आदरणीय प्रधानाध्यापक ज्यू,
नमस्कार,
विद्यालयको प्रधानाध्यापक भएर विद्यालयलाई अग्रगतिमा लैजाने प्रयास गर्नुभएकोमा हार्दिक बधाई तथा शुभकामना । नेपालको संविधानको भाग ३ मा मौलिक हकको व्यवस्था गरिएको र सोहीअनुरूप धारा ३१ मा शिक्षासम्बन्धी हकको पनि व्यवस्था गरिएको छ । शिक्षा हरेक नागरिकले पाउनुपर्ने आधारभूत हक हो, जसका कारण संविधानले पनि माध्यमिक तहसम्मको शिक्षालाई अनिवार्य र निःशुल्क रूपमा प्राप्त गरिनुपर्ने तथा मातृभाषामा शिक्षा प्राप्त गर्न सकिने व्यवस्था पनि छ । अपाङ्गता भएका, विपन्न नागरिकलाई कानुनबमोजिम निःशुल्क उच्च शिक्षा प्राप्त गर्ने हकको व्यवस्था गरिनुपर्ने कुरासमेत उल्लेख गरिएको छ । विशेषतः सीमान्तीकृत, दलितविशेष र शिक्षाको पारिलो घामबाट वञ्चित व्यक्तिलाई शैक्षिक प्रवाहमा ल्याउनु जरुरी छ । यी आधारभूत पक्षमा यहाँको ध्यानाकर्षण पक्कै पनि भएको हुनुपर्छ ।
मुलुकको सर्वांगीण विकासका लागि शिक्षालाई पूर्वाधारको पनि पूर्वाधारका रूपमा लिइने गरिएको छ । शिक्षाले हरेक नागरिकको व्यक्तित्व विकासमा योगदान गर्दै असल, योग्य, सक्षम, प्रतिस्पर्धी र उत्पादनमूलक जनशक्ति तयार गर्न मद्दत गर्दछ । शिक्षाले मानवविकासको निम्ति सर्वांगीण भूमिका खेल्दछ । समग्र पद्धतिमा सुधार गर्नका निम्ति शिक्षा आधारभूत औजार नै हो । चाहे औपचारिक होस् वा अनौपचारिक दुवै तवरबाट शिक्षा प्राप्त गरिने स्थिति निर्माण गरिनुमा यहाँको प्रत्यक्ष र परोक्ष भूमिका रहेको हुन्छ ।
श्रद्धेय प्रधानाध्यापकज्यू,
सार्वजनिक शिक्षाको क्षेत्रमा राज्यद्वारा भइरहेको लगानीको अनुपातमा प्रतिफल हासिल गर्न सामुदायिक विद्यालयले गुणस्तरीय जीवनोपयोगी र व्यवहारिक शिक्षा प्रदान गर्न सक्दछ भन्ने उदाहरण प्रस्तुत गर्नतर्फ यो विद्यालय अग्रसर रहनु पर्दछ । सामुदायिक विद्यालयको गुणस्तरमा सुधार ल्याउन अभिभावक, स्थानीय सरकार, विद्यालय व्यवस्थापन समिति, शिक्षक र विद्यार्थी सबैको सामुहिक प्रयास आवश्यक छ । विद्यालय व्यवस्थापन समिति, अभिभावक र प्रधानाध्यापकको समन्वयात्मक र सक्रिय सहभागिता हुन सकेमा मात्र पनि सामुदायिक विद्यालयमा प्रदान गरिने शिक्षामा गुणस्तर कायम गर्न सकिन्छ । वर्तमान समयमा शिक्षामा गरिएको लगानी स्रोत र साधनसापेक्ष भएको छ कि छैन भन्ने विषयमा यहाँ पनि संवेदनशील रहनुभएको छ होला ।शिक्षामा ठुलो धनराशि लगानी हुँदा पनि विशेषतः सामुदायिक विद्यालयमा सरकार संवेदनशील हुँदाहुँदै पनि गुणस्तरीय शिक्षा प्रदान गर्ने विषयमा विद्यालयहरू चुकेको अवस्था नै हो । संस्थागत (निजी) विद्यालयमा विद्यार्थीको बढ्दो चाप र आकर्षणबाट सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूले गम्भीर तरिकाले पाठ सिक्नु वाञ्छनीय देखिन्छ ।
सामुदायिक विद्यालयका प्रधानाध्यापक मिहिनेती, दक्ष, सिपालु त हुनु जरुरी नै छ त्यसका साथै नेतृत्वदायी भूमिका निर्वाह गर्नसक्ने, कुशल प्रशासक, दूरदर्शी, मिलनसार, सहयोगी, बहुमुखी प्रतिभाशाली भएको खण्डमा विद्यालयमा व्यापक सुधार र आमूल परिवर्तन ल्याउन सक्छन् । वास्तवमा नेतृत्वकर्ता दक्ष, ज्ञानी, निष्णात विद्वान एवं प्रबन्धकका रूपमा रहेका प्रधानाध्यापकले अनुगमन, निरीक्षण, आवश्यक सल्लाह, सुझाव र मार्गनिर्देशनका साथ सहकार्य गर्दै अघि बढेमा विद्यालयको गुणस्तर वृद्धि गर्न सकिन्छ ।
राम्रो प्रधानाध्यापक दूरगामी सोच भएको हुने हो भने उसले राम्रो स्कुल निर्माण गरी समाज, विद्यार्थी, कर्मचारी, शिक्षक सबैलाई उपयुक्त गन्तव्यमा र्पुयाउन सक्दछ । वास्तवमा शिक्षालाई प्राज्ञिक गथि र यात्रातर्फ उन्मुख गराउने उच्च समर्पण प्रदान गर्ने, शैक्षिक अनुसन्धानका कार्यनीति निर्धारण र निर्माण गर्ने योजनान्मुख, लक्ष्योन्मुख, जवाफदेही र जिम्मेवार प्रधानाध्यापक नै आजको आवश्यकता हो । विद्यालयको प्रधानाध्यापक विद्यालयको उत्प्रेरक हो र समाजको निर्देशक पनि हो । विद्यालयलाई शिक्षक–विद्यार्थी, सरोकारवाला, समाजसुधारक, चिन्तक, दार्शनिकजस्ता व्यक्तिलाई आऊँ–आऊँ लाग्ने वातावरण प्रधानाध्यापकले बनाउन सक्दछ । अभिभावक, शिक्षक, कर्मचारी आदिका गुनासा सुन्ने, सुझाव लिने र तिनलाई कर्ममा प्रेरित गराउने जिम्मेवारी प्रधानाध्यापकले लिनुपर्दछ ।
प्रधानाध्यापक कुशल नेता र विचारक भएका नाताले विविध प्रकारका विचार र धारणा राख्ने व्यक्तिहरूको बिचमा भएको वैचारिक मतभेद हटाउन पनि सहयोग र्पुयाउने खालका हुनु जरुरी छ । यसका साथै विद्यालयलाई पारिवारिक वातावरणअनुरूप लैजाने, मर्यादा र संस्कार सिकाउने सबैमा कामप्रति दायित्व र उत्तरदायी भावनाको विकास गराउनुपर्ने कुरामा सचेत भई लाग्नु जरुरी छ । सचेत प्रधानाध्यापकको कर्तव्य शिक्षक, विद्यार्थी र कर्मचारीलाई प्रोत्साहन गर्नुपर्ने हुन्छ । प्रधानाध्यापक अनुरूप विद्यालय रहने र ऊ खेलको निर्णायकजस्तै, जहाजको क्याप्टेनजस्तै बन्ने भूमिकामा रहने हो भने र अदालतको न्यायधीश जस्तै पनि रहने हो भने विद्यारूपी मन्दिरमा सम्भावनाका नयाँ आयामहरू खोलिन्छन् । प्रधानाध्यापक अनुशासित र सचेत रहँदा विद्यालयको स्तर अत्यन्त शालीन ढंगबाट अघि बढ्दछ । प्रधानाध्यापकमा राजनीति हावी रहनु हुँदैन । राजनीतिक दलको आशीर्वाद प्रधानाध्यापकमा रहेसम्म विद्यालय शिक्षाले अपेक्षित रुपमा फड्को मार्न सक्दैन । वास्तवमा जिम्मेवार र वफादार प्रधानाध्यापकले आफ्नो कर्तव्यलाई पूरा गरी वफादारीपूर्वक विद्यालयमा पुगेर शिक्षक साथीहरूसँग छलफल गर्दै दिनभरिका योजना कुशलतापूर्वक पालना गर्नु जरुरी रहन्छ । वास्तवमा आफू रम्दै रमाइलो वातावरणमा प्रशासकीय अभिभारा र शिक्षणीय अभिभारा सुम्पनुपर्दछ । विद्यार्थीसँग अन्तक्र्रिया, सरोकारवालासँग छलफलका साथै सम्बन्धित समाज, शिक्षण नीति र योजनामा व्यापक रूपमा सुधार गर्ने कुरामा अघि बढ्नुपर्दछ ।
श्रद्धेय प्रधानाध्यापकज्यू,
विद्यालय शिक्षा सुधारमा प्रधानाध्यापकले आफ्नो विद्यालयको शैक्षिक गुणस्तर र गरिमा कायम गर्नका लागि हमेशा यी प्रश्नहरुको उत्तर सदासर्वदा खोजिरहन जरुरी छ –
१) विद्यालयले सिकाइ सुधारका लागि केकस्ता प्रयासहरु गरेको छ ?
२) सिकाइ सुधारका लागि अन्यभन्दा यस विद्यालयका फरक अभ्यासहरु केके हुन् ?
३) विद्यालयको सिकाइ उपलब्धिको अवस्था केकस्तो छ ?
४) सामुदायिक विद्यालयमा सरकारले भौतिक पूर्वाधार, जनशक्ति, शिक्षण तालिम, पाठ्यपुस्तक लगायतमा ठूलो लगानी गरेको छ, तर पनि सबै सामुदायिक विद्यालयको अवस्था अब्बल बन्न नसक्नुको कारण के होला ?
५) सामुदायिक विद्यालयको भौतिक, शैक्षिक सुधार गर्न के के गर्नुपर्ला ?
६) खासमा समस्या स्रोतको हो कि शिक्षण सिकाइमै हो ?
७) सरकारको शिक्षा नीति र कार्यक्रम कत्तिको उपयोगी देख्नुहुन्छ ?
८) एउटा विद्यालय राम्रो हुनका लागि प्रधानाध्यापकको भूमिका कस्तो हुनु पर्छ ?
९) राम्रो गर्न चाहने विद्यालयहरुले यो विद्यालयबाट सिक्ने कुरा के के हुन् ?
भवदीय
कृष्णहरि पौडेल





