देवचुली, १७ साउन ।
नवलपुरमा पहिलोपटक विद्यालयमा नाटक विषय अध्यापन सुरु भएको छ । देवचुली नगरपालिका वडा नम्बर १ मा रहेको दिव्य एकेडेमीबाट पहिलोपटक नाटक विषय अध्यापन सुरु गरिएको हो । बुधबार एक औपचारिक कार्यक्रमको आयोजना गरि एकेडेमीमा नाटक विषय अध्यापन गरिने जानकारी दिइएको हो । उक्त कार्यक्रममा बोल्दै नाटक अध्यापनको संयोजन गरेको ह्याप्पी एफएमका प्रबन्ध निर्देशक दिपेश कडरियाले दिव्य एकेडेमीबाट नाटक विषयको अध्यापन सुरु गर्न लागिएको र यसलाई देवचुलीमा मात्रै नभई नवलपुर जिल्लाका विद्यालयहरुमा रगंमञ्च शिक्षालाई अगाडि बढाउन खोजिएको बताए ।
नवलपुर जिल्लामा ५ दशक भन्दा अघिको नाट्य कला संस्कृतिलाई जीवन्त राख्न स्कुले जीवनमै विद्यार्थीहरुको माध्यमबाट जिल्लामै पहिलोपटक नाट्य शिक्षालाई पठनपाठनको रुपमा विकास गर्न ह्याप्पी एफएम लागिपरेको कडरियाले बताए । उनले वि.सं. २०२२ सालबाट सुरु भएको नवलपुरको नाट्य ईतिहासलाई विद्यालय रंगमञ्च शिक्षाले पुन:जागृत गर्ने विश्वास लिईएको बताए । विद्यार्थीहरुभित्र भएको प्रतिभालाई पहिचान गरि विश्वव्यापी बनाउनुपर्ने आजको आवश्यकता रहेको पनि कडरियाले बताए ।
यसैगरि कार्यक्रममा देवचुली नगरपालिकाका बालमैत्री परामर्शदाता खिमानन्द भुसालले देवचुलीको सर्वाङ्गिण विकासमा ह्याप्पी एफएमले फरकशैलीबाट गरिरहेको कामको प्रशंसा गर्दै देवचुलीमा नाटक शिक्षाले अतुलनिय योगदान दिने बताए । ह्याप्पी एफएमबाट प्रशारण हुने दिव्य आवाज कार्यक्रममा विद्यार्थीहरुको सिर्जनात्मक प्रस्तुति देख्दा आफूलाई खुशी लाग्ने बताए । साथै उनले विद्यार्थीहरुलाई यस्ता कार्यक्रमले उत्प्रेरित गर्न पनि सहयोग गर्ने बताए । उनले विद्यालयले शैक्षिक उपलब्धी मात्रै नहेरेर विद्यार्थीहरुले कति सिके भन्ने कुरालाई पनि ख्याल गर्नुपर्ने आजको आवश्यकता रहेको बताए ।
यता देवचुली नगरपालिकाका शिक्षा अधिकृत नन्दलाल ढकालले ह्याप्पी एफएम र दिव्य एकेडेमीबाट नाटक अध्यापनको सुरुवात गरेकोमा शिक्षा क्षेत्रमै क्रान्ति भएको धारणा व्यक्त गरे । उनले नगर शिक्षा शाखाले स्थानीय पाठ्यक्रम बनाउने क्रममा रहेकाले नाटक शिक्षालाई पाठ्यक्रममा जोड्ने तयारीमा रहेको जानकारी गराए । कार्यक्रममा विद्यालयका प्रबन्ध निर्देशक तुलमणि पौडेल (टिएम)ले विद्यालयले सुरुवाती दिनदेखि नै विभिन्न विधालाई समेटेर कक्षा संचालन गर्दै आइरहेको बताए । उनले आधारभूत शिक्षाले नै विद्यार्थीहरुको क्षमता पहिचान गर्ने हुँदा यसमा नाटक विषयलाई पनि विद्यालयमा समेट्न पाउँदा निकै खुशी लागेको बताए ।
आफ्नो वडाभित्र रहेको दिव्य एकेडेमीले विद्यार्थीहरुको लागि सिर्जनात्मक कार्यक्रम संचालन गर्न लागेकोमा देवचुली वडा नम्बर १ का वडाध्यक्ष कृष्णबहादुर केसीले खुसी व्यक्त गरे ।
कार्यक्रममा दिव्य एकेडेमीका प्रधानाध्यापक कोपिला भण्डारीले विद्यार्थीहरुले नाटकबाट धेरै कुरा सिक्न सक्ने हुँदा अनुशासित ढंगले आफू प्रस्तुत हुन विद्यार्थीलाई आग्रह गर्दै यस कार्यक्रममार्फत भविष्यमा राम्रो नतिजा पाउनेमा विश्वास व्यक्त गरिन् ।
कार्यक्रममा ह्याप्पी एफएमका आर्ट डाइरेक्टर आरोहण गुरुकुलका नाट्यकर्मी राज न्यौपानेले नाटकको विषयमा जानकारी गराएका थिए । नवलपुर जिल्लाको नाट्य इतिहासलाई नयाँ शिराबाट अगाडि बढाउन नाट्य शिक्षा अध्यापन सुरु गरिएको ह्याप्पी एफएमका स्टेशन म्यानेजर आदर्श सुशिलले बताए ।
ह्याप्पी एफएमले गत साल फागुनमा नवलपुरमै पहिलोपटक थिएटरमा `एक चिहान´ नाटक मञ्चन गरेको थियो । एफएमले यस वर्ष पनि दशैंतिहारको बिचमा विद्यालयकै पाठ्यपुस्तकमा आधारित अर्को नाटक मञ्चन गर्ने तयारीमा गरेको छ ।





