भरतपुर-१७ वडाबासीलाई निशुल्क सीपमूलक तालिम

भरतपुर, २ कात्तिक ।
भरतपुर महानगरपालिका वडा नम्बर -१७ कार्यालयको आयोजनामा नि:शुल्क विभिन्न सीपमूलक तालिमको बुधबार उद्घाटन भयो ।वडा कार्यालयको हलमा आयोजित उद्घाटन समारोहमा भरतपुर महानगरका उपमेयर चित्रसेन अधिकारी र वडाध्यक्ष ललितमान तामाङले संयुक्तरुपमा कार्यक्रमको उद्घाटन गरेका हुन् ।

दशैं सकिए लगत्तै शुरु हुने उक्त कार्यक्रम दुई महिना बढी चल्ने छ ।

वडा नम्बर-१७ भित्र रहेका विभिन्न १८ वटा टोल सुधार समितिले चयन गरेका घरपरिवारका १३२ जनाले सो तालिम लिनेछन् । विभिन्न पाँच विधाका तालिम सञ्चालन हुने वडाध्यक्ष ललितमान तामाङले बताए । जस अन्तर्गत हरेक टोल सुधार समितिबाट दुई-दुई जना गरी बेसिक कम्युटर कोर्ष र सिलाई कटाईमा ३६-३६ जना चयन भएका छन् । यो कोर्ष २ महिनाको हुनेछ ।

त्यस्तै कपाल काट्ने, प्लम्बिङ र इलेक्ट्रिसियन तालिममा २०-२० जना चयन भएका छन् । यो तालिम एकमहिनाको हुनेछ ।

भरतपुर महानगरका उप-प्रमुख चित्रसेन अधिकारीले १७ नम्बरका विपन्न समुदायको उत्थानका लागि यो कार्यक्रम अति नै आवश्यक देखिएको बताए । उनले भने ‘उत्पादन तथा रोजगारीलाई सामाजिक विकासमा निरन्तरता दिन यस किसिमको कार्यक्रमको आवश्यकता थियो ।’ यस तालिमबाट उत्पादित दक्ष जनशक्ति गाउँ टोलमा नै पनि स्वरोजगार हुनसक्ने र परदेश गए पनि हातमा सीप लिएर गएकाले दु:ख पाउने सम्भावना न्यून हुने तर्फ उनको संकेत थियो । अधिकारीले भने- ‘यस तालिमबाट दक्ष जनशक्तिको उत्पादन भै उनीहरुको आय आर्जन बढ्ने छ भन्ने विश्वास लिएको छु ।’

उनले आउने दिनमा पनि यस्ता कोर्ष तथा तालिमलाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।

त्यस्तै कार्यक्रममा बोल्दै वडाध्यक्ष ललितमान तामाङले सीप सिकेर सीपसँगै जाँगरका साथ काम गर्छु भन्ने अठोट लिएका केही युवाहरुलाई वडाले नै रोजगारी दिने प्रतिबद्धता जनाए । उनले भने ‘तपाईंहरुमा तीब्र इच्छाशक्ति र जोसका साथ काम गर्छु भन्ने अठोट छ भने ध्यान दिएर सिक्नुस् र सीपमा अब्बल हुनुहोस्, तपाईंहरु खाली बस्नु पर्दैन ।’ गाउँ टोलमा इलेक्ट्रिसियन र प्लम्बरको खडेरी लागेको कुरालाई इङ्गित गर्दै उनले भने – ‘सीप भएको मान्छेले एक पेट भर्नलाई शिर झुकाउनु पर्दैन ।’

वडाले ल्याएको कार्यक्रममा हरेक वर्ष यसरी नै सीपमूलक तालिमको व्यवस्था गरि गाउँभरी स्वरोजगार युवाको उत्पादन गर्ने वडाध्यक्ष तामाङले बताए ।

‘सीप सिकौँ, स्वरोजगार बनौँ’ भन्ने नाराका साथ सीप सिकाउने जिम्मा इएटिएआई एण्ड एग्रो ट्रेनर्स प्रालि गुञ्जानगरले लिएको छ । जुन सिटिइभिटीबाट सम्बन्धन प्राप्त प्राविधिक शिक्षालय हो ।

कार्यक्रममा भरतपुर महानगरका उपप्रमुख सहित वडा नम्बर- १७ कार्यालयका जनप्रतिनिधि, भरतपुर महानगरका कार्यपालिका सदस्य गोपाल दराईलगायत स्थानीय टोल सुधारका प्रतिनिधि तथा स्थानीय बासिन्दाहरुको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण वडा सचिव सञ्जुप्रसाद आचार्यले गरेका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट