गैँडाकोट, १५ कात्तिक ।
गैँडाकोटका ५ हजार ७८ जना बालबालिकालाई यहि कात्तिक १७ र १८ गते ‘भिटामिन ए’ खुवाईँदैछ । सोही दिन ४ हजार ५ सय १९ बालबालिकालाई जुकाको औषधी खुवाउने लक्ष्य रहेको गैँडाकोट नगरपालिका, स्वास्थ्य शाखाका प्रमुख झलकराज पौडेलले जानकारी दिए ।
हरेक वर्ष कात्तिक २ र ३ गते ‘भिटामिन ए र जुकाको औषधी’ खुवाउने कार्यक्रम रहेकोमा यसपटक दशैंका कारण मिति परिवर्तन गरी कात्तिक १७ र १८ गते सञ्चालन गर्न लागिएको हो । ६ देखि ५९ महिना उमेरसम्मका बालबालिकाहरुलाई भिटामिन ए र १ वर्ष देखि ५ वर्ष उमेरसम्मका बालबालिकालाई जुकाको औषधी खुवाउन लागिएको हो ।
गैँडाकोटमा १८ वटै वडाका विभिन्न स्थान एवं नगर अस्पताल, स्वास्थ्य चौकी र आधारभूत स्वास्थ्य केन्द्रबाट ‘भिटामिन ए र जुकाको औषधी’ खुवाउन सकिनेछ । नगरका स्वास्थ्यकर्मीहरु एवं ४१ जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत ‘भिटामिन ए र जुकाको औषधी’ खुवाउने गरी तयारी गरिएको उनले जानकारी दिए ।
राष्ट्रिय कार्यक्रम अन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हरेक वर्ष दुईपटक ‘भिटामिन ए र जुकाको औषधी’ खुवाउने गरेको छ ।




