मकवानपुर, १२ कात्तिक ।
मकवानपुरमा यस वर्षको दशैं अवधिमा १४ वटा सवारीसाधन दुर्घटनामा परेका छन् । दसैँको १ हप्ताको अवधिमा जिल्लाका विभिन्न १२ स्थानमा १४ वटा सवारीसाधन दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ । उक्त दुर्घटनामा ७० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले बताए ।
भण्डारीका अनुसार स्कुटर, मोटरसाइकल र क्रेन दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा काठमाडौँ महानगरपालिका वडा २७ महाबौद्ध निवासी ६२ वर्षकी राज्यश्री थापा क्षेत्री, वीरगञ्ज महानगरपालिका–३० बिश्रामपुर बस्ने सहचालक १८ बर्षीय बिपिन महत्तो र बागमती गाउँपालिका वडा नम्बर ६ ठाडीखोला बस्ने २२ वर्षीय सन्तोष दर्लामी रहेका छन् ।
क्षेत्रीको भीमफेदीको जुरिखेतमा स्कुटर दुर्घटना हुँदा, महतोको चुरियामाई नजिक क्रेन दुर्घटना हुँदा र दर्लामीको बागमती गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा मृत्यु भएको उनले जानकारी दिए । गत वर्षको दशैंको अवधिमा ६ स्थानमा ९ वटा सवारी साधन दुर्घटना भएकोमा ३ जनाको मृत्यु भएको थियो भने ५३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयको तथ्यांकले देखाउँछ ।





