मकवानपुर, ११ कात्तिक ।
साहित्य सङ्गम मकवानपुरको ३ सय ३६ औं नियमित साहित्य सन्ध्यामा बालपुस्ताका नवसर्जक ॠत्विक केवी र समर्पण न्यौपानेको संयुक्त कविता सुनिएको छ ।
ॠत्विक र समर्पणले समान ३/३ वटा कविता सुनाएका थिए । ॠत्विकले आमा, समय र प्रेत आत्मा शीर्षकका कविता सुनाउँदा समर्पणले `चोमोलुङ्मा सगरमाथा र एभरेष्ट´, `टेबलमुनि के छ´ र `इतिहास र मान्छे´ शीर्षकका कविता सुनाए ।
मकवानपुर जिल्लाकै अग्रणी साहित्यक संस्थाको नियमित सन्ध्यामा ॠत्विक र समर्पणको कवितासहित २४ स्रष्टाले रचना सुनाएका थिए । सन्ध्यामा वाचन भएका २४ वटा रचनाको समीक्षा गर्दै मकवानपुरे साहित्यकार सुवास खनालले भने- ‘रचनाहरु देश, समय सान्दर्भिक राजनीतिसँग रहेका छन् । बालपुस्ता र नवयुवा पुस्तालाई पनि साहित्यमा स्थान दिनुपर्छ ।’
साहित्य सङ्गम मकवानपुरका अध्यक्ष डिबि बर्तौलाको अध्यक्षता तथा अग्रज साहित्यकार तुलसी घिमिरेको प्रमुख आतिथ्यमा भएको सन्ध्यामा साहित्यकार निमेष निखिल, श्याम कुमार बानियाँ, भावना सापकोटा, छवि सुवेदी, मसान उपासक, सम्प्रस पौडेल, किशन पौडेल, देवराज खरेल,लगायतको उपस्थिति थियो ।





