गैँडाकोट, ३० असोज ।
विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नवनिर्वाचित सञ्चालक तथा लेखा सुपरिवेक्षण समितिले सोमबार शपथ ग्रहण तथा पदभार ग्रहण गरेका छन् ।
संस्थाका पूर्व अध्यक्ष एवं निर्वाचन समिति संयोजक इन्द्रराजज्योति पौडेलले शपथ ग्रहण गराएका हुन् । विकूका निवर्तमान अध्यक्ष ओमप्रसाद सापकोटाले नवनिर्वाचित अध्यक्ष प्रेमप्रसाद सापकोटा ‘राजु’लाई पद हस्तान्तरण गरे ।
नवनिर्वाचित अध्यक्ष प्रेमप्रसाद सापकोटा ‘राजु’ले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा देखिएका आर्थिक मन्दीले वित्तीय क्षेत्रमा परेका असर मेटिने गरी कार्यक्रमहरू गर्ने बताए । उनले नीति तथा कार्यक्रम कार्यान्वयनसँगै वडा सरोकार मञ्च गठनदेखि सदस्य खुसी र सुखी बनाउने प्रतिवद्धता व्यक्त गरे । लेखा सुपरीवेक्षण समिति संयोजक कमल सुवेदीले वितेका ४ वर्षको अनुभवलाई आगामी दिनमा कार्यान्वयन गर्ने बताए ।
संस्थापक अध्यक्ष खेमराज सापकोटाले विकू नायक सहकारी रहेकोले यसको गरिमा कायम राख्न सहकारीको अध्ययन र गाम्भिर्यताका साथ लाग्न आग्रह गरे । विकूका पूर्व अध्यक्ष एवं निर्वाचन समिति सदस्य केशवप्रसाद सापकोटाले सदस्य शिक्षामा जोड दिन आग्रह गरे । निवर्तमान अध्यक्ष ओमप्रसाद सापकोटाले विकू सहकारीको मर्म अनुसार अघि बढेकै कारण सफल भएको बताउँदै म हैन हामी भन्ने भावनाका साथ अघि बढ्न सुझाव दिए ।
संस्थाका पूर्व अध्यक्ष एवं निर्वाचन समिति संयोजक इन्द्रराजज्योति पौडेलले सहकारीले अब उत्पादनमुखी क्षेत्रमा लागनी, युवा पलायन रोक्ने खालका कार्यक्रम र मानवीय स्रोत भन्दा प्रविधिको प्रयोग गरी गुणस्तरीय कार्यक्रम गर्न सुझाव दिए । विकूका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद पौडेलले कार्यक्रमको सहजीकरण गरेका थिए ।
संस्थाको ३४ औँ साधारणसभाबाट अध्यक्षमा प्रेमप्रसाद सापकोटा ‘राजु’, उपाध्यक्षमा कालीदास गौडेल, सचिवमा गोविन्द कँडेल, कोषाध्यक्षमा पुष्पराज बराल, सहसचिवमा लक्ष्मण पौडेल, सदस्यहरुमा निर्मला अधिकारी, अग्निप्रसाद सापकोटा, देवेन्द्र राना, दिलमाया श्रेष्ठ, लक्ष्मी गौतम, शोभाखर कँडेल, गणेशमान महतो, हिरा भुषाल, मुनाकुमारी धनन्जय लम्साल र शेषकान्त कोइराला एवं लेखा सुपरीवेक्षण समिति संयोजकमा कमल सुवेदी, सदस्यमा सुरेन्द्र तिवारी र लक्ष्मी सिग्देल चयन भएका छन् ।




