क्रसर उद्योगको स्रोत नखुलेको नदीजन्य पदार्थ पुनः नापजाँच गरिने

राप्ती, ९ गते ।
राप्ती नगरपालिकाले बजार अनुगमनलाई निरन्तरता दिएको छ । त्यस क्रममा पसल, व्यावसाय र क्रसर उद्योग अनुगमन गरेको हो ।
एक हप्ताअघि राप्ती को वडा नम्बर १, २ र ३ मा बजार अनुगमन गरिएकोमा यस पटक भने वडा नम्बर ७ र ८ मा रहेको बजार अनुगमन गरेको हो । अनुगमनका क्रममा केही पसलमा अखाद्य वस्तु र म्याद गुज्रिएका सामान भेटिएका छन् ।

नगरपालिकाले क्रसर उद्योग समेत अनुगमन गरेको छ । अनुगमनको क्रममा राप्ती–७ मा रहेको जय कालिका रोडा उद्योगमा यसअघि सिल गरेको गिट्टी बालुवाको थुप्रो बिक्री वितरण गरेको पाइएपछि पुनः नापजाँच गरेको हो । केही समयअघि जिसस र राप्ती नगरपालिकाको संयुक्त टोलीले उक्त क्रसर उद्योग अनुगमन गरी डम्पिङ गरेर राखिएको नदीजन्य पदार्थ अवैध भएको ठहरसहित सिलबन्दी गरेको थियो । तर सिलबन्दी नखुल्दै उक्त नदीजन्य पदार्थको मौज्दातबाटै बिक्रीवितरण गरेको पाइएको अनुगमन समितिका संयोजक तथा उपप्रमुख देवेन्द्र लामाले बताए । लामाले भने, ‘गिटीको मौज्दात कम रहेको पायौं । त्यसैले पुनः नापेर प्रतिवेदन बनाई जिप्रका र जिसस पठाउने छौँ ।’

राप्ती नगरपालिकाका उपप्रमुख देवेन्द्र लामाको नेतृत्वमा गरिएको अनुगमनमा खाद्य निरीक्षक वन्दना पन्त, अनुगमन समिति सदस्य सुमिता डल्लाकोटी, नगरपालिकाको प्रशासकीय अधिकृत दीपक थिङ, शारदादेवी शर्मा, राप्ती उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार कँडेल, प्राविधिक र सुरक्षाकर्मीको टोलीले नगरभित्रको बजारहरु अनुगमन गरेको थियो ।

अनुगमनको क्रममा मिष्ठान्न भण्डारमा जेरी तथा लड्डुहरुमा कृत्रिम रङको प्रयोग गरिएको पाइएको खाद्य प्रविधि एवं गुण नियन्त्रण डिभिजन कार्यालय भरतपुरकी खाद्य निरीक्षक बन्दना पन्तले बताइन् । “खानेकुरामा कृत्रिम रङ हाल्न पाइँदैन” उनले भनिन्, “यसले क्यान्सर रोग निम्त्याउन सक्छ ।” केही मिष्ठान्न भण्डारमा पकाउने तेल गुणस्तरहीन भेटिएको उनको भनाइ छ । त्यस क्रममा ३ वटा मिठाई पसलबाट लगभग ५ लिटर अखाद्य तेल नष्ट गरिएको छ । धेरै पटक एउटै तेल प्रयोग गर्दा र एउटै तेललाई धेरै तापक्रममा तताउँदा उक्त तेल अखाद्य बन्ने खाद्य निरीक्षक पन्तले बताइन् । मासु पसलहरुको बिक्री कक्ष राम्रै भए पनि बधशाला सरसफाई सन्तोषजनक नदेखिएकोले सरसफाईमा ध्यान दिन अनुगमन टोलीले निर्देशन दिएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट