एउटा इञ्जिनियरको आँखामा सोभियत संघको पुरानो दृश्य

लेखक राम बिन्दु श्रेष्ठको ‘मेरा सोभियत सम्झनाहरु’ नामक पुस्तकमा रुसी कम्युनिस्ट शासकको इतिहास, कम्युनिस्ट सरकारले गरेका सकारात्मक कामहरूका बारेमा वर्णन गरिएको पाइन्छ । त्यस्तै लेनिन, स्टालिन र ख्रुश्चेभजस्ता शासकहरूको कार्यशैलीहरूको पनि चर्चा गरिएको छ । यस्ता प्रसंगहरूले कम्युनिस्ट पार्टीमा कुनै व्यक्ति शक्तिशाली शासक हुँदा देशमा के कस्तो प्रभाव पार्छ भन्ने कुरालाई राम्रोसँग देखाएको छ । त्यस्तैगरी देशा सत्ता परिवर्तन हुँदा पार्ने सकारात्मक र नकारात्मक प्रभावका बारेमा पनि पुस्तकले मिहिन तरिकाले बताएको छ । समग्रमा लेखकीय अनुभूति सुन्दर छन् ।

आरम्भ
यतिबेला नेपाली साहित्यको बजार चलायमान छ । बजारमा ‘मेरा सोभियत सम्झनाहरु’ आएको त निकै भएको थियो । के पढ्ने ? के नपढ्ने ? एउटा सोचनीय विषय बनेको छ पाठकहरुका लागि । यस्तैमा मेरो मेसेन्जरमा लेखक राम बिन्दु श्रेष्ठको फोन आयो । सम्पूर्ण किताब, नारायणगढमा गएर उनको किताब लिएर एक पटक पढिदिने । पढ्दा मज्जा आए पनि सक्न निकै दिन लाग्यो । त्यसपछि उनले केही लेखिदिन गरेको आग्रहलाई पूरा गर्न अझ थप केही महिना नै लाग्यो । आज त्यसको प्रतिफलका रुपमा यो आलेख तयार भएको छ ।

कृतिको छोटो चिनारी
नेपाल रुस साहित्य समाज, काठमाडौँले प्रकाशित गरेको ‘मेरा सोभियत सम्झनाहरु’ नामक कृतिका लेखक इञ्जिनियर राम बिन्दु श्रेष्ठ हुन् । यो कृतिमा लेखकले यतिबेला आएर आफू उतिबेला पढेको सोभियत संघको स्मरण गरेका छन् । जम्मा २५२ पृष्ठको आयाम बोकेको यो कृतिको अन्तिममा दुई पृष्ठको रुसी नेपाली शब्दार्थ पनि राखिएको छ । विविध शीर्षकका ३९ वटा संस्मरणात्मक निबन्धहरु समेटेर तयार पारिएको यो कृतिको रचना खण्डले भने कूल २४५ पृष्ठ ओगटेको छ । यसमा सङ्कलित निबन्धहरु घटीमा दुई पृष्ठदेखि बढीमा बाह्र पृष्ठको आयाम ओगटेका छन् । यस कृतिको मूल्य रु. ४७५।– राखिएको छ ।

कृतिको छोटो सर्वेक्षण
लेखक राम बिन्दु श्रेष्ठको ‘मेरा सोभियत सम्झनाहरु’ संस्मरणात्मक कृति हो । यसको उठान लेखक स्वयम्को बालापनबाट भएको छ । उनले आफू जन्मेहुर्केको ठाउँ विकट पहाडी जिल्ला बागलुङको सेरोफेरो, बाल्यकालदेखि उच्च शिक्षा अध्ययनको सिलसिलामा छात्रवृत्तिमा छनौट भई सोभियत संघसम्म पुगेको कुरा सुरुका निबन्धहरुमा चर्चा गरेका छन् । यी कुराहरू पढ्दै जाँदा लेखकमा सोभियत संघप्रति ठुलो उत्सुकता रहेको देखिन्छ । यिनमा उनले भोगेका, अनुभूत गरेका र बेहोरेका हण्डर, ठक्कर र सफलताका किस्सालाई संस्मरण मार्फत् पाठक समक्ष प्रस्तुत गरेका छन् ।
पुल्चोक इन्जिनियरिङ कलेजबाट आइ.एस्सी. गरेर उच्च शिक्षाको पढाइको सिलसिलामा छात्रवृत्ति प्राप्त गरी सन् १९८५ मा लेखक सोभियत रुसमा पुग्छन् । त्यतिबेला लेखकको उमेर जम्मा २१ वर्षको हुन्छ । उनी रुसमा पुगेर सुरुमा रुसी भाषा सिक्छन्, त्यसपछि इन्जिनियरिङ पढी छ वर्षसम्म त्यहाँ विताउँछन् । उनलाई भाषा पढाउने ७० वर्षीय शिक्षिका आर्पिक ओमेतोभ्ना खच्यातुर्यानको सक्रिय जीवनले उनलाई निकै प्रभावित पार्छ । तिनै पाका शिक्षिकाले लेखकलाई राजनीतिदेखि रुसी साहित्यकारहरूका कृतिहरूका बारेमा पनि परिचय गराउँछिन् । त्यहाँ बस्दा उनलाई एकातिर अध्ययनको चाप अर्कोतिर घरपरिवार, आफन्त र अपनत्वबाट लामो समयसम्म बिछोडिनुको पिरले लखेट्छ, तर उनले पढाइलाई भने निरन्तरता दिइरहन्छन् ।

आफू हिन्दु हुनुको बोधलाई लेखकले गाईको मासुलाई मिठो परिकारका रूपमा लिइने रुसमा उनी भने भान्सामा गौमांस पाकिरहँदा घरको काली बाच्छी र कैली गाईको सम्झनाले सताएको कुराका माध्यमबाट गज्जबले दर्साएका छन् । जाडोमा उनको कलेजले विदेशी विद्यार्थीहरूलाई न्यानो कपडा किनिदिने चलनको पनि उनले यसमा चर्चा गरेका छन् । त्यसमा नेपाली युवाहरू होचो काँठीका भएका कारण सोभियत किशोर किशोरीहरूको शरीरका लागि बनाइएको होलो कपडा नाप जाँच गर्नुपर्ने अवस्थालाई पनि लेखकले रमाइलो पाराले सम्झना गरेका छन् ।

लेखकले सोभियत संघका विश्वविद्यालय र इन्स्टिच्युटमा अध्ययनरत विदेशी विद्यार्थीहरूले बिदाको समयलाई सदुपयोग गर्दै युरोपका विभिन्न सहरको यात्रा तय गर्ने कुराको यो कृतिमा पटक पटक वर्णन गरेका छन् । यसरी यात्रा गर्दा त्यहाँ उत्पादित सस्ता र आकर्षक सामान खरिद गरी रुसमा ल्याएर विक्री वितरण गर्ने र त्यसबाट भएको आम्दानीले घुमघाम पनि हुने, मिठो मसिनो खान, मनोरञ्जन गर्नुको साथै जाँदा आउँदाको टिकटको पैसाको जोहो गर्ने परिपाटीको बारेमा पनि चर्चा गरिएको छ । यस्ता भ्रमणलाई लेखकले सकेसम्म छुटाएका छैनन्, भलै त्यसम दुःख होस् उनलाई कुनै चिन्ता छैन ।

सोभियत संघमा पढ्ने विद्याथीहरु राजनीतिमा पनि सामेल हुने गर्थे । त्यस्तैमा नेपाली छात्र सङ्घको सम्मेलनमा प्रतिनिधिका रूपमा लेखक लेनिनग्राडमा पुग्दा प्रतिनिधि छनौटमा विवाद उत्पन्न भएको कुरा पनि गरिएको छ । विवाद सुल्झाउनका लागि उनले आफ्नो उम्मेदवारी फिर्ता लिन्छन् । उनी सोभियत सेनाको पनि सम्झना गर्दै दोस्रो युद्ध पछि ध्वस्त भएका संरचनाहरू सफा गर्ने क्रममा एक अज्ञात सोभियत सेनाले एउटा भित्तामा “म मर्दै छु तर आत्मसमर्पण गर्दिन, अलबिदा मातृभूमि” लेखेको हस्ताक्षरको प्रसंगले भावुक बन्छन् । त्यसै गरी पूर्वी जर्मनी र पश्चिम जर्मनीबिचका अपमानको पर्खालको प्रसंगले पनि लेखकको विश्वलाई हेर्ने दृष्टिकोण प्रस्ट पार्छ ।
यो पुस्तकमा सन् १९१७ देखि १९४५ का विभिन्न कालखण्डमा सोभियत भूमिमा त्यहाँका जनताले बगाएको पसिना र मिहिनेतको व्यापक चर्चा पाइन्छ । त्यस्तै दोस्रो विश्वयुद्धमा हिटलरको नेतृत्वका फांसिष्ट नाजी सैनिकहरूको आततायी बमवारी आक्रमणका विरुद्ध सोभियत नेता स्टालिनको नेतृत्वमा भएको देशभक्तिपूर्ण आन्दोलन, सौर्य, वीरता, बलिदानी, रगत र पसिनाले सिञ्चित एकीकृत, एकमना बलियो र सुदृढ सोभियत गणराज्यको कथा पनि पढ्न पाइन्छ । तर यति शक्तिशाली सोभियत संघ एकाएक विघटन भएर टुक्रा टुक्रा हुन्छ । अमेरिकासँग टक्कर दिइरहेको सोभियत संघ एक दशकमै किन ध्वस्त भयो ? यसको विस्तारमा वर्णन पनि यो पुस्तकमा पाइन्छ ।

कृतिको मुख्य प्राप्ति
‘मेरा सोभियत सम्झनाहरु’ नामक पुस्तक पढ्दै जाँदा रुसी कम्युनिस्ट शासकको इतिहास, कम्युनिस्ट सरकारले गरेका सकारात्मक कामहरूका बारेमा खुलेर प्रशंसा गरिएको पाइन्छ । योसँगै लेनिन, स्टालिन र ख्रुश्चेभजस्ता शासकहरूको कार्यशैलीहरूको पनि वर्णन भेटिन्छ । यी प्रसंगहरूले कम्युनिस्ट पार्टीमा कुनै व्यक्ति शक्तिशाली शासक हुँदा देशमा के कस्तो फरक हुन्छ भन्ने पनि देखाएको छ । त्यस्तै सत्ता परिवर्तनले देशमा पार्ने सकारात्मक र नकारात्मक असरका बारेमा पनि बताएको छ ।

यो पुस्तकको अन्त्यतिर भने लेखकले परिवर्तन संसारको नियम हो भन्ने गीता वाणीलाई स्वीकार गर्दै सोभियत रुसको उत्थान र पतनलाई स्वाभाविक प्रक्रिया मानेका छन् । उनले यसमा सोभियत रुसबाट सिक्न सकिने राजनीतिक ज्ञानका कुराहरु निकै नै पस्केका छन् । रुसले अँगालेको कम्युनिस्ट राज्य पद्धतिमा हामी सहमत वा असहमत हुन सक्छौँ, तर त्यो इतिहासबाट हामीले धेरै पाठ सिक्न सक्छौँ भन्ने धारणा लेखकको रहेको छ । यसमा लेखकको जिज्ञासा, लेखकको जीवनशैली, सोभियत संघप्रतिको उत्साह, दुःख, सुख प्रकट हुँदै गएको छ । खासमा रामविन्दु श्रेष्ठ नै यस कृतिका भोक्ता र द्रष्टा दुबै हुन् । यसमा कतै कतै कथा पढेजस्तो सशक्तता र कतै कतै उपन्यास पढे जस्तो मिहिनताको भान पाठकलाई हुन्छ । यसरी संस्मरणको पुस्तक भएर पनि आख्यानको आभाष दिन सक्नु यसको प्राप्ति हो ।

समापन
समग्रमा भन्नुपर्दा राम बिन्दु श्रेष्ठको ‘मेरा सोभियत सम्झनाहरु’ पुस्तक पठनीय र संग्रहणीय कृति हो । यति सुन्दर कृति रचना गरेकोमा लेखकलाई मुरीमुरी बधाई छ । उनीबाट नेपाली पाठकले अझ धेरै सामग्रीहरु पाउन सक्नछन् । त्यस्तै उनको राजनीतिक तथा दार्शनिक चेत पनि बलियो छ । अचेल नेपालमा ‘कम्युनिष्ट’ नामधारीहरू सबै ‘कमाउनिष्ट’ बन्दै गइरहेका छन् । यस्तो परिवेशमा उनको यो कृति दरो झापड बनेको छ । उनीबाट यस्तै थप सामग्री पढ्न पाउने आशा र अपेक्षा गर्दैै उनको सिजर्नशील भविष्यको कामनाका साथमा कलम रोक्छु । भबतु सब्ब मङ्गलम् ।
(लेखक अक्षर समूह चितवनका अध्यक्ष हुन् ।)

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट