भरतपुर, २० साउन ।
पूर्व सुरक्षाकर्मी परिषद् चितवनले प्रेमवस्ती माध्यमिक विद्यालयमा सरसफाइ कार्यक्रम गरेको छ । बर्षातको समयमा स्कुल परिसरमा उम्रेका अनावश्यक झारपात र फोहोरलाई बटुलेर सरसफाइ गरिएको हो ।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभाग, भारतीय गोर्खा सेना, बृटिश गोर्खा सेना र सिंगापुर प्रहरीबाट अवकाश प्राप्तहरूलाई समेटेर पूर्व सुरक्षाकर्मी परिषद् नेपाल गठन भएको जानकारी गराउँदै परिषदका सचिव सूर्य न्यौपानेले कार्यक्रम सहजीकरण गरेका थिए ।
मन्तव्यको क्रममा परिषद्को महाननगर प्रमुख रहेका पूर्व मेजर बाबुराम अधिकारीले यस परिषद्ले समाजलाई सचेतनामुलक कार्यमा लैजान भरपुर भूमिका खेल्ने बताए ।
यसैक्रममा रत्ननगर संयोजक रहेका प्रकाश सिम्खडाले पूर्व सुरक्षाकर्मीहरू एकजुट भएर सामाजिक कार्यमा लाग्नुपर्ने बताए ।अमर प्रहरी परिवारकी अध्यक्ष सरस्वती पौडेलले महिलाहरूलाई सामाजिक कार्यमा निस्किन मुश्किल रहेपनि परिषद्ले ल्याएको हरेक कार्यक्रममा महिला दिदीबहिनीहरूको व्यापक उपस्थिति रहने प्रतिबद्धता जनाइन् ।
मन्तव्यकै क्रममा अमर प्रहरी परिवार अम्बिका कार्कीले विपदको साथी पूर्व सुरक्षाकर्मी परिषद् हुनुपर्ने बताइन् ।परिषद्का सल्लाकार कृष्ण सुवेदी र सदस्य मीनबहादुर थापाले पनि कार्यक्रममा मन्तव्य दिएका थिए ।
श्री प्रेमबस्ती माध्यमिक विद्यालयका सह- प्राध्यापक नारायण कोइरालाले पूर्व सुरक्षाकर्मी परिषद्को कार्य र भावी योजनाहरू सुनेर आफूलाई खुशी लागेको बताए । नेपाल प्रहरीका उमाकान्त बरालले खेलकुदका लागि प्रशिक्षकको आवस्यकता परेपनि स्कुलहरूमा परिषद्ले प्रशिक्षण दिनसक्ने बताए । अन्त्यमा पूर्व सुरक्षाकर्मी परिषद् चितवनका अध्यक्ष नवराज अधिकारीले राष्ट्र र राष्ट्रियता बारेमा लागि पर्ने जस्तै, भ्रष्टाचार, ढिलासुस्ती, अनियमितता अन्त्य साथै आपतविपदका लागि पूर्व सुरक्षाकर्मी परिषद् मजबुत भएर उभिने प्रतिबद्धता जनाए ।





