भरतपुर, २९ असोज ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले विगत ६ वर्षदेखि भरतपुरमा शैक्षिक क्रान्ति भइरहेको बताएकी छन् । भरतपुर १३ मा रहेको आधारभूत विद्यालय उज्ज्वल नगरको ६ कोठे विद्यालय भवनको शिलान्यास गर्दै उनले शैक्षिक क्रान्तिले शैक्षिक गुणास्तर वृद्धि हुदै गएको उल्लेख गरिन् ।
प्रमुख दाहालले भरतपुर महानगरपालिकाले शैक्षिक विकासका लागि विभिन्न ऐन कानुन, नीति, नियम, कार्यविधि निर्माण गरी मसिनो गरी शैक्षिक गुणस्तरका लागि कदम चाले अनुसार नतिजा प्राप्त भएको बताइन् । भरतपुरमा रहेका विद्यालयलाई मर्जरदेखि, भौतिक पूर्वाधार निर्माण, विद्यालयको श्रेणी वृद्धि लगायत विभिन्न समस्यालाई हल गरिएको उनले बताइन् ।
‘अहिले भरतपुरमा विद्यार्थीको संख्या ८ हजार पुगेको छ’ उनले भनिन्, ‘सय जना विद्यार्थी भएको विद्यालयमा ४ सय पुगेको छ । नतिजा पनि सामुदायिक विद्यालयको उत्कृष्ट छ ।’ प्रमुख दाहालले शिक्षामा जस्तै अन्य क्षेत्र सडक पूर्वाधार, भौतिक पूर्वाधार, स्वास्थ्य भवन, सिँचाइका कार्यक्रम, स्मार्ट लाईट, खानेपानी आयोजनाहरु यही अनुपातमा निर्माण भएको बताइन् ।
भरतपुरलाई दक्षिण एसियाली मापदण्डको सहर निर्माण गर्न यसको सौन्दर्यकरण तथा सरसफाईलाई अभियानका रुपमा अगाडि बढाइएको उनको भनाई छ । उनले भरतपुर महानगरपालिकामा केही पनि शिक्षाबाट बञ्चित विद्यालय, मस्तिष्क पक्षघात भएकाहरुलाई विद्यालयसम्म ल्याउन एटिजम विद्यालय र स्रोत केन्द्र सञ्चालनमा ल्याइएको बताइन् । आइतबार शिलान्यास भएको विद्यालयमा विद्यार्थी संख्या बढ्दै गए महानगरले थप भौतिक पूर्वाधार निर्माणमा सहयोग गर्ने दाहालले बताइन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै वडा नम्बर- १३ का अध्यक्ष प्रकाश दवाडीले विद्यालय निर्माणमा जनप्रतिनिधि, शिक्षक, कर्मचारी, विद्यालय व्यवस्थापन समिति र स्थानीय जनसमुदायको सकृय सहभागिता हुनुपर्ने बताए । उनले विद्यालयको लागि पर्याप्त जग्गा र पूर्वाधार भएको खण्डमा विभिन्न प्राविधिक तथा स्नाकोत्तरसम्म कक्षा सञ्चालन गर्न सकिने उल्लेख गरे ।
भरतपुर महानगरका शिक्षा अधिकारी महेन्द्र पौड्यालले भरतपुरको शिक्षा विकासका लागि वैज्ञानिक ढंगबाट अघि बढेको जानकारी दिए । महानगरका विद्यालयहरुलाई थप स्मार्ट बनाउन निरन्तर अगाडि बढेको उनको भनाइ थियो ।





