देवचुली, २० साउन ।
देवचुली नगरपालिका वडा नम्बर १२ मा रहेको लक्ष्मी युवा क्लबको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । शनिबार लक्ष्मी युवा क्लबको परिसरमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा ३९ पुरुष र ६ जना महिला गरि ४५ जनाले रक्तदान गरेका छन् । लक्ष्मी युवा क्लबका अध्यक्ष विनोद भुसालको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि देवचुली वडा नम्बर १२ का वडाध्यक्ष लोकप्रसाद भुर्तेलले गरेका थिए । कार्यक्रममा रक्तदान गर्दै प्रमुख अतिथि भुर्तेलले २०५१ स्थापना भई २०५३ मा जिल्ला प्रशासन कार्यालय नवलपरासीमा दर्ता भएको लक्ष्मी युवा क्लब ३ दशक पार गर्नै लाग्दा युवाहरुको सक्रियताले यहाँसम्म आइपुग्न सफल भएको बताउँदै यस क्लबले आयोजना गरेको रक्तदान कार्यक्रम सबैभन्दा महत्वपूर्ण रहेको बताए ।
उनले रगत दान सबैभन्दा पूण्यको कार्य भएकाले यसमा सबै सक्रियरुपमा अघि बढि रगत दान गर्न आग्रह गरे । लक्ष्मी युवा क्लबका पूर्व अध्यक्ष नवीन पाठकले १३औँ पटक आफूले रगत दान गर्न पाउँदा निकै खुशी लागेको बताए । उनले तीन महिनामा शरिरबाट खेर जाने रगत अरु कसैलाई दान गर्दैमा आफ्नो शरिरलाई हानी नहुने बताउँदै सबैलाइ रगत दान गरि अरुकाे ज्यान जाेगाउन सहयाेग गर्न आग्रह गरे । भर्खरै गठित नयाँ समितिले सुरुवाती कार्यक्रम नै फरक ढंगले संचालन गरेको रक्तदान कार्यक्रममा सहभागी जिल्ला स्वास्थ्य कार्यालयका फोकलपर्शन डिल्लीराम तिवारीले बताए । कार्यक्रममा स्थानीय व्यक्ति, विभिन्न राजनीतिक दलका पदाधिकारी, युवाहरुको उपस्थिति रहेको थियो । सामाजिक उत्तरदायित्वका निम्ति लक्ष्मी युवा क्लब विगतका दिनदेखि नै फरक ढंगले लागिरहेकाले आगामी दिनमा पनि रक्तदान जस्ता आम नागरिकले महशुस गर्ने खालका महत्वपूर्ण कार्यक्रम संचालन गर्दै जाने कार्यक्रमको अध्यक्षता गरेका विनोद भुसालले बताए ।





