उपन्यासकार प्रोल्लास सिन्धुलीयको ‘भग्न भैरव’ उपन्यासमाथि विहङ्गम दृष्टि

उपन्यासकार प्रोल्लास सिन्धुलीय आफूलाई फरक देखाउन चाहने लेखक हुन् । उनले प्रशस्त खोज र अनुसन्धान गरी प्रखर व्यङ्ग्यशिल्पी भैरव अर्यालको जीवनीमा आधारित भएर ‘भग्न भैरव’ उपन्यास तयार पारेका हुन् । यसमा लेखक आफू स्वयम् नउभिएर भैरवका सारै मिल्ने साथी रोचक घिमिरेलाई म पात्र बनाएर उनका मुखबाट कथावाचन गराइएको छ । दशैँको छुट्टीमा रोचक र भैरवको पोखरा जाने सल्लाह भएकोमा तोकिएको समयमा भैरव नआएपछि उसलाई गाली गर्दै आफू एक्लै पोखरा गएको सन्दर्भबाट उपन्यासको उठान गरिएको छ भने भैरव अर्यालको देहान्त भएको छयालीस वर्षपछि त्यही ठाउँमा वाचकलाई पु¥याएर उपन्यासको अन्त्य गरिएको छ । यस उपन्यासमा भैरव अर्यालको बाल्यकालदेखि मृत्युपर्यन्तसम्मका महत्वपूर्ण घटनाहरुलाई मार्मिक तबरले चित्रण गरिएको छ ।

त्यसो त जीवनी भनेको कुनै व्यक्तिले जीवनमा भोगेका कुरालाई उसको देहावसानपछि लेख्य रुपमा पाठकका सामु ल्याउनु हो । यसमा कल्पनाको कुुनै स्थान हुँदैन । तर त्यसलाई साहित्यमा उतार्दा भने कलाले केही स्थान लिनै पर्ने हुन्छ । यसरी कसैको जीवनीलाई आधार बनाएर उपन्यासै लेख्दा त्यसमा पाठककले मन पराउने खालको प्रस्तुति, त्यस्तै खालको भाषा, थोरै कल्पनाको प्रयोग त गर्नै पर्छ नि, हैन र पाठकगण ?

यो उपन्यासमा समाख्याताका रुपमा रोचक घिमिरेको उपस्थिति देखिन्छ । यसको सुरुमा रोचक घिमिरेसँग आफ्नो जन्मदिनका बारेमा कुरा गर्दै भैरव अर्याल आफ्नो बारेमा यसरी बयान गर्छन् :
“यी ! मलाई नै हेर न– त्यही पछाडिको कुनै दरबारको यौटा कुनामा जन्मिएँ । यही बाग्मतीकै किनारमा चाइने खेल्दै हुर्किएँ । बाआमाको जेठो सन्तान, चार भाइ, छ बैनीको दाजु बनिटोपलेँ । यौटीको लोग्ने बनेँ, केहीको बाउ बन्दै छु । यस्तै उपक्रममा आफूलाई तीस वर्षको लक्का जवान बनाएँ । यो कुनै हुँदै नभा’को चाइने गर्नै नसकिने कुरो हो र ! तीस वर्ष भएँ रे लौ ! अपर्झट मर्नुपरेन भने यस्ता वर्ष चाइने जस्ले नि खान्छन् ।” (पृ. २३)

माथिको साक्ष्यमा एउटा आम मान्छेले जस्तो जीवन बाँच्छ, आफूले पनि त्यस्तै जीवन बाँचेको कुरा भैरव अर्यालले संवादका माध्यमबाट गरेका छन् । त्यस्तै उनले यसमा आफ्नो परिवारका बारेमा पनि छोटकरीमा जानकारी दिएका छन् ।
हास्यव्यङ्ग्य लेख्ने भएकाले भैरवले आफूलाई नै व्यङ्ग्य गर्दै आफ्नो बारेमा उपन्यासभित्र यस्तो धारणा राखेका छन् ः
“मैले मैलाई चाइने बुझ्न सकेको छैन अझै, तिम्ले कसरी बुझ्छौ ! बाआमालाई बुझेँ, घरपरिवार बुझेँ, व्यवहार बुझ्नतिर लागेँ । अनि चाइने चुपचाप बिहे गरिदिएँ ।” (पृ. २४)
भैरवले आफ्नो विवाहलाई पनि हल्काफुल्का रुपमा लिएका छन् । त्यतिबेला विवाह भनेको बाबुआमा र परिवारको इच्छा पूरा गरिदिनका लागि बढी गरिन्थ्यो भन्ने कुरालाई माथिको साक्ष्यले पुष्टि गरेको छ ।

भैरव अर्याल पढ्नमा निकै रुचि राख्थे । उनले प्रथमा, मध्यमाजस्ता परीक्षा नदिएर एकैचोटि उत्तर मध्यमाको परीक्षा दिएर उत्तीर्ण गरेका थिए । उनले पारिवारिक कारणले पढ्न पाइरहेका थिएनन् । त्यही भएर उनले रोचकसँग आफ्नो पढ्ने रुचिसँग सम्बन्धित भएर यस्तो धारणा राखेका छन् ः
उसले अझ गम्भीर भएर भन्यो, “नैतिक पतन नहुने खालको अपराधमा जेलै जान पाए पनि हुन्थ्यो यार ! कमसेकम पढ्न, लेख्न त चाइने टाइम पाइन्थ्यो कि !” (पृ. १२७)
माथिको साक्ष्यमा भैरवले कति सजिलै जेल जान चाहेको कुरा गरेका छन् । नैतिक पतन नहुने कसुरमा जेल जान पाएदेखि आफ्नो पढाइलाई निरन्तरता दिन सकिन्थ्यो भन्ने उनको धारणा नेपालीको गरिबी र समस्याप्रति कटु व्यङ्ग्य भएर आएको छ ।

आफू साँच्चैमा भैरव भएर बाँँच्न नसकेको गुनासो भैरवले टेलिफोनमा श्रीधर खनालसँग यसरी गरेका छन् :
“सक्तिनँ खनालजी ! म भैरव बन्नै सकेको छैन । जब बनूँला, तब मात्र प्रमाण दिन सकूँला कि !” उसले उसैगरी भन्यो । (पृ. २२३)
मान्छेलाई आफू भएर बाँच्न कति गाह्रो छ ? माथिको कथनले पुष्टि गरेको छ । देख्नेहरु के के देख्छन्, तर भोग्नेलाई थाहा हुन्छ आफू कसरी बाँचेको छु भन्ने कुरा, यसैको साक्ष्य हो माथिको कथन ।
भैरव लेखक भएको कारणले उसलाई प्रकाशकहरुले कसरी ठगे भन्ने कुरालाई तलको साक्ष्यले पुष्टि गरेको छ :
“त्यो ‘काउकुती’ निस्क्या देखेर रत्नेले मलाई चाइने ज्यादे करकर ग¥यो– यौटा हामीलाई नि लेखिदिनुस् न भनेर ! अनिखेरि त्यसपछि निस्क्या पत्रिकाहरु बटुलेर लगेर त्यसलाई दिएँ । ४०० रुप्याँ दियो । अब कागत गर्‍या छ उल्ले भन्छ, कागत–सागत केही पनि गर्‍या छैन मैले । उल्ले के लेख्या छ २ लाइन– फलानो जयभुँडी भन्ने किताब प्रकाशन गर्नको लागि … … पुस्तक भण्डारलाई दिएको छु भन्ने त्यति लेखेर मैले सही गर्दिया छु । त्यत्ति हो । ऊ चाइने कागत गर्‍या छु भनेर भन्छ ।” (पृ. १७३)

आफूले लेखेका कृति बेचेर प्रकाशक धनी भएको, तर आफूले सुरुमा एकमुष्ट रुपमा लिएको पारिश्रमिक बाहेक केही नपाएको गुनासो माथिको कथनमा पाइन्छ । यसरी पीडामा पर्नु भैरवको मात्र समस्या नभएर सम्पूर्ण नेपालीभाषी लेखकको हो । यसबाट हामी कहिले बाहिर निस्कने होला ?
भैरवले जीवनपर्यन्त गोरखापत्रमा सम्पादकको जागिर खाए । धेरैको रचनालाई मिलाएर छापिदिने काम पनि गरे । तर पछिल्लो समयमा उनलाई जागिर पनि दिक्क लाग्ने खालको भएको थियो भन्ने कुरा तलको साक्ष्यमा पाइन्छ ः
“आज चाइने मलाई अड्डा जानु छ । चार–पाँच दिन भो चाइने नगा’को । हुन त छुट्टी लेखेरै आ’को थेँ । गोर्खापत्र अचेल गोर्खापत्रजस्तो छैन, जागिरमै चाइने रेजा लाइदिन सक्छन् । के ठेगान !” (पृ. २६०)

माथिको साक्ष्यमा गोरखापत्रको कार्यालयलाई अड्डा भनिएको छ । जागिरमा बिदा लिएको भए पनि कतै जागिरै गइसक्यो कि भन्ने चिन्ता पनि उनलाई भएको देखाइएको छ ।
भैरवमा मृत्यन्मुखी चेतना बढ्दै गएको कुरा तलको साक्ष्यमा पाइन्छ :
“अब म ज्यादै हतास भइसकेँ । म बाँच्नुको कुनै अर्थ छैन । यतै जमुनामा आफूलाई बिसर्जित गरिदिने मौकाको प्रतीक्षामा छु ।” (पृ. १३४)
दिल्लीमा उपचारको सिलसिलामा गएको बेलामा भनिएको हो माथिको भनाइ । उनी भारतमै आत्महत्या गर्न चाहन्थे, तर उनलाई त्यस्तो अवसर नमिलेर नेपाल फर्किए भन्ने कुरा उपन्यासमा आएको छ ।
भैरवले जीवनमा आत्महत्याका लागि थुप्रैचोटि असफल प्रयास गरेका थिए । त्यसबाट उनी जोगिँदै आएका थिए । उनी मर्न चाहन्थे कि बाँच्न ? यो प्रश्न उपन्यासले पाठकका लागि उठाएर छोडेको छ । उनी मर्नुअघि आफ्नी श्रीमती शोभासँग उनले आफ्नो बारेमा यस्तो भनेका छन् :

“मैले जानीजानी कुनै अपराध गरेको थिइनँ तर बेहोस–बेहोसमा दुनियाँभरिका पाप मैले आफ्नो थाप्लोमा थाप्नुपर्‍यो । अरुको लहैलहैमा लागेर मलाई मेरा बच्चाहरुले पशु नसम्झून् ! म मान्छे नै थिएँ । पढेलेखेको थिएँ । तर, मन ले सारै काँतर भएकोले मेरो यो अवस्था भयो । कुनै अपराध गरिनँ, तर धेरै अपराध लाग्यो ।” (पृ.२८३)

मान्छे आफैँले गल्ती गर्नु पर्दैन, गल्ती देखाउनका लागि हाम्रो समाज काफी छ । यसैको चपेटामा परेका हुन् भैरव अर्याल पनि । यसलाई माथिको अंशले मार्मिक तबरले देखाएको छ ।

उपन्यासको अन्त्यमा भैरव अर्यालको अवसानका बारेमा समाख्याता रोचक घिमिरे मृत्यु स्थलमा गएर यसो भन्छन् :
“उसको जिन्दगीको अन्तिम पानो यसरी फर्लक्क पल्टियो–
उही जर्मनी पैन्ट–बुसर्ट लछप्पै टाँसिएको सुडौल शरीर !
उज्यालो चेहरा !
बायाँ पुर्परोमा रगत बगेर रोकिएको गहिरो चोट !
पाखुरामा भाँचिएको बायाँ हात !!” (पृ. २८९)

यसरी एउटा युगको अन्त्य भयो । भैरव अर्यालसँग नेपाली हास्यव्यङ्ग्यको धरोहर मात्र ढलेन, आफूभन्दा सानालाई माया र ठूलालाई सम्मान गर्ने सम्पादकको अवसान भयो । भैरव अर्याल नेपाली साहित्यमा कहिल्यै ननिभ्ने चम्किला नक्षत्र बनेर रहेका छन् । यही कुराको खुलासा यो उपन्यासले गरेको छ ।
‘भग्न भैरव’ उपन्यासलाई सर्सर्ती हेर्दा प्रोल्लास सिन्धुलीय ज्याद्रा लेखक साबित हुन्छन् । यसमा उनले नेपाली साहित्यका उत्कृष्ट व्यङग्यशिल्पी भैरव अर्यालको जीवनीका गुप्त पाटाहरुलाई हामी सामु आख्यानका रुपमा ल्याएका छन् । यसका लागि उपन्यासकार बधाईका पात्र छन् । भाषा, शैली र ढाँचाका कुरामा पनि यो उपन्यास अब्बल बनेको छ । एउटा कुरा भनिहालूँ, यसका प्रकाशकले यो कृतिको प्रमोशनमा त्यति ध्यान नदिएको चाहिँ पक्का हो ।

यो उपन्यास विभिन्न पुरस्कारमा फाइनल राउण्डसम्म पुगेर पनि यसले लेखकलाई आजका मितिसम्म कुनै पुरस्कार दिलाएको पनि छैन । तर पनि यो कृति धेरै पाठकको मनमा बस्न सफल भएको छ । यो कृति आजका लागि मात्र नभएर भोलि र पर्सि पनि पढिने निश्चित छ । यसको उत्तरोत्तर सफलताको कामना गर्दै कलमलाई विश्राम दिन्छु । भबतु सब्ब मङ्गलम् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट