कावासोती, २० साउन ।
नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय राष्ट्रिय युवा परिषद्द्वारा अन्तराष्ट्रिय युवा दिवस तथा रिटर्नी माइग्रेन्ट नेपालको स्थापना दिवसको अवसरमा नवलपरासीपूर्वबाट १६ जना सम्मानित भएका छन् ।
दिवसका अवसरमा जिल्लाका विभिन्न चार विधामा कार्यरत व्यक्तित्वहरुलाई सम्मान गरिएको हो । वैदेशिक रोजगारबाट फकिएका रिटर्नी ६ जना सफल उद्यमी, राष्ट्रिय खेलाडी ६ जना, पत्रकारिता तथा सञ्चार जगतमा २ जना र शिक्षाप्रेमी तथा समाजसेवी २ जना गरी जिल्लाबाट १६ जना सम्मानित भएका हुन् ।
पत्रकारिताको माध्यमबाट समाज र राष्ट्रका लागि पुर्याएको योगदानबापत बुद्ध दर्शन टेलीभिजनकी समाचारदाता यामु कुमाल र मुकुन्दसेन टेलिभिजनका अशिफ गुरुङ सम्मानित भएका हुन् ।
दिवसको अवसरमा शनिबार भएको अन्तरक्रिया तथा सम्मान कार्यक्रम रिटर्नी माइग्रेन्ट नेपाल नवलपुरका कार्यवहाक अध्यक्ष सुमनकुमार श्रेष्ठको अध्यक्षता एवम् गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव श्रीधर शर्माको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि श्रीधर शर्माले पछिल्लो समय नेपालका राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी पलायन हुने अवस्था रहेको बताएका छन् । उनले नेपाल मै खेलाडीहरुका लागि अवसर र कुनै पनि ग्यारेन्टी नभएका कारणले गर्दा नेपाली राष्ट्रिय खेलाडी खाडी मुलुक जान बाध्य भएको बताए । यसरी देशका गहनाहरु दिनप्रतिदिन वैदेशिक रोजगारका लागि बाहिरिँदै गर्दा खेल क्षेत्रमात्र नभई देशका लागि चुनौतिको विषय भएको कार्यक्रममा वक्ताहरूले बताए ।
युवाहरुलाई देशमा नै कसरी रोक्न सकिन्छ भन्ने विषयमा नेपाल सरकारलगायत विभिन्न निकाय गम्भीर हुन आवश्यक रहेको उनीहरूले बताए ।
यस्तै रिटर्नी माइग्रेट नेपाल गण्डकी परिषद्का संयोजक नेत्र थनेतले देशमा नै कसरी आफै स्वरोजगार बन्न सकिन्छ भन्ने दृढ संकल्पका साथ लागि परेको बताए । उनले वैदेशिक रोजगारबाट फर्किएका एक सय भन्दा धेरै व्यक्तिलाई सफल उद्यमी बनाउन सफल भएको बताए ।
शनिबार `दिगो विकास लक्ष्य प्राप्तिमा युवाको साथ , नवप्रवर्तन र उद्यमशीलतामा हरित सिप विकास´ भन्ने नाराका साथ भएको कार्यक्रम नेपाल सरकार युवा तथा खेदकुद मन्त्रालय राष्ट्रिय युवा परिषद् मूल समारोह समिति एवम् रिटर्नी माइग्रेट नेपाल नवलपुरको आयोजनामा भएको हो । रिटर्नी कृषि तथा पशुपालन ,जागृति बाल तथा युवा सरोकार नेपाल र जिल्ला खेलकुद विकास समिति नवलपुरले सहकार्य गरेका थिए ।





