बिपी र चीन सम्बन्ध

जननायक बिपी कोइरालाको सुस्पष्ट परराष्ट्र नीति थियो र आफ्नो नीतिको सम्बन्धमा उहाँमा कहिल्यै पनि कुनै किसिमको भ्रम वा द्विविधा थिएन । तथापि विभिन्न कालखण्डमा चाहे त्यो उहाँको जीवनकालमा होस् वा त्यस पश्चात, उहाँको परराष्ट्र नीतिलाई विभिन्न कोणबाट आफ्नो स्वार्थ अनुकूल व्याख्या गर्ने प्रयासहरू भइ नै रहे जसले गर्दा त्यस सम्बन्धी कतिपय भ्रमहरू विद्यमान छन् । उहाँको परराष्ट्र नीति र विशेष गरी चीन नीतिका सम्बन्धमा वास्तविक कुरा सबैले बुझ्न सके मात्र इतिहास र स्वयं बिपी कोइरालाप्रति न्याय भएको ठहर्नेछ ।

 

सन् १९६० मा सम्पन्न भएको संयुक्त राष्ट्र संघको पन्ध्रौं साधारण सभामा प्रथम जननिर्वाचित नेपाली प्रधानमन्त्रीको रूपमा सम्बोधन गर्दा संयुक्त राष्ट्र संघमा चीनको सहभागिताको महत्त्वलाई जोडदार ढंगले प्रस्तुत गर्दै बिपीले भन्नुभएको थियो- “अध्यक्ष महोदय, म चीनको प्रतिनिधित्वको सम्बन्धमा चर्चा नगरी रहन सक्दिन जसले आफ्नो छुट्टै विशिष्ट स्थान बनाइसकेको छ । हाम्रो संगठनमा जनगणतन्त्र चीनलाई यसको अधिकारपूर्ण स्थान नदिइएसम्म हाम्रो विचारमा यो संगठन न त विश्वव्यापी बन्न सक्छ, न त यसले वर्तमान विश्वमा विद्यमान राजनैतिक वास्तविकता नै प्रतिबिम्बित गर्न सक्छ । चीनलाई समावेश नगरेसम्म संयुक्त राष्ट्र संघ आफ्ना महत्त्वपूर्ण उद्देश्यहरू र कार्यहरू प्रभावकारी ढंगले पूरा गर्न असमर्थ हुनेछ ।”

डाक्टरले ६ महिनाभित्रै मृत्यु हुनसक्ने अनुमान गरेपछि बिपीले मृत्यु-शय्याबाट बोल्नुभएका कुराहरूलाई लिपिबद्ध गरिएको बिपीको आत्मवृतान्तमा आफू प्रधानमन्त्री छँदा, सन् १९६० को अप्रिलमा आफूले गरेको दुई हप्ता लामो चीन भ्रमणको बिपीले अत्यन्त महत्वका साथ उल्लेख गर्नुभएको छ । चिनिया चलन अनुसार बेइजिंगमा बिपी र चाउ एन लाइद्वारा एकै ठाउॅंमा उभिएर गार्ड अफ अनर लिइएको थियो । त्यहाँ जवाहरलाल नेहरूले चीन भ्रमण गर्दा उनलाई राखिएको गेस्ट-हाउसमा नै बिपीलाई पनि राखिएको थियो । बिपी त्यहाँ बसिन्जेल चाउ एन लाईले आफ्नो पूरा समय बिपीलाई नै दिएका थिए । एकदिन त ब्रेकफास्टदेखि लन्च र बेलुकाको चिया पिइन्जेलसम्म दिनभरि बिपीले चाउ एन लाईसँग समय बिताउनुभयो ।

बिपीलाई त्यहाँको सबभन्दा ठूलो बाँध देखाउन लगियो जहाँ बीसलाख मानिसहरू खर्पनबाट माटो ल्याएर बाँधमा हाल्दै थिए । नीलो लुगा लगाएका तिनीहरूलाई टाढाबाट हेर्दा ती काम गरिरहेका कमिलाजस्ता देखिन्थे । उनीहरूलाई प्रेरित गर्ने क्रान्तिकारी गीतहरू बजिरहेका थिए । बिना मेसिन त्यत्रो बाँध बनाएको देखेर र काम गर्ने उनीहरूको त्यो शैलीबाट पनि आफू प्रभावित भएको कुरा बिपीले बताउनुभएको छ ।

बिपीको चिनियाहरूसॅंग अत्यन्त सुमधुर संबन्ध थियो, असल मित्रको जस्तो । त्यसबेला भारतले नेपाललाई रू. १८ करोड सहयोग गरेको थियो । बिपीले चाउ एन लाईसँग त्यही कुरा भनेर आफूले देश बनाउन खोजिरहेको र त्यसमा चीनको पनि सहयोग चाहिएको कुरा गर्नुभयो । चाउ एन लाइले भारतको भन्दा अलि कम नै सहयोग गर्ने कुरा गरे । भारतकै बराबर चीनले किन सहयोग नगर्ने भन्ने बिपीको प्रश्नमा चाउ एन लाइले दिएको जवाफ अत्यन्त महत्वपूर्ण र एउटा वास्तविक हितैषीको जस्तो छ । उनको भनाइ थियो यदि चीनले पनि भारतकै बराबर सहयोग गऱ्यो भने भारत नेपालसॅंग सशंकित हुन थाल्नेछ । अन्तर्राष्ट्रिय स्तरमा पनि चीन भारतसॅंग प्रतिस्पर्धा गर्दैछ भन्ने पर्न जाने हुनाले त्यसको सन्देश राम्रो नजाने उनको भनाइ थियो । चीनले सहायता गर्दापनि लामो बाटोबाट जानुपर्ने हुनाले भारतसँग नै नेपालले बढी सहायता लिनुपर्छ भन्ने उनको भनाइ एउटा असल मित्रले दिएको सुझाव थियो ।

चीन भ्रमणमा छँदा बिपीको माओ त्से तुंगसँग पनि करिब डेढ घण्टा कुरा भएको थियो । माओले बिपीसॅंग आफूहरू पहिला जहिलेपनि रूसबाट निर्देशित भएकोले त्यस सम्बन्धबाट आफूलाई भन्दा रूसलाई नै बढी फाइदा पुगेको र रूसको कुरा सुन्न छोडेको केही वर्षमा नै आफूहरू सत्तामा पुगेको कुरा गरेका थिए । सगरमाथालाई मितेरी चुचुरो भनेर साझा मानौं भन्ने माओको प्रस्तावलाई भने बिपीले मान्नुभएन र त्यो नेपालको भूभागमा भएकोले नेपालकै हुनुपर्ने कुरा दोहोऱ्याउनुभयो ।

बिपीले चीन भ्रमणको समापनका लागि आफूले आयोजना गरेको रात्रिभोजमा सम्बोधन गर्दै चीनियाँ जनताले चीनको आर्थिक विकासको लागि जुन सुसंगठित र नियमित ढंगले कडा परिश्रम गरिरहेका छन् र विकासको जुन तीव्र गति चीनमा भइरहेको छ त्यसले आफू निकै प्रभावित भएको कुरा उल्लेख गर्नुभएको थियो ।

बिपीको निमन्त्रणामा चीनियाँ प्रधानमन्त्री चाउ एन लाइले पनि नेपाल भ्रमण गरेका थिए । उनको नेपालमा भव्य स्वागत भयो । पत्रकार सम्मेलनमा चाउ एन लाइले पत्रकारहरूको प्रश्नमा दिएका जवाफहरू अत्यन्त महत्त्वपूर्ण छन् । उनले भनेका थिए- नेपालसॅंगको संबन्धमा सिमानाका कुराहरू चीनका लागि त्यति महत्त्वपूर्ण छैनन् । चीनको भूभाग नै यति ठूलो छ कि नेपालले केही सय वर्गमाइल लियो भनेपनि चीनलाई केही फरक पर्दैन । बिपीले पनि मौकैमा भन्नुभयो- “महामहिम, मैले के बुझें भने हाम्रा सबै क्षेत्रीय मागहरू पूरा गर्न तपाईं गाह्रो मान्नुहुने छैन ।”

चीनसँग नेपालले सन् १९५५ को अगस्ट १ का दिन औपचारिक दौत्यसम्बन्ध कायम गरेको थियो । त्यसदिन बिपीले आफ्नो डायरीमा महत्त्वका साथ लेख्नुभएको छ- “यो चीनसॅंग दौत्य सम्बन्धको सुरुवात मात्रै थिएन । यो नेपाली राजनीतिमा एउटा नयाँ पक्षको प्रवेश पनि थियो । यो चीनले प्रतिनिधित्व गर्ने विचारधाराका लागि ढोका खोल्ने काम पनि थियो ।”

चीनसॅंगको सम्बन्धलाई बिपीले महत्त्वका साथ हेर्नुहुन्थ्यो भन्ने कुरा वि.सं २००९ सालमा जनकपुरमा सम्पन्न पाँचौं महाधिवेशनबाट पारित घोषणापत्रमा यस संबन्धी निम्न कुरा उल्लेख भएबाट पनि स्पष्ट हुन्छ- हाम्रो सौभाग्यले एसियाका दुईवटा महानतम् राष्ट्रका हामी छिमेकी भएका छौं । हामी चीनको भलो चाहन्छौं । चीनका प्रति हाम्रो भावना उदार छ, विशेष गरेर जुन सामाजिक र राजनीतिक प्रयोग त्यहाँ हुन लागेको छ, त्यसलाई देखेर हामी चाहन्छौं कि त्यस देशको साथ हाम्रो सम्बन्ध घनिष्ट हुँदै जाओस् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट