भरतपुर, १४ असोज ।
इन्डियाज वेस्ट डान्सर(आइबिडी) सिजन ३ को उपाधि समर्पण लामाले जितेका छन् ।
शनिबार सोनी इन्टरटेनमेन्ट टेलिभिजनबाट सार्वजनिक गरिएको आइबिडीको फिनालेमा समर्पण लामाले सर्वाधिक भोट ल्याउँदै आइबिडीको उपाधि जितेका हुन् । उनले यो सँगै १५ लाख भारु नगद प्राप्त गरेका छन् ।
भारतको सर्वाधिक लोकप्रिय डान्स रियालिटी सो इन्डियाज बेष्ट डान्सरको तेस्रो सिजनको उपाधि जितेपछि उनले यो सवैको सफलता पहिला भगवान अनी आफूलाई यो उपाधि चुम्न सफल पार्नुहुने सम्पूर्ण भोटर, शुभचिन्चक र जजलाई स्मरण गर्दै धन्यवाद दिएका छन् ।
उनले आफू बाल्यवस्थादेखि नै नृत्यमा लागेको भएपनि आइबिडीबाट जीवनमा ठूलो सफलता प्राप्त गरेको बताए ।
लामालाई जजहरुले कन्टेम्पेररी डान्सको आइकन नै मान्दै आएका छन् । उनको डान्स विधामा कन्टेम्पररी डान्स निकै आकर्षक र लोभलाग्दो मानिन्छ । अब डान्समा नै उनले भविष्यमा केही फरक छलाङ मार्ने बताए ।
२१ वर्षीय समर्पण लामा बुवा धिरेन लामा र आमा सुधा विष्टको जेठो छोरा हुन् । उनको स्थायी घर चितवन जिल्ला रन्तनगर नगरपालिका वडा नं.१३ माधवपुर, टाँडी हो । उनका बुवा धिरेन लामा बैदेशिक रोजगारीको शिलशिलामा कतारमा काम गर्छन् भने उनकी आमा सुधा विष्ट गृहणी हुन् ।
उनले चितवनको टाँडीस्थित अन्नपूर्ण माविबाट एसईई सकेर त्यहीँकै जनजागृति माविबाट बाह्र कक्षा पास गरेका छन् ।
सानैदेखि नै फरक प्रतिभा भएका लामा केही समय अघिसम्म टाँडीमा नृत्य सेन्टर संचालन गरेर स्थानीय युवाहरुलाई नृत्य सिकाउँदै आएका थिए । उनमा क्यारिकेचर गर्ने कला पनि भएको कुरा उनका बुवा धिरेन लामा बताउँछन् ।




