गैँडाकोट, १५ कात्तिक ।
गैँडाकोट नगरपालिका- ११ भेँडाबारीस्थित गैँडाकोट नगर अस्पतालमा आँखा उपचार केन्द्र सञ्चालनमा आएको छ ।
केन्द्रको गैँडाकोट नगर अस्पतालका अध्यक्ष एवं गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारी र नेपाल नेत्रज्योति संघ (भरतपुर आँखा अस्पताल) सञ्चालक समितिका अध्यक्ष जयराम श्रेष्ठले बुधबार उद्घाटन गरेका हुन् । नेपाल नेत्रज्योति संघ, हीरालाल सन्तुदेवी प्रधान नेत्र विज्ञान अध्ययन संस्थान (भरतपुर आँखा अस्पताल) चितवन र गैँडाकोट नगरपालिकाद्वारा केन्द्र सञ्चालन गरिएको हो ।
कार्यक्रममा बोल्दै नगरप्रमुख मदनभक्त अधिकारीले केन्द्रमा आई आँखा जाँच गरी लाभ लिन आग्रह गरे । भरतपुर आँखा अस्पतालका अध्यक्ष जयराम श्रेष्ठले आँखा अस्पतालले भरतपुरमा अत्याधुनिक शल्यचिकित्सा भवन निर्माण गर्न लागेको जानकारी दिए । भरतपुर आँखा अस्पतालका निवर्तमान अध्यक्ष कृष्णराज धरेलले उपचारकै कारण कसैले आँखाको ज्योति गुमाउन नपरोस् भन्ने कामना व्यक्त गरे ।
कार्यक्रममा नगर उपप्रमुख शान्ति कोइराला, प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र खनाल, वडाअध्यक्षहरु देवीदत्त कंडेल, मधुकर मल्ल, प्रकाश सापकोटा, कार्यवाहक वडाअध्यक्ष गुरुप्रसाद पौडेल, नेपाल नेत्रज्योति संघ नवलपुरका सभापति होमनाथ जैशी, नगर अस्पतालका उपाध्यक्ष जुना गौतम, कार्यालय प्रमुख पुष्पराज श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।
गैँडाकोट नगर अस्पताल सञ्चालक समिति सदस्य बाबुराम पराजुलीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उद्घाटन कार्यक्रमको सहजीकरण गैँडाकोट नगर स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक माधव आचार्यले गरेका थिए ।
बुधबार नै गरिएको निःशुल्क आँखा शिविरमा २१९ जनाले आँखा जाँच गराएका छन् । शिविरमा १४ जनामा मोतिविन्दु, ७ जनामा मासु पलाएको, १९ जनामा आँखा चिलाउने, आँसु आउने समस्या र १९ जनालाई चस्मा लगाउनुपर्ने भेटिएको भरतपुर आँखा अस्पतालका नेत्र सहायक सुवास सापकोटाले जानकारी दिए ।
यसैबीच अस्पतालको भीमराज उषामाया पाठक आँखा बैंक नानी संकलन केन्द्रमा १ हजार २ सय ९२ जनाले आँखा दान गर्ने इच्छा पत्र पेश गरेमध्ये हालसम्म मात्र २५ जनाको आँखाको नानी निकालिएको छ । हालसम्म १३१ जनाको आँखाको नानी प्रत्यारोपण गरिएको आँखा बैंकका कोअर्डिनेटर छाया श्रेष्ठले जानकारी दिइन् । २०७४ सालमा स्थापना भएको बैंकले पहिलो पटक २०७५ सालमा गैँडाकोट २ मा आएर ८४ वर्षीय कलाधर गौतमको आँखाको नानी संकलन गरेको थियो ।
गैँडाकोट नगरपालिका र भरतपुर आँखा अस्पतालबीच भएको सम्झौता अनुरुप आँखा उपचार केन्द्र सञ्चालनका लागि नगरपालिकाले आवश्यक भवन निःशुल्क उपलब्ध गराउने छ । केन्द्र स्थापनाका लागि आर्थिक वर्ष ०८०/०८१ बाट निरन्तर वार्षिक रुपमा ५ वर्षसम्म ६ लाख रुपैयाँ भरतपुर आँखा अस्पताललाई उपलब्ध गराउने छ । तर चेकजाँच दैनिक २५ जनाको अनुपातमा बिरामी अस्पतालमा चेकजाँचको लागि दर्ता भई चेकजाँच गराएमा नगरले वार्षिक रुपमा प्रदान गर्ने रकम प्रदान गर्नु नपर्ने गरी सम्झौता भएको छ । नगरपालिकाले आँखा उपचार केन्द्रको स्थानीय स्तरमा प्रचारप्रसार तथा समन्वय गर्ने, आँखा उपचार केन्द्रको सहयोग समितिमार्फत आँखा स्वास्थ्य सेवा स्थानीय स्तरमा विस्तार गर्ने, आँखा उपचार केन्द्रको लागि एक जना सहायक स्तरको स्थानीय कर्मचारी छनौट गर्ने छ ।
त्यस्तै नेपाल नेत्रज्योति संघ, भरतपुर आँखा अस्पताल चितवनले आँखा उपचार केन्द्र सञ्चालन गर्न आवश्यक पर्ने औजार उपकरणहरु, औषधी, चस्मा, लेन्स तथा स्टेशनरीको सामानहरु उपलब्ध गराउने छ । आँखा उपचार केन्द्र सञ्चालन गर्न आवश्यक पर्ने कर्मचारीहरुको व्यवस्थापन तथा सेवा सुविधाहरु नेपाल नेत्रज्योति संघको नियमानुसार उपलब्ध गराउने एवं औजार उपकरणहरुको मर्मत सम्भार तथा अन्य व्यवस्थापकीय कार्य भरतपुर आँखा अस्पतालले गर्ने छ । सम्झौता अनुसार आवश्यकता अनुसार श्रोत साधन जुटाई कम्तीमा वर्षमा एक पटक निःशुल्क अप्रेशन सहितको आँखा शिविर सञ्चालन गर्ने छ ।




