नयाँ शैलीमा भरतपुरको बजार अनुगमन

भरतपुर, ३० असोज ।

भरतपुर महानगरपालिकाले दैनिक नियमित स्वच्छ बजार अनुगमनलाई फरक र नयाँ ढंगबाट सुचारु गरेको छ । आम जनताका समस्याहरुलाई शून्य स्तरमा पुग्ने गरी समाधान गर्ने हेतुले महानगरले दैनिक नियमित बजार अनुगमनलाई फरक र नयाँ ढंगबाट गरेको हो ।

नियमित सेवालाई प्रभाव नपार्ने, सुधार गर्दा हुने त्रुटीलाई सुधारको मौका दिने र सुधारको अवसर दिन नमिल्ने कामलाई तत्काल कानुनी कारवाही गर्ने गरी महानगरले नयाँ ढंग र नयाँ शैलीबाट बजार अनुगमन गरिरहेको छ ।

महानगरपालिकाले मंगलबार पनि भरतपुर र नारायणगढका विभिन्न क्षेत्रमा अनुगमन गरेको छ । बिशेष गरी महानगरले मंगलबार दशैं पर्वलाई लक्षित गर्दै नारायणगढ र भरतपुरका विभिन्न क्षेत्रहरुमा रहेका मासु,दूध तथा भेटेनरी पसलहरुमा अनुगमन गरेको उपभोक्ता हित संरक्षण शाखा तथा शासकीय सुधार इकाइका अधिकृत थानेश्वर सापकोटाले जानकारी दिए । मंगलबार नारायणगढको लायन्सचोकमा रहेको चितवन मिट हाउस, लक्ष्मी मिट सप, राजकुमार मिटसपलगायतका थुप्रै मासु पसलमा अनुगमन गरिएको छ । त्यस्तै बालकुमारी सब्जीमन्डीमा रहेका दर्जनौं माछा तथा मासु पसलहरुमा पनि महानगरले अनुगमन गरेको छ । अनुगमनमा केही माछा तथा मासु पसलहरुले मापदण्ड विपरित काम कारवाही गरेको, दर्ता नवीकरण नगरेको, सार्वजनिक फोहोर व्यवस्थापन नगरेको पाइएको छ । त्यस्ता पसल तथा व्यवसायीहरुलाई सुधार गरेर सञ्चालन गर्न र अविलम्व वडामा दर्ता तथा नवीकरण गर्न समितिले निर्देशन समेत दिएको छ ।

‘चाडपर्वको मुखमा हामीले बिशेष गरि मासु र दुधलाई बढी प्राथमिकतामा राखेर अनुगमन गरेका हौँ ।’ सापकोटाले भने- `यस बाहेकका अन्य क्षेत्रहरुको भने महानगरले पहिल्यै नै अनुगमन गरिसकेको छ । त्यसो त महानगरले चाडपर्व बाहेकका समयमा पनि बजार अनुगमन गर्दै आइरहेको छ भने व्यवसायी र उपभोक्तालाई पनि सजग र सचेत गराउँदै आइरहेको छ ।´

‘भरतपुर क्षेत्रमा धेरै मानिसका धेरै गुनासाहरु छन् । अनुगमन जाँदा नियमित सेवालाई प्रभाव नपार्ने, सुधार गर्दा हुने त्रुटीलाई सुधारको मौका दिने, सुधारको अवसर दिन नमिल्ने कामलाई तत्काल कानुनी कारवाही गर्ने गरी हामीले बजार अनुगमन गरिरहेका छौँ ।’ महानगरको बजार अनुगमन समितिका सदस्य गोपाल दराइले भने – `यी तीन फरक तरिकाबाट अनुगमन गर्दा आम जनताका गुनासाहरु तत्काल समाधान हुन्छन् । दराईका अनुसार अहिले भइरहेका अनुगमनले मापदण्ड पालना गर्ने र नगर्ने को हुन् भन्ने कुरा स्पष्ट पारेको छ ।’

अनुगमनलाई प्रष्ट पार्दै दराईले भने- ‘सबैले राम्रो वा सबैले नराम्रो गरेका छैनन् । राम्रो गर्ने र नराम्रो गर्ने एउटै तराजुमा हुँदा नराम्रो गर्नेलाई फाइदा पुगेको छ । राम्रो गर्नेले प्रोत्साहित हुन पाएनन् । अब राम्रो सुलभ र सहज सेवालाई प्रोत्साहित गर्नुपर्छ । गलत गर्नेलाई कानुनी कारवाहीमा ल्याउनु पर्छ । गलत गर्ने छुट कसैलाई पनि छैन ।’ यसरी गरिने अनुगमनहरु नियमित र आकस्मिक हुनेछन् ।

अनुगमन समिति संयोजक बिष्णुबहादुर भुजेलले महानगरको बजार अनुगमनले उपभोक्ता र व्यवसायी दुबैलाइ सुध्रिने मौका दिएको तर्क राखे । उनले भने- ‘महानगरले अघिल्लो वर्षदेखि नै बजार अनुगमनलाई नयाँ ढंग र नयाँ शैलीमा गर्ने गरेकै कारण उपभोक्ताहरुको गुनासो आउने क्रममा कमी आएको छ ।’ अहिले महानगरको उजुरी पेटिकामा पहिलेको तुलनामा निकै कम उजुरी पर्ने गरेको बताउँदै भुजेलले भने, ‘यो महानगरको लागि फलदायी पक्ष हो ।’

भरतपुर महानगरका पशु चिकित्सक डाक्टर दिपेश केसी उपभोक्ता र व्यवसायी दुबै सजग र चनाखो रहन आवश्यक रहेको बताउँछन् । केसीले भने -‘चाडपर्वको समयमा हुनसक्ने बिषादी खाना अर्थात फुड पोइजनलाई ध्यानमा राख्दै सबैले सावधानी पूर्वक स्वच्छ मासु, दूध र दूधबाट बन्ने परिकारहरुमा विशेष ध्यान पुर्‍याएर खानको लागि उपभोक्ताहरुलाई आग्रह गर्दछु ।’

उपभोक्ता संरक्षण ऐन २०७५ को दफा २८ तथा ६४ ले स्थानीय निकायलाई बजार अनुगमन गर्ने अनुमति प्रदान गरेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट