भरतपुर, २ कातिक ।
पत्रकार तथा साहित्यकार द्वारिका नेपालको सम्मानमा साहित्य सङ्गम चितवनले `स्मृति विशेषाङ्क´ प्रकाशन गरेको छ ।
साहित्य सङ्गमद्वारा नेपालको स्मृतिमा प्रकाशित `नौलो राँको´ बाह्रौं विशेषाङ्क बिहीबार विमोचन गरिएको हो । साहित्य सङ्गमका पूर्वअध्यक्ष समेत रहेका नेपालको २०७८ असोज ३१ गते भएको अप्रत्याशित असामयिक निधन भएपछि संस्थाले उनको सम्झनामा विशेषाङ्क नौलो राँको प्रकाशन गरेको प्रधान सम्पादक शशिकिरण रेग्मीले बताए । 
नेपालका बुवा नीलप्रसाद नेपाल, श्रीमती पार्वती नेपाल, भाइ शालिग्राम नेपालसहित उपस्थित भएका सबैले एकैपटक विमोचन गरेका हुन् । साहित्य सङ्गम चितवनका अध्यक्ष प्रकाश चापागाईँको सभापतित्वमा भएको कार्यक्रममा साहित्यिक श्रष्टा एलवी क्षेत्रीले कविता लेख्नु र कविता बुझ्नु फरक विषय भएको बताए । आफूलाई कवि हो भनेर नभनी कविताको गहिराइमा पुगेर लेख्न सक्ने क्षमता द्वारिकामा भएको उनले बताए ।
समालोचक उदय अधिकारी र रमेश प्रभातले नेपालको सरलता र असहजलाई सहज बनाउने क्षमताले नै उनको व्यक्तित्व उचाइमा पुगेको बताए । उनको लेखनशैली उत्कृष्ट र यथार्थ भएको अधिकारीले बताए ।
कार्यक्रममा साहित्यकार प्रा.डा. होमनाथ सापकोटा, प्रेम रिमाल, डा. धनेश्वर भट्टराई, गणेश श्रमण, बालकृष्ण थपलियाले नेपालको व्यक्तित्वका विषयमा मन्तव्य राखेका थिए । कार्यक्रममा नेपालका बुवा नीलप्रसाद नेपालले समयको महत्वलाई बुझेर काम गर्न आफूले दिएको शिक्षाको पालना छोराले गरेको बताए ।
साहित्य सङ्गमले प्रकाशित गरेको विशेषाङ्कमा विभिन्न साहित्यकारले नेपालको व्यक्तित्वका बारेमा धेरै पक्षहरुलाई समेटेर चर्चा गरिएका सामग्री समेटिएका छन् ।
नेपाल गजल मञ्च चितवन, अक्षर समूह चितवनलगायतका संस्थामा पनि आवद्ध थिए ।




