देवचुलीको स्थानीय वन ऐन २०७९ कार्यान्वयन सम्बन्धि छ्लफल

देवचुली, २४ असोज ।
देवचुली नगरपालिकाको स्थानीय वन ऐन २०७९ कार्यान्वयनका लागि छ्लफल तथा अन्तरक्रिया गरिएको छ । ग्रीन फाउन्डेसन नेपाल नवलपुर शाखाको आयोजनामा सरोकारवालाको उपस्थितिमा कार्यक्रम गरिएको हो । देवचुलीमा निर्माण भएको स्थानीय वन ऐन २०७९ कार्यान्वयन गर्नुका साथै ऐनमा संशोधन गर्नुपर्ने विषयमा छ्लफल गर्न कार्यक्रम गरिएको ग्रीन फाउन्डेसन नेपाल नवलपुर शाखाका अध्यक्ष ठाकुरप्रसाद पाण्डेले बताए ।

देवचुलीमा रहेका सामुदायिक वनहरु नगरपालिकामा सुचिकृत गरि वनको कार्ययोजना वार्षिक रुपमा पेश गर्नुपर्ने र ऐन कार्यान्वयन गर्न सरोकारवाला लाग्नुपर्ने उनले बताए ।

ग्रीन फाउन्डेसन नेपाल नवलपुर शाखाका अध्यक्ष ठाकुरप्रसाद पाण्डेको अध्यक्षता भएको कार्यक्रममा देवचुली नगरपालिका प्रमुख हरिप्रसाद न्यौपानेको प्रमुख अतिथि रहेका थिए । त्यसैगरी नगर उपप्रमुख पार्वता तिवारी, प्रमुख प्रशासकीय अधिकृत मुकुन्द शर्मा, नगर प्रवक्ता तिलप्रसाद काफ्ले, वडा अध्यक्षहरु, फेकोफन नवलपुरका प्रतिनिधि, सामुदायिक वनका प्रतिनिधिलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थितिमा छ्लफल गरिएको थियो ।

कार्यक्रममा देवचुली नगरपालिकाको स्थानीय वन ऐन २०७९ का राम्रा पक्ष र संशोधन गर्नुपर्ने पक्षको विषयमा सुरेश रावतले सहजीकरण गरेका थिए । अमरज्योति सामुदायिक वनका अध्यक्ष टुकलाल रुचालले वन ऐनमा छुटेका प्रावधान राख्न र ऐन प्रभावकारी कार्यान्वयन गर्न आग्रह गरे । नगरपालिकाले वन प्राविधिक नगरमै राख्नुपर्ने कुरामा उनले जोड दिए ।

फेकोफन नवलपुरका उपाध्यक्ष कमल बाचेले ऐन कार्यान्वयनका लागि सहयोग गर्न तयार रहेको बताए । समय सान्दर्भिक ऐन संशोधन गर्नुपर्ने उनले बताए ।

देवचुली नगरपालिकाका उपप्रमुख पार्वता तिवारीले देवचुलीका सामुदायिक वनमा सम्भावना निकै रहेको र सोही अनुसार ऐन निर्माण गरिएको बताइन् । सामुदायिक, राष्ट्रिय तथा धार्मिक वनलाई संरक्षण, संवर्द्धन र उपयोग गर्ने नीति नगरको रहेको तिवारीले बताइन् ।

देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेले ऐन कार्यान्वयनका लागि नगरपालिका तयार रहेको बताए । ऐन संशोधनका लागि सामुदायिक वन र नगरपालिका बीच छ्लफल गरिने उनले बताए । सामुदायिक वनमा लघु उद्यम संचालन गर्न सके उपभोक्ताहरुलाई स्वरोजगार बन्नका लागि सहयोग पुग्ने उनले बताए ।

कार्यक्रममा ग्रीन फाउन्डेसन नेपाल नवलपुर शाखाका उपाध्यक्ष गोमा पौडेलले स्वागत मन्तव्य राखेकी थिइन् भने सचिव दुर्गादेवी बिष्टले संचालन गरेकी थिइन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट