`सपनाको उडान´ उपन्यासमा चित्रित समाज

‘सपनाको उडान’ उपन्यासले उठाएको कुरा

हाल अमेरिकाको बाल्टिमोर बस्दै आएका चितवने स्रष्टा ज्ञानहरि घिमिरेको ‘सपनाको उडान’ उपन्यास पवन शर्मा अर्थात् म पात्रले जीवनमा भोगेका विविध भोगाइको फेहरिस्त हो । उसले चितवनबाट माध्यमिक तह उत्तीर्ण गरेपछि अध्ययनको सिलसिलामा काठमाडौँको अमृत साइन्स कलेजबाट आइ.एस्सी. उत्तीर्ण गरेको, त्यसपछि उच्च शिक्षाका लागि अमेरिका गएको कुरा गरिएको छ । अमेरिकामा करिब एक दशकसम्म बसेको, त्यहाँ विभिन्न खालका सङ्घर्ष गरेको, साथीको सङ्गतमा परेर लागूऔषधीको दुव्र्यसनी समेत भएको, साथी विनोदले उद्दार गरेको कुरालाई पनि कत्ति नलुकाई देखाइएको छ । नेपालमा रहेकी प्रेमिकाको आग्रह र घरको दवावका कारण अमेरिका छाडेर नेपाल फर्किएको सन्दर्भ यो उपन्यासको अन्त्यमा आएको छ । सरल भाषामा लेखिएको यो उपन्यासको वर्णन सरल र सहज छ ।

 

`सपनाको उडान’ : छोटो चर्चा

चितवनको शरदपुर स्थायी घर भई हाल अमेरिकाको बाल्टिमोर बस्दै आएका सर्जक ज्ञानहरि घिमिरेको पहिलो कृति हो, ‘सपनाको उडान’ (२०७८) उपन्यास । गणित विषयमा स्नातकोत्तर तहसम्मको अध्ययन गरेका घिमिरेले अमेरिका जानुअघि काठमाडौँका सरकारी कलेज त्रिचन्द्र कलेज लगायतका विभिन्न निजी स्तरका कलेजहरुमा प्राध्यापन पनि गरेका थिए । गणितजस्तो निरस विषय पढेका भए पनि उनीभित्र भएको रसलाई उनले बाहिर पोखिन दिएका थिएनन् । आफूभित्र भएको त्यही सिर्जनात्मक चेतलाई उपयोग गर्दै उनले कोभिड–१९को महामारीका समयमा भएको लकडाउनको उपयोग गर्दै आफ्नो पहिलो कृति ‘सपनाको उडान’ तयार पारेका हुन् ।

प्रकाशकको झन्झटबाट मुक्त रहेर व्यक्तिगत तवरबाट शिवहरि घिमिरेले प्रकाशित गरिदिएको यो ‘सपनाको उडान’ उपन्यास सामाजिक विषयवस्तुमा आधारित छ । यसमा मझौला खालका जम्मा अठ्ठाईसवटा खण्डहरु छन् । यसले जम्मा २४८ पृष्ठको आयाम ओगटेको छ । यसमा पवन शर्मा नामक पात्रले म पात्रका रुपमा उभिएर आफ्नो बाल्यकालदेखिको जीवनयात्रा वर्णन गरेको छ, त्यसैले यो प्रथम पुरुष शैलीमा लेखिएको उपन्यास हो ।

‘सपनाको उडान’ उपन्यासको आख्यानतन्तु

‘सपनाको उडान’ उपन्यास सामाजिक विषयवस्तुमा आधारित उपन्यास हो । एउटा मध्यम वर्गीय परिवारमा जन्मिएको पुरुषले जीवनमा देख्ने सपनाको वरिपरि यसले विचरण गरेको छ । यसमा प्रेम मुख्य रुपमा आएको छ भने जीवनका आरोह–अवरोह यसको मुख्य तन्तु बनेको छ । यसभित्र नेपालीहरुले पढ्नका लागि गर्नुपर्ने सङ्घर्ष, अमेरिका जानका लागि नेपालीले अपनाउने दोस्रो बाटोको सन्दर्भ, अमेरिकाको नेपाली जीवनशैली, लागूऔषधको दुरुपयोगको चित्रण, विदेशमा नेपाली ठगिने सन्दर्भ आदि पनि चित्रण गरिएका छन् । अमेरिका पस्न सहज तरिकाले भिसा नमिलेपछि दोस्रो बाटो अपनाई पस्नेहरुले भोग्ने दुःख र हुने खर्चलाई पनि यो उपन्यासले यसरी उतारेको छ :

“उबरवाला दाइ बुटवलका रहेछन् । उनको रमाइलो गफ सुन्दै गर्दा बाटो काटेको थाहै भएन । उनी पाँच वर्ष पहिले तल्लो बाटोबाट अनेक दुःखकष्ट सहेर मोटो रकम दलाललाई बुझाएर आएका रहेछन् । उनले आफ्नो दर्दनाक कहानी सुनाए । मेक्सिकोको जंगलमा त्यहाँको पुलिसले लखेट्दै लगेको कहानी सुनाउँदा म डरले कापेँ । पुलिसले डोरीले बाँधेर घिसार्दै लगेको र खुट्टाको छाला च्यातिएको कहानी सुनाए । तीन महिना जेलमा बस्दा धेरै पटक पानी समेत नपाएर आँसु पिएर सुतेको कहानी पत्रिकामामा मात्र पढेको थिएँ । उनले त्यो आफैँले प्रत्यक्ष भोगे ।” (पृ. २३६)

अमेरिका पस्न गाह्रो छ, अझ त्यहाँ पसिसकेकाहरुलाई ग्रीनकार्ड लिएर स्थायी बसोबास गर्न त्योभन्दा पनि निकै गाह्रो भएको सन्दर्भलाई यसले मार्मिक रुपमा चित्रण गरेको छ । त्यसका लागि अमेरिकाको ग्रीनकार्ड भएका गोरा होस् कि काला होस् कसैसँग पेपर म्यारिज गर्ने वा नेपाली मूलका अमेरिका बसेका युवतीसँग साँच्चै विवाह गर्नेजस्ता उपाय भएको कुरा म पात्रको साथी विनोदले भुटानी मूलकी केटीसँग गरेको विवाह र म पात्रले एश्लीसँग गर्न खोजेको कागजी विवाहलाई लिन सकिन्छ । हेरौँ साक्ष्य :

१) हुन पनि विनोदको जीवनमा सोचेको जस्तै एउटी भुटानी केटी आई । विनोदलाई चिट्ठा नै पर्‍यो भन्ने लाग्छ मलाई, एकदमै राम्रो परिवारकी केटी पाए उनले । पढेकी र राम्रो संस्कारमा हुर्किएकी उनी पेन्सिलभेनिया प्रान्तको पिट्सवर्ग सहरमा राम्रो परिवारका साथ बस्थिन् । (पृ. १३६–१३७)
२) मैले मेरो प्रस्ताव विस्तारमा सबै भनेँ । उसले सुनिरही । उठ्ने बेलामा उसले राम्रै रकमको माग गरी । पन्ध्र हजार डलर । मेरो लागि यो सानो रकम थिएन तर मलाई अब जसरी पनि अमेरिका बस्नु थियो अतः विकल्प थिएन । (पृ. १४२)

यसको मुख्य विषयवस्तु प्रेम हो । म पात्र प्रेममा परेको कारण प्रेमिकाको करमा अमेरिका गएका हुन्छन् । तर प्रेमिकालाई कन्सुलरले बिनाकारण अमेरिकाको भिसा अस्वीकार गरिदिएपछि उनी तनावमा परेर दुर्घटनामा पर्छिन् । त्यति मात्र होइन, अब कहिल्यै अमेरिका नजाने निर्णय गर्छिन् । यसरी प्रेमिकाले अमेरिका नजाने अड्डी कस्ने र म पात्रले बडो दुःखले अमेरिकाको ग्रीनकार्ड पाएका कारण केही समय तनाब हुन्छ । अन्त्यमा अमेरिकाको बसाइलाई सदाको लागि टुङ्ग्याएर प्रेम र परिवारका खातिर नेपाल फर्किएको कुरा यसरी देखाएको छ ः
“अमेरिकामा मैले पनि आफ्नो एउटा छाप त छोडेकै थिएँ नि । त्यसैले वरपरका छरछिमेकी साथीभाइहरुले मलाई बडो कष्टले पाएको ग्रीनकार्ड त्यागेर सजिलै नेपाल फर्कन लागेको देखेर गाली गर्न थाले । म कसैको गालीले गल्ने वाला थिइनँ । छोराले निर्णय गरेपछि गर्‍यो, गर्‍यो ।” (पृ. २१२)

यसरी चितवनमा जन्मेको पवन शर्मा अर्थात् म पात्रले अध्ययनको सिलसिलामा काठमाडौँको अमृत साइन्स कलेजबाट आइ.एस्सी. उत्तीर्ण गरेको, त्यसपछि अमेरिका गएको, त्यहाँ करिब एक दशकसम्म बसेको, त्यहाँ विभिन्न खालका सङ्घर्ष गरेको, साथीको सङ्गतमा परेर लागूऔषधीको दुर्व्यसनी समेत भएको, साथी विनोदले उद्दार गरेको, प्रेमिकाको आग्रह र घरको दवावका कारण अमेरिका छाडेर नेपाल फर्किएको सन्दर्भ यो उपन्यासमा आएको छ । उपन्यासको भाषा सरल छ । वर्णन सरल र सहज छ ।

‘सपनाको उडान’ उपन्यासका सबल र दुर्बल पक्ष

‘सपनाको उडान’ उपन्यासकार ज्ञानहरि घिमिरेको पहिलो कृति हो । ‘सपनाको उडान’ एउटा आशावादी उपन्यास हो । यसमा प्रेमको जित देखाइएको छ । प्रेमकै कारण पढाइमा उन्नति गरेको म पात्र अमेरिका गएर त्यहाँको ग्रीनकार्ड पाएर पनि सहजै त्यागेर नेपाल फर्केको देखाउनु यसको सबल पक्ष हो । यस्तो कमै मात्र हुन्छ, तर असम्भव भन्ने कुरा केही छैन भन्ने कुरा पुष्टि गरिएकाले यो उपन्यास आशा जगाउने मात्र होइन, माटोप्रतिको प्रेम जगाउन पनि उत्तिकै सफल छ ।
‘सपनाको उडान’ उपन्यासकार ज्ञानहरि घिमिरेको पहिलो कृति त्यसमा पनि यो उपन्यास हुनुले यसको महत्व राख्छ । उपन्यास पढ्दा जति मज्जा आउँछ, लेख्न भने त्यति सजिलो कहाँ छ र ? यसमा भाषिक कसरमसरहरु प्रशस्त छन् । पवनजस्तो वैचारिक रुपमा परिपक्व पात्रलाई पनि लागूऔषधीको दुव्र्यसनी भएको देखाउनु यसको खराब पक्ष हो । यति हुँदाहुँदै पनि उसको उद्दार भएको देखाइकाले यसमा कमी कमजोरी कम छन् ।

केही शब्द समापनका

आफ्नो जीवनमा गणितजस्तो निरस विषय पढेका र केही समय पढाएका स्रष्टा ज्ञानहरि घिमिरे अमेरिकाजस्तो सदा व्यस्त रहने ठाउँमा बस्ने व्यक्ति भएर पनि साहित्यमा लागिपरेका छन् । पहिलो कृति नै उपन्यास लिएर नेपाली भाषा साहित्यको सेवामा लागिपर्नु उनको निकै सुन्दर पक्ष हो । पहिलो कृति लेख्न कोभिडको महामारी कुर्न परेको भए पनि दोस्रो कृति भने फुर्सदको समय निकालेर उनी लागिपरुन् । ज्ञानहरि ज्ञानको फिलिङ्गो बनून्, उनी अब साहित्यबाट कहिल्यै पर नहटून्, छिट्टै उनको दोस्रो कृति पढ्न पाइयोस् । यिनै शुभ वचनका साथ यो कृतिको सफलताको कामनासहित कलम रोक्छु । शुभमस्तु ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट