मकवानपुर, ८ कात्तिक ।
मकवानपुरको भीमफेदी गाउँपालिकामा स्कुटर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।
मकवानपुर प्रहरीका अनुसार असोज ८ गते बुधबार बेलुका भीमफेदी ६ जुरीखेतस्थित भीमफेदी – कुलेखानी – काठमाडौँ सडकखण्डमा काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको बागमती प्रदेश ०२-०२७ प ४८४२ नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा काठमाडौँ- २७ महाबौद्ध बस्ने ६५ वर्षीय शशिराज पाण्डे र निजको श्रीमती ६२ वर्षीया राज्यश्री थापा क्षेत्री घाइते भएका थिए ।
घाइते दुबै जनालाई उपचारको लागि हेटौंडा अस्पताल ल्याइएकोमा राज्यश्रीलाई बेलुका ७:२० बजे डाक्टरले मृत घोषणा गरेको मकवानपुर प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए ।
घाइते भएका पाण्डे र थापालाई सडकबाट ५०/६० मिटर तलबाट उद्धार गरिएको प्रहरीले जानकारी दिएको छ । स्कुटर सडकबाट करिब १ सय मिटर तल खसेको साथै स्कुटरको नम्बर घाइते पाण्डेले जानकारी गराएको भण्डारीले बताए ।





