बागमती प्रदेशसभाः वर्षे अधिवेशन मंगलबार मध्यरातदेखि अन्त्य

मकवानपुर, २३ असोज ।

बागमती प्रदेशसभा बैठक मंगलबार मध्यरातदेखि अन्त्य हुने भएकाे छ । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम प्रदेश सभाको १२औँ वर्षे अधिवेशन बैठक आज मध्यराति १२ बजेदेखि अन्त्य गरेका हुन् । बागमती प्रदेश मन्त्रिपरिषदकाे मंगलबारकाे बैठकले प्रदेश सभाको १२औँ वर्षे अधिवेशन अन्त्यकाे सिफारिस गर्ने निर्णय गरेकाे थियाे । प्रदेश प्रमुख शर्माले मन्त्रिपरिषदबाट सिफारिस भई आए बमाेजिम प्रदेश सभाकाे अधिवेशन अन्त्य गरेका हुन् ।

मन्त्रिपरिषदबाट मंगलबार सिफारिस भइ आएअनुसार, प्रदेश प्रमुख शर्माले संवैधानिक प्रक्रिया अनुसार प्रदेशसभाको बैठक अन्त्य गर्नुभएको प्रदेश प्रमुखको सचिवालयका प्रवक्ता गोविन्दप्रसाद पौडेलले जानकारी दिए । बागमती प्रदेशसभाको वर्षे अधिवेशन (दोस्राे अधिवेशन) काे पहिलो बैठक २०८० जेठ ९ गते बसेको थियो ।

उक्त अधिवेशनमा प्रदेश सरकारको आर्थिक वर्ष २०८०÷०८१ को बजेट पास गर्नुका साथै केही विधेयकहरू पारित गरेको छ । उक्त अधिवेशनमा ३८ वटा बैठकहरु सञ्चालन भएका छन् भने सो बैठकहरुले एक ध्यानाकर्षण प्रस्ताव र एक संकल्प प्रस्ताव समेत पारित गरेको छ ।
त्यस्तै उक्त अधिवेशनमा अर्थ सम्बन्धी २ वटा विद्येयकसहित ४ वटा विधेयकहरू पारित गरिएको छ । बैठकहरुमा आर्थिक विधेयक २०८० र विनियोजन विधेयक २०८० सहित प्रदेश सरकारी कामकाजी भाषा सम्बन्धमा व्यवस्था गर्न वनेको विधेयक र प्रदेश संचार माध्यम व्यवस्थापन ऐन २०७५ लाई व्यवस्थापन ऐनलाई संशोधन गर्न बनेको विधेयकलाई पारित गरेको हो ।

उक्त अधिवेशनको बैठकमा ७ वटा विधेयकहरू दर्ता भएका थिए । जसमध्ये ३ वटा विधेयक संसदीय समितिमा छलफलका क्रममा रहेका छन् । संसदीय समितिमा प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश स्वास्थ्य सेवा ऐन २०५७ लाई संशोधन गर्न बनेको विधेयक, विज्ञान, प्रविधि, नवप्रवर्तक तथा विकास कोष सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक छलफलका क्रममा रहेका छन् ।

संसद् सचिवालयमा एक विवादित विधेयक भने विचाराधीन अवस्थामा रहेको छ । प्रदेश प्रमुख कार्यालयबाट पुनः विचारका लागि फिर्ता भएको विवादित चिठ्ठा विधेयक सचिवालयमा विचाराधीन अवस्थामा रहेको हो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट