गैंडाकोट, ९ भदौ ।
गैंडाकोट नगरपालिका वडा नम्बर ६ मा रहेको श्री भाग्योदय प्राथमिक विद्यालयका पूर्व प्रधानाध्यापक स्व. जगदिश अधिकारीको २८औं पुण्य स्मृति दिवसमा विद्यालयका छात्रछात्राहरूलाई लेखन सामग्रीहरू हस्तान्तर गरिएको छ । स्व. अधिकारीको पुण्य स्मृति दिवस कार्यक्रममा शिक्षा क्षेत्रमा उनको योगदानका विषयमा चर्चा गरिएको थियो ।
विद्यालयको कामले सदरमुकाम परासी जाँदा बस दुर्घटनामा अधिकारीको निधन भएको थियो । कार्यक्रममा विद्यालय सञ्चालक समितिका पूर्व अध्यक्ष नरहरि सापकोटाले पूर्व प्रधानाध्यापक अधिकारीको योगदानको चर्चा गर्दै मानवमा हुनुपर्ने सम्पूर्ण आचरण उनमा भएको र आफूले यस्तो शिक्षक अहिलेसम्म कहीँ नदेखेको बताए । `विद्यालयका संस्थापक प्रधानाध्यापक रहेका स्व. अधिकारीले बिहानदेखि साँझसम्मको पुरै समय विद्यालयलाई नै दिनुहुन्थ्यो´, पूर्व अध्यक्ष सापकोटाले बताए ।
कार्यक्रमका प्रमुख अतिथि रेडियो संकेतका स्टेशन म्यानेजर तथा विभिन्न सामाजिक संघ संस्थामा आवद्ध समाजसेवी सुजन अधिकारीले आफु सानै रहेको अवस्थामा बुवालाई गुमाउनु बिडम्वना भएको बताए । `त्यो दिन स्कूलको काममा बिहानै ६ बजे घरबाट जानुभयो र दुर्घटना पर्नुभयो । हामीले अभिभावक गुमायौं । तर २८ वर्षसम्म पनि स्कूलले हाम्रा बुवालाई सम्झिरहेकोमा हामी विद्यालयप्रति आभारी छौं र धन्यवाद दिन चाहन्छौँ´, प्रमुख अतिथि अधिकारीले भने ।
स्व. अधिकारीको पुण्य स्मृति दिवसका अवसरमा अधिकारी परिवारले विद्यालयलाई प्रदान गरेको अक्षयकोषमा थप रु २१ हजार समेत प्रदान गरेको छ । कक्षा ५ सम्म अध्यापन गराइने उक्त विद्यालयमा एकसय विद्यार्थीहरू अध्ययन गरिरहेका छन् । अधिकारीको पुण्य स्मृति दिवसका अवसरमा विद्यालयका सम्पूर्ण विद्यार्थीहरुलाई स्टेशनरी हस्तान्तरण गरिएको थियो ।
कार्यक्रमको अध्यक्षता गर्नुभएका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेशप्रसाद सापकोटाले पूर्व प्रअ अधिकारीको स्मरण गर्दै उनको योगदानलाई विद्यालयले सधैँभरी सम्झिरहने बताए । कार्यक्रमको सञ्चालन विद्यालयका प्रधानाध्यापक डिल्लिराम अम्बैले गरेका थिए ।





