भरतपुर, ९ भदौ ।
नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले काङ्ग्रेस कसैको इसारामा नचल्ने बताएका छन् । `नेपाली काङ्ग्रेस गहिरो इतिहास बोकेको पुरानो पार्टी हो, हाम्रो पार्टी कसैको इसारा र ललिपपमा चल्दैन´,
नेपाली काङ्ग्रेस प्रदेश सभा क्षेत्र नम्बर २ ख चितवनले शनिबार भरतपुरमा आयोजना गरेको प्रदेश सभा सम्मेलनलाई सम्बोधन गर्दै भट्टराईले भने – `काङ्ग्रेसको अगाडि अब कुनै पनि दलको तागतले काम गर्दैन । नेपाली काङ्ग्रेस पहरो हो, पहरोसँग कसैले कुहिनो ठोक्न गयो भने उ आफै घाइते भएर अस्पताल भर्ना हुनुपर्छ । काङ्ग्रेससँग जोरि खोज्नेहरुको हाल्त त्यस्तै हुन्छ ।´
सम्मेलनमा बोल्दै नेपाली काङ्ग्रेस चितवनका सभापति राजेश्वर खनालले नेपाली काङ्ग्रेसको राजनीति अब नयाँ शिराबाट अगाडि बढने बताए । `काङ्ग्रेस अब नयाँ शिराबाट राजनीतिसँगै सामाजिक काम गर्न चाहन्छ´, खनालले भने – `अबको हाम्रो राजनीति समाज केन्द्रित हुनेछ ।´
त्यस्तै भरतपुर महानगर सभापति चित्रसेन अधिकारीले काङ्ग्रेस अब आफ्ना कमिकमजोरीहरुलाई सुधारेर जान आवश्यक रहेको टिप्पणी गरे । `हाम्रा बीचमा थुप्रै कमिकमजोरीहरु छन, बेलैमा ती कमिकमजोरीलाई सच्याएर अगाडि बढन सकिएन भने त्यसले कालन्तरमा ठुलो दुर्घटना निम्त्याउन सक्छ´, अधिकारीले भने ।
सम्मेलनमा सचिवको प्रतिबेदन कृष्णविलास अधिकारी र कोषाध्यक्षको प्रतिवेदन राजकुमार रावतले प्रस्तुत गरेका थिए ।
सम्मेलनमा नेपाली काङ्ग्रेस चितवनका निवर्तमान सभापति जितनारायण श्रेष्ठ, भरतपुर- २ का वडा सभापति मनोज रानाभाट, ७ का सभापति विनोदबाबु ढकाल, १२ का सभापति चित्रबहादुर भण्डारीलगायतले मन्तव्य राखेका थिए ।
नेपाली काङ्ग्रेस प्रदेश सभा क्षेत्र नम्बर २ ख का सभापति रोशन शाही ठकुरीको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव रविभद्र शर्मा खनालले गरेका थिए ।
नेपाली काङ्ग्रेसले वडा, पालिका हुँदै क्षेत्रको सम्मेलनहरु गरिरहेको छ भने भदौ २३ र २४ गते जिल्ला सम्मेलन गर्ने तयारी गरेको छ । भदौ २७ गते नेपाल महिला संघ जिल्ला कार्यसमिति चितवनले महिलाहरुलाइ लक्षित गर्दै तीज विशेष कार्यक्रम गर्दैछ ।




