`छुटेको प्रचण्ड´ खोज्दै राजुको कविता यात्रा

भरतपुर, ९ भदौ ।
शनिबार साँझ नारायणी कला मन्दिरमा चितवनका कवि लेखकको बाक्लै उपस्थिति देखियो । खासमा कवि राजु स्याङ्तानलाई सुन्न कवि लेखक यसरी कला मन्दिरमा भेला भएका थिए । पानी बन्द भएर आकाश खुलेपछि कवि लेखक फुरुङ्ग हुँदै त्यहाँ आएका थिए । कविता यात्रा लिएर कवि स्याङ्तान चितवन आएका हुन् । उनको `ओ पेङ् दोर्जे´ कवितासङ्ग्रह हालै सार्वजनिक भएको हो ।

ठिक ५ बजे नारायणी कला मन्दिरको हलमा जान कवि लेखकलाई आयोजकले आग्रह गरे । कवि लेखक भित्र पसे । कार्यक्रमकी संयोजक रञ्जना लिम्बु र कार्यक्रम प्रस्तोता अञ्जान प्रदीपले स्रोता दर्शकलाई स्वागत गर्दै कार्यक्रमको बारेमा जानकारी गराए र कार्यक्रम सुरु भयो ।

कार्यक्रमको सुरुवातमा र्‍यापर गोरे भाइ मञ्चमा देखिए । गोरेले कवि स्याङ्तानको कविता `आमा तिमी मलाई मातेको मन पर्छ´ लाई र्‍याप शैलीमा गाए । दर्शक स्रोताले शान्त भएर सुने । उनको प्रस्तुति सकिएपछि परर ताली बज्यो ।

त्यसपछि मञ्चमा उक्लिए स्याङ्तान । कविसँगै टुङ्ना र सारङ्गी लिएर सुशान्त श्रेष्ठ अनि बाँसुरी लिएर सुजन लामा पनि मञ्चमा देखिए । सुशान्त र सुजनले निकालेको संगीतमा राजुले आफ्ना कविताहरू पढ्न लागे ।

राजुले सुरुमा `गुमनाम ताराहरू´ शीर्षकको कवितालाई आवाज भरे । त्यसपछि `याम्बुको कथा´ सुनाए । तेस्रो कविता स्वरुप `गाउँ हराएको कथा´ र चौथो कवितामा `दाजुभाइ´ सुनाए ।

पाँचौं कवितास्वरुप उनले `छुटेको प्रचण्ड´ रोजे । यो कविता वाचन अगाडि नै स्रोताले एक चरण ताली बजाए । ताली सकिए लगत्तै राजुले यो कविता सुनाए । कविता सकिएपछि पनि जोडदार ताली आयो । अहिले गाउँगाउँमा प्रचण्डहरू छन् तर जनताले न्याय र शान्तिको अनुभूति गर्न पाएका छैनन् । कवितामा राजुले यही भावलाई समेटेका छन् । यसपछि `जीवनमा कहिलेकाहीँ´ कविता लिएर राजु अझै अगाडि बढे । त्यसपछि `एउटा दासको घोषणापत्र´ सुनाए । यो कवितामा मजदूरको जीवन जोडिएको छ । `दाइ हराएको सूचना´ कवितामा कोरोना महामारीमा आफ्नै हराएका दाइको प्रसङ्गलाई समेटेका छन् । `पिपाको हुँकार´ मा सेनाको सबैभन्दा तल्लो दर्जाको कर्मचारीको कथा बुनेका छन् ।
`रामबहादुर मार्ग´ कविता सुनाएर राजुले कार्यक्रमको बिट मारे । महेन्द्र राजमार्ग निर्माणमा कविका बुवा मजदूर भएर काम गरेको प्रसङ्ग यो कवितामा छ ।

कविता वाचन सकिएपछि कवि भूपिनले राजुका कवितामाथि समीक्षात्मक टिप्पणी राखेका थिए । अन्त्यमा राजुको बीमा कवितामाथि चित्रण गरिएको नाटक मञ्चन गरिएको थियो । नाटकलाई अञ्जान प्रदीपले निर्देशन गरेका हुन् ।

मन्थन, नारायणी कला मन्दिर र कर्मी चौतारीले संयुक्तरूपमा कार्यक्रम आयोजना गरेका हुन् । भरतपुर महानगर प्रज्ञाप्रतिष्ठानले कार्यक्रमलाई प्रबर्द्धनात्मक सहयोग गरेको हो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट