भरतपुर, २२ असोज ।
चितवनका बुद्धिसागर सुवेदीले एनआरएनएको महासचिवमा उम्मेदवारी दिएका छन् । गैर आवासीय नेपाली संघ ( एनआरएनए ) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी)को ११औँ महाधिवेशनमा महासचिवका उम्मेदवार सुवेदीले चुनावी अभियान सक्रिय बनाएका छन् । उनको सक्रियता र कामको मुल्याङ्कनको आधारमा उनी बलियो दावेदार मानिएका छन् ।
अमेरिकामा सफल ब्यवसायीको रुपमा परिचित सुवेदीले एनआरएनलाई आमूल परिवर्तन गर्नको लागि आवश्यक पद्धति र आर्थिक पारदर्शीता सहितको एनआरएनए बनाउने एजेण्डा स्थापित गर्न आफ्नो उम्मेदवारी रहेको बताएका छन् । गैरआवासीय नेपाली संघको परियोजना र गतिविधि पारदर्शी बनाउँदै सचिवालय सञ्चालन गर्ने उनले प्रतिवद्धता व्यक्त गरेका छन् ।
यसअघि एनआरएनए राष्ट्रिय समन्वय परिषद् अमेरिकाको अध्यक्ष हुँदा उनले थुप्रै काम गरेका छन् । कोभिडको बेला उनले अमेरिकाबाट स्वास्थ्य सामग्री नेपाल पठाएका थिए । उनले एनआरएनए अमेरिकाको आफ्नै भवनमा कार्यालय स्थापना गरेका छन् । सरल र मिजासिला स्वभावका सुवेदी एनआरएनएमार्फत सबै नेपालीलाई जोड्ने बताएका छन् ।
आप्रवासी नेपालीहरुको छाता संगठन (एनआरएनए) को अधिबेशनमा बुद्धिसागर सुवेदीले महासचिव पदमा उम्मेदवारी घोषणा गरेर तयारी तीव्र पारेका छन् । आगामी वर्ष २०२३–२५ को कार्यकालका लागि एजेण्डा सहित उम्मेदवारी घोषणा गरेका हुन् ।
यसैक्रममा उनले विभिन्न देशमा पुगेर एजेण्डा र प्रतिवद्धता प्रस्तुत गरेका छन् । एनआरएनएहरूको सुझाव संकलन गर्दै विभिन्न देशका राष्ट्रिय समन्वय परिषद्सँग छलफल र भेटघाट तीव्र पारेका छन् । उनले वंशजको आधारमा नागरिकताको निरन्तरताका लागि राजनैतिक दलहरु र सरकारसँग आवश्यक संवादमार्फत कार्यान्वयन गराउन , महिला, युवालगायत दोश्रो पुस्तालाई श्रमिकमैत्री बनाउँदै एनआरएनए अभियानमा सबै गैरआवासीय नेपालीलाई जोड्ने बताएका छन् ।
गैर आवासीय नेपाली संघले सञ्चालन गरेको परियोजना र गतिविधिलाई पारदर्शी बनाउँदै सचिवालय सञ्चालन गर्ने प्रतिवद्धता गरेका छन् । अनावश्यक आर्थिक चलखेल र अनियमितालाई रोक्ने र नियन्त्रणको निम्ति पारदर्शी गराउने भनेका छन् । गैर आवासीय नेपाली संघको पंजीकृत सदस्य र राष्ट्रिय समन्वय परिषदहरु स्वाधीनता र स्वतन्त्रतामा हस्तक्षेप नगरी समन्वयकारी भूमिका निर्वाह गरेर विधानको पूर्ण कार्यान्वयनका लागि आफू पूर्ण प्रतिबद्ध रहेको बताँदै आफ्नो टोलीलाई निर्वाचन गराउन आग्रह गरेका छन् ।
अक्टोबर १७ देखि सुरु हुने महाधिवेशनमा सुवेदी महेशकुमार श्रेष्ठको प्यानलबाट महासचिवका उम्मेदवार हुन् ।
उनी २०१० देखि एनआरएनए अभियानमा संलग्न भएका हुन् । उनले एनआरएनको विस्कन्सन च्याप्टरको संस्थापक अध्यक्ष हुँदै, एनआरएनएनसीसी अमेरिकामा विभिन्न तीन कार्यकाल काम गरेका थिए । ‘एनआरएन हाँक्ने स्पष्ट दृष्टिकोण बोकेर हिँडेको छु , ’ सुवेदीले भने , ‘ एनआरएनको इतिहास थप पारदर्शी र गर्विलो बनाउन चाहन्छु । संस्थागत विकास र एनआरएनएमा सबैको अपनत्व बोध गराउने भनेर महासचिवको उम्मेदवारी दिन लागेको हुँ ।’
चितवनको माडी घर भएका सुवेदी त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गरिरहँदा सन् २००३ मा अमेरिका पुगेका थिए । उनले अमेरिका र नेपालमा धेरै क्षेत्रमा ठुलो लगानी गरिसकेका छन् । सुवेदीले अमेरिकामा हायात, होलिडे ईन, ह्यम्पटन, विज्डम
लगायतका होटल र सुपरमार्केटहरु संचालन गरिरहेका छन् भने नेपालमा पनि विभिन्न क्षेत्रमा लगानी गरेका छन् ।
अमेरिकामा दुई सय बढी नेपालीलाई रोजगारी दिएका छन । सुवेदीले भैरहवामा रहेको पाँचतारे टाइगर प्यालेस रिसोर्ट खरिद गरेका छन् ।




