भरतपुर, १७ साउन ।
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति एवं प्रतिनिधि सभा सदस्य रवि लामिछानेले बुधबार चितवनमा महिलाका लागि निःशुल्क बस सेवाको सुरूआत गरेका छन् ।
वैशाख १० गते भएको उपनिर्वाचनमा चितवन क्षेत्र नम्बर २ बाट विजयी भएको एक सयौं दिनमा सांसद लामिछानेले निःशुल्क बस सेवा शुभारम्भ गरेका हुन् । यो बसको नाम ‘ब्लु बस’ राखिएको छ । आफू उपनिर्वाचनमार्फत प्रतिनिधिसभामा निर्वाचित भएको १०० दिन पुगेको अवसरमा लामिछानेले यो बस सेवा सुरु गरेका हुन् । निलो रंगका बसहरूले दिने सेवालाई ‘ब्लू बस सेवा’ भनिएको छ । लामिछानेले आज आफैँ यात्रा गरेर सो बस सेवाको उद्घाटन गरेका छन् ।
यो बसमा चितवन क्षेत्र नम्बर २ का महिलाहरूले निःशुल्क चढ्न पाउनेछन् ।
निलो रङको यो बस भरतपुरका विभिन्न रूटहरू चल्नेछ । लामिछानेका स्वकीय सचिव प्रकाश सिग्देलकाअनुसार हरेक बिहान शक्तिखोरबाट छुट्ने बसले कालिका नगरपालिका र भरतपुर महानगरपालिकामा सेवा दिनेछ । भरतपुरका विभिन्न सडक हुँदै शिवघाटसम्म पुग्ने बस साँझ फेरि शक्तिखोर फर्कनेछ ।
पहिलो चरणमा पाँच सय जना महिलाहरूको यातायात कार्ड बनाएर बसको सेवा सुरू गरिएको छ । बसमा रहेको मेसिनमा कार्डले छोएपछि सेवा निःशुल्क हुने लामिछानेले बताए । कार्डमार्फत् बसमा को-को चढे भन्ने कुराको रेकर्ड पनि रहनेछ ।
महिलाहरूलाई दिइएको कार्डमा लामिछानेले नमस्कार गरेको तस्बिर अंकित छ ।
माग र उपयोगअनुसार समन्वय गरी भविष्यमा अन्य बस पनि थप गर्ने उनले बताए ।
‘बसमा महिलाहरूका लागि आवश्यक पर्ने सेनेटरी प्याड पनि रहनेछ । एउटा सूचना बक्स पनि रहन्छ। रवि दाइलाई चिठी लेखिएको बक्समा आफ्ना गुनासाहरू राख्न पाउनुहुन्छ,’ लामिछानेले भने, ‘एउटा जनप्रतिनिधिले सार्वजनिक यातायात कस्तो हुनुपर्छ भन्ने सपना देख्नुपर्छ । अझ सार्वजनिक सवारीमा महिलाको सुरक्षा र प्राथमिकता कस्तो हुनुपर्छ । देख्नुपर्छ, देखाउनुपर्छ ।’
यो बस रास्वपाले खरिद गरेको भने होइन । पुरानो बसमा रङ लगाइएको हो । रास्वपाको ब्रान्डिङ कलर निलो भएको र बाचा पत्रमा पनि निलो रंगकै व्यवस्था गरिकाले ब्लु बस नाम राखिएको लामिछानेले बताए ।
बसमा महिलामात्रै चढेन पाउनेछन् । चालक र सहचालक पनि महिला राख्ने तयारी भएको उनले बताए । अहिलेका लागि भने महिला चालक उपलब्ध भइनसकेका कारण बस पुरूष चालकले नै चलाएका छन् ।
स्रोतका अनुसार बस मासिक एक लाख ३० हजार रुपैयाँ तिर्नेगरी भाडामा लिइएको हो ।
बस कसको हो र मासिक कति भाडा तिर्ने गरी ल्याउनुभएको भन्ने प्रश्नमा लामिछानेले स्पष्ट जवाफ दिएनन् ।
समाजमा भएका स्रोतहरू, मान्छे, संघ, संस्था, डोनरहरूलाई परिचालन गरेर, शुभचिन्तकहरूको साथ लिएर बस सेवा सञ्चालनमा ल्याएको उनको भनाइ छ ।
‘कुनै पनि चिज मान्छेले खल्तीबाट गर्ने कुरा होइन । व्यवस्थापन गर्ने कुरा हो । त्यसलाई हामी कहाँबाट कसरी गरियो भन्ने कुरा सार्वजनिक पनि गर्छौं,’ उनले भने ।
उनले स्थानीय निकायले स्वामित्व लिन चाहेको अवस्थामा नाम, रङ फेर्न र स्रोत साधन जुटाउन पनि लाग्ने बताए ।





