भरतपुर, १५ कात्तिक ।
होटल व्यवसायी संघ चितवनले आयोजना गरेको रक्तदान कार्यक्रममा ५२ पोका (पिन्ट) रगत संकलन भएको छ । संघले स्थापना दिवसको अवसर पारेर बुधबार बिहान नारायणगढस्थित पुल्चोकमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो ।
बिहान ८ बजेदेखि सुरु भएको रक्तदान कार्यक्रमका प्रमुख अतिथि उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठले होटल व्यवसायी संघ चितवनका पूर्वअध्यक्ष कमल शर्मालाई ब्लड ब्याग दिएर कार्यक्रम उद्घाटन गरिएको थियो । रक्तदान कार्यक्रममा नारायणगढ बजार क्षेत्रका सामाजिक, शैक्षिक एवम् राजनीतिक व्यक्तित्वको सहभागिता रहेको संघका सचिव कृष्णकुमार महतोले बताए ।
संघले स्थापना दिवसका अवसरमा बुधबार साँझ विशेष कार्यक्रम आयोजना गर्दै संघका संस्थापक एवम् पूर्व अध्यक्षहरूलाई पनि सम्मान गरेको छ । कार्यक्रममा प्रमुख अतिथिका रूपमा आमन्त्रित चितवन उद्योग संघका नवनिर्वाचित अध्यक्ष सूर्यप्रसाद न्यौपानेलाई पनि सम्मान गरिएको होटल व्यवसायी संघका अध्यक्ष लोकनाथ भट्ट कृष्णले जानकारी दिए ।




