मकवानपुर, १४ कात्तिक ।
मकवानपुरकाे बकैया गाउँपालिकामा मिनीट्रक दुर्घटना हुँदा २ जना घाइते भएका छन् । हेटौडा–धरान–चतरा सडकखण्ड अन्तरगत बकैया गाउँपालिका वडा नम्वर ५ तिनतलेमा मंगलबार दिउँसो मिनीट्रक दुर्घटना हुँदा ट्रकमा सवार युवराज सापकाेटा र सहचालक दिनेश लामा घाइते भएकाे मकवानपुर प्रहरीले जनाएकाे छ ।
हेटौंडाबाट फापरबारीतर्फ जाँदै गरेको बा.प्र.०३–००१ क ०७९२ नम्वरको पानी लोड गरेकाे मिनीट्रक अनियन्त्रित भई सडकबाट ७ मिटर तल खसी दुर्घटना हुँदा ट्रकमा सवार बकैया ७ का २६ वर्षीय सापकाेटा र सहचालक बकैया ६ गवरस्थानका २८ वर्षीय लामा घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रवक्ता, प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
घाइते सापकोटा र लामालाई हेटाैंडा अस्पतालमा उपचारकाे ल्याइएकाेमा लामालाई थप उपचारकाे लागि चितवन भरतपुरकाे पुरानाे मेडिकल कलेज रिफर गरिएकाे भण्डारीले बताए । अर्का घाइते युवराजको भने हेटौंडा अस्पतालमा नै उपचार भइरहेको छ ।
प्रहरीले ट्रक चालक हेटौंडा उपमहानगरपालिका वडा नम्वर ३ लेवट बस्ने ३२ वर्षीय हर्कबहादुर ब्लोनलाई नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।





