भरतपुर, २४ असोज ।
नारायणगढमा प्रधान कार्यालय रहेको हंस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले स्थानीय व्यवसायीसँग भेटघाट तथा विजयादशमी विशेष शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।
सदस्यसँग नजिकको सम्बन्ध राख्ने तथा सदस्य विस्तार गर्ने संस्थाको वार्षिक कार्यक्रम अनुसार नारायणगढ बजारक्षेत्र अन्तर्गत गंगोत्री मार्ग र जुन हलरोडका व्यवसायीको उपस्थितिमा सो कार्यक्रम गरिएको हो ।
कार्यक्रममा संस्थाका अध्यक्ष दिनेशकुमार चुकेले व्यवसायीका सुखदु:खमा सधैँं साथ रहेको र वर्तमान असहज परिस्थितिमा पनि हंसले व्यवसाय विस्तार गर्नको लागि नियमित कर्जा प्रवाह गरीरहेको बताए । कार्यक्रममा संस्थाका प्रबन्धक नारायणप्रसाद सापकोटाले संस्थाको संक्षिप्त जानकारी सहित संस्थाबाट प्रदान गरिएका सेवा सुबिधाको बारेमा प्रस्तुतीकरण गरेका थिए ।
सहकारीको वर्तमान अवस्था, स्थानीय व्यवसायमा परेको प्रभाव र खेलिरहेको आर्थिक गतिशीलताका बारेमा विस्तृत जानकारी सहित आर्थिक वृद्धिलाई प्रोत्साहन गर्न संस्था प्रतिबद्ध रहेको बताए । उनले संस्थाले हाल चारवटा अस्पताल र दशवटा व्यावसायिक संघ संस्थासँग सम्झौता गरी सदस्यहरुलाई छुट सेवा प्रदान गरिरहेको जानकारी दिए ।
कार्यक्रममा संस्थाका लेखा समिति संयोजक गोविन्दप्रसाद पौड्याल, यातायात व्यवसायी महासंघ नेपालका उपाध्यक्ष रामप्रसाद सुवेदी, होटल व्यवसायी महासंघ नेपालका सल्लाहकार गोविन्दप्रसाद तिवारी, संस्थाका संचालक समितिका सदस्यहरु षडानन्द लामिछाने, होमनाथ सापकोटा, ध्रुवकुमार ओझा साथै लेखा समितिका सदस्य कृष्णहरि तिमल्सिनाले शुभकामना मन्तब्य राखेका थिए । संस्थाका सचिव शारदा शर्मा पौडेलले संचालन गरेको उक्त कार्यक्रम संस्थाका अध्यक्ष दिनेशकुमार चुकेको अध्यक्षतामा सम्पन्न भएको थियो ।





