खैरहनी, ३० असोज ।
खैरहनी नगरपालिका अन्तर्गत पुरानो पर्सामा अवस्थित नगर अस्पतालमा अत्याधुनिक ल्यावको उद्घाटन गरिएको छ । अब खैरहनी नगर अस्पतालमै आधुनिक प्रविधिबाट थाइराइड, भिटामिन डि, भिटामिन बि १२, बाथ, युरिक एसिडको ल्याव परीक्षण हुने भएको छ । साथै सबैप्रकारका ल्याव परीक्षणहरूलाई अटोमेटिक रुपमा थप गुणस्तरीय बनाउन अत्याधुनिक प्रविधियुक्त मेसिनहरु जडान गरिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाको सक्रियतामा निर्माण गरिएको अत्याधुनिक ल्यावको खैरहनी नगरपालिकाका नगर प्रमुख शशीकुमार खनियाले उद्घाटन गरेका हुन् । ल्याव उद्घाटनमा बोल्दै नगर प्रमुख खनियाले नगर अस्पतालले दिने सेवा गुणस्तरीय तथा अत्याधुनिक सुविधा सम्पन्न गराउन स्वास्थ्य क्षेत्रलाई नगरपालिकाले सबैभन्दा प्राथमिकता दिएर कार्य गर्दै आएको र गुणस्तरीय स्वास्थ्य सेवासुविधा पहुँच टोलटोलमा पुर्याउन नगरपालिका प्रतिवद्ध रहेको बताए । सबै प्रकारका ल्याव जाँचका लागि खैरहनी नगर अस्पतालमै सेवा उपलब्ध गराउने उद्देश्यका साथ अस्पताल प्रशासन र व्यवस्थापन समिति अहोरात्र खटिरहेको खैरहनी नगर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा प्रशान्त कँडेलले बताए ।
अत्याधुनिक ल्याव उद्घाटन कार्यक्रममा खैरहनी नगरपालिकाका उपप्रमुख कविता उप्रेती, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद सापकोटा, अस्पताल व्यवस्थापन समितिका सदस्यहरु, अस्पतालका डाक्टरहरू, ल्यावलगायत अस्पतालका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।




