रुकुम पश्चिम, ९ कात्तिक ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गठबन्धन पाँचैवर्ष अगाडि बढ्ने बताएका छन् । बिहीबार रुकुम-पश्चिम आएका प्रधानमन्त्री प्रचण्डले भने— `यो गठबन्धन पाँचैवर्ष जान्छ । गठबन्धनको एकता र सहकार्यलाई कसैले तोड्नै सक्दैन । कसैले भ्रम नपाल्दा हुन्छ ।´
वर्तमान सरकार माओवादी केन्द्र एक्लैको नभएको स्मरण गराउँदै प्रधानमन्त्री प्रचण्डले भने, “यो माओवादीको एकल सरकार होइन, संयुक्त सरकार हो । तर, गठबन्धन भत्काउन टुटाउन, तोड्न अनेकौं प्रयत्न भएका छन् । तर, उनीहरू सक्दैनन् ।”
साथै प्रधानमन्त्री प्रचण्डले विभिन्न टुटफूटमा रहेका माओवादी घटकहरुबीच एकता गर्नैपर्ने अवस्था आएको बताएका छन् । नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले पार्टीले सुरु गरेको तीनमहिने विशेष रुपान्तरण अभियान माओवादी घटक दलहरुबीच एकताको अभियान समेत रहेको बताएका हुन् ।
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–६ मग्गामा आयोजित सहिद स्मृति मेलाको बिहीबार उद्घाटन गर्दै प्रचण्डले अब माओवादीबाट फुटेर गएका दलहरुका बीच एकता आवश्यक रहेको बताए ।
‘हामी ठूलो पार्टीको रुपमा उदाएका थियौँ । विडम्बना हामी सबै फरक–फरक बाटोतिर लाग्यौँ । हामीले क्रान्ति गर्ने बेला जुन किसिमको प्रतिवद्धता जनता सामु गरेका थियौँ, त्यो प्रतिवद्धता भुल्दै साथीहरु फरक बाटोतिर लाग्नुभयो । शान्ति प्रक्रियापछि उहाँहरुलाई के कुरा चित्तै बुझेन पार्टी नै फुटाउनुभयो ।– प्रचण्डले भने ।
केही साथीहरु फरक बाटोमा लागेको भए पनि अझै केही नबिग्रिएको उनको भनाइ थियो । उनले भने, ‘हामी माओवादी शक्तिहरु पुनः एक हुनुपर्ने बेला आएको छ । हामीले समाजवादी मोर्चा नै बनाएका छौँ । त्यही मोर्चा नै भोलि एकताको बाटोमा जान्छ । समाजवादी मोर्चाको एउटा अभियान छ । हाम्रो पार्टीको एउटा अभियान छ । यो अभियानको सार्थकता भनेकै माओवादी घटक र अन्य विचार मिल्ने पार्टीहरुको एकता हो ।’





