा हिँडाएको कारण उनले जीवनलाई सरल ढङ्गले मात्र बुझेकी थिइन् । पतिको वक्रदृष्टि र वक्रमार्गको भेउ पाउन श्रुतिलाई समय नै कुर्नुप¥यो । सौतेनी दिदीमाथि यौनशोषण गरिरहेको श्रब्यले आखिरमा जेलनेलको सजाय पाए पनि सम्बन्धमा धोका खाएका श्रुतिजस्ता अनेकौं महिलाहरु बाँच्न सरल र सहज नभई जीवन वक्ररेखाजस्तो हुने समाजको तितो यथार्थ यस कथामा चित्रण गरिएको छ ।

१० वर्षको कथित जनयुद्धका विषयलाई ‘बेइमान’ कथामा समेटिएको छ । यस कथाका म पात्र नेपाली सेनाले दिएको उत्पीडन सहन नसकेर माओवादी जनयुद्धमा सम्मिलित हुन गएको प्रङ्सग छ । यसले तत्कालीन द्वन्द्वको समयमा आफ्नो ज्यान जोगाउन र बदला लिन माओवादीमा लाग्न युवाहरु विवश हुनुपरेको तथ्य उजागर गरिएको छ । आफ्नो सम्पूर्ण कर्म, निष्ठाकासाथ लागि परेका माओवादी लडाकुहरुको समेत आजसम्म जीवन परिवर्तन भएको छैन । शान्ति सम्झौतापछि सेना समायोजनमा होस् वा हरेक अवसर प्राप्तिमा होस्, सबैमा सच्चा माओवादी पछाडि नै परेको तितो वास्तविकता यसमा प्रस्तुत भएको छ । माओवादीको सरकारमा पनि चैते माओवादीहरुकै बोलवाला बढ्दै जाँदा अवसर जति अवसरवादीकै पोल्टामा परेको तर जीवन हत्केलामा राखेर युद्ध लडेकाहरुको दिन नफेरिएको विषय उठान गरिएको छ ।

सर्वहारा वर्गको उत्थानको नारा लगाएर सत्तामा पुगेका तर धनयुद्धमा फसेका नेताहरुको यस कथाले पर्दाफास गरेको छ ।
नेपालको व्यवस्थाले नेपाली युवाहरु निराश भएर खाडीमा श्रम बेच्न बाध्य हुनुपरेको सन्दर्भ पनि यस कथामा जोडिएको छ । आÇनो जीवन र परिवार पाल्न विदेशिएका कयौं नेपालीहरु म्यानपावर कम्पनीको ठगीमा परेर सोचेभन्दा छुट्टै काम गर्न बाध्य हुन्छन् । भुङ्ग्रोमा परेको माछाझैं खाडीमको मरुभूमिमा छट्पटिएर पसिना र श्रम बेच्न बाध्य नेपालीको कथा व्यथालाई यस बेइमान कथामा समेटिएको छ ।

‘बेचिएको मातृत्व’ शीर्षकको कथामा चरम गरिबी देखाइएको छ । एक शिक्षकको परिवारले भोग्नु परेको दरिद्रता यसमा चित्रण गरिएको छ । आफ्नो श्रीमानको मिर्गौला फेर्न एक नारीले आफ्नो कोखलाई बेचेर ममताको तिलाञ्जली दिन बाध्य हुन्छिन् । नौ महिनासम्म कोखमा राखेर हुर्काएको सन्तानलाई उनले आफ्नो नाम दिन नपाउँदाको पीडा र छट्पटी प्रस्तुत गरेर कथाकारले ममताको महिमालाई उच्चतम स्थानमा पु¥याएका छन् । पहिले नै आफ्नो श्रीमानको ज्यान जोगाउन उनले कोखको हिसाबकिताब गरिसकेको भए पनि ममताको हिसाबकिताब गर्न नसक्ने नारी ममताको महानता यस कथामा देखाइएको छ ।

‘नबिर्सिएको प्रेम’ मा कथित उपल्लो जात र कथित तल्लो जातबिच अन्तर्जातीय विवाह हुँदा पारिवारिक र सांस्कृतिक रुपमा उत्पन्न समस्यालाई प्रस्तुत गरिएको छ । आमाबुबा मर्दा पनि अछुतसँग बिहे गरेको भन्दै समाजले छोरालाई क्रिया गर्न नदिएको घटना मार्मिक छ । समाजले अझै पनि यस्ता सम्बन्धलाई स्वीकार्न र पचाउन नसकेको यथार्थ यस कथामा पाइन्छ ।

समाज जतिसुकै आधुनिक भनिए पनि महिलाले अझै बेलाबेलामा ठाउँठाउँमा अग्निपरीक्षा दिनु परेको छ । ‘शंका’ कथाकी पात्र श्रुति पनि यसबाट अछुतो रहन सकिनन् । बिहे भएको बीस वर्षमा गर्भवती भएको कारण उनी शंकाको घेरामा पर्छिन् । श्रीमानले स्थायी बन्ध्याकरण गरिसकेको अवस्थामा उनी गर्भवती भएको कारणले पनि शंकाको घेरामा परेकी हुन् ।
विभिन्न उद्देश्य लिएर विदेशिने नेपालीहरुको समूह नेपालमा बाक्लै भेटिन्छन् । आफ्नो सपना साकार पार्न वा परिवार पाल्न भनी विदेशको उडान भर्छन् । तर आफ्नो उद्देश्य पूरा नहुँदै त्यतैको परिस्थिति र रमझममा भुल्न थाल्छन् ।

यस्तै कथावस्तु ‘जिजीविषा’ शीर्षकको कथाले प्रस्तुत गरेको छ । चरम आर्थिक समस्याबाट पार पाउन माडीको पाँच कट्ठा जग्गा बन्धकी राखेर कथाकी म पात्र अमेरिका प्रस्थान गरेको प्रसड्डबाट गरिबीमाथि झन् ऋण गरेर विदेश पस्ने नेपालीहरुको प्रवृत्तिप्रति व्यंग्य गरिएको छ । त्यहाँ जे जस्तो समस्या, जटिलता भए पनि सामाजिक सञ्जालमा राम्रो तस्बिर हालेर वास्तविकता लुकाइने गरेको नेपालीहरुको प्रवृतिलाई पनि यस कथामा प्रस्तुत गरिएको छ । आफ्नो जन्मदाता अर्थात् आफ्नो बुबाको अकस्मात् मृत्युको खबर पाएर पनि बाध्यतावश शोकमा परेका आफ्ना परिवारलाई साथ दिन आउन नसकेको मार्मिक घटनाक्रम यस कथामा प्रस्तुत गरिएको छ । यस घटनाको माध्यमबाट परदेशिएका हजारौँ लाखौँ नेपालीहरुको विवश र बाध्यकारी अवस्थाको चित्रण गरिएको छ ।

यसरी यस कथासङ्ग्रहमा चेपाङ समुदायका मोम्चोको मात्रै कथा नभएर समाजका विविध जात, वर्ग, गाउँशहर, धनी–गरीब लगायतका सम्पूर्ण मोम्चोहरुको कथा व्यथालाई प्रस्तुत गरिएको छ । कथाहरुमा मौलिक र जनबोलीमा प्रचलित भाषाशैलीको प्रयोग गरिएको छ । समाजका विभिन्न पक्ष र विषयवस्तुको उत्थान गरी सरल र सहज भाषामा लेखिएका यी कथाहरुबाट सकारात्मक सन्देश प्राप्त गर्न सकिने हुँदा यो संग्रह सम्पूर्ण पाठक वर्गका लागि पठनीय छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट