रमेश सायनको ‘अन्तर’ माथि मन्थन

पद्मश्री साहित्य पुरस्कार २०७५ वाट सम्मानित आख्यानकार रमेश सायनको पहिलो उपन्यास हो अन्तर । पहिलो कृति भागेर भुगोलभरि कवितासंग्रह हो । नेपाली साहित्यका वहुविधाका शिल्पी रमेश सायनको कवितामा प्रेमप्रणयदेखि वर्गचेतनासम्म पोखिएको पाइन्छ । जसलाई सायनले उपन्यासमा पनि भरपुर प्रयोग गरेका छन् ।

अन्तर उपन्यासमा लैंगिकता, यौनिकताका भिन्नभिन्न भोगाई प्रस्तुत गरिएको छ । अन्तर उपन्यासमा महिला पुरुष जस्तै समलिंगीको पनि छुट्टै पहिचान हुनुपर्ने कुरा सशक्त रुपमा उठाइएको छ ।
उपन्यासका मुख्य पात्र ‘शब्द’, सन्यासी र गोमा दिदी बाहिर देख्दा पुरुष र महिला हुन् तर उनीहरुमा विपरीत लिंगीप्रतिको आर्कषण देखिँदैन । विवाह गरेपनि श्रीमान् छाडेर माइतै बसेकी गोमा दिदी होस या स्कूलय जीवनमा जवजस्त अनुजालाई प्रेम गर्न कस्सिएको शब्द कहिल्यै विपरीत लिंगीप्रति आकर्षित देखिएन । उल्टै शब्द त आफ्नो साथी अमनसँग बढी सुखभोग गर्छ । प्रेमिका अनुजाले स्पर्श गर्दा समेत पीडाबोध गर्ने शब्द अमनसँग स्पर्श मात्रै हैन समलिंगी रतिकृयाको कल्पना गर्दा मात्रै पनि आनन्द महसुस गर्छ ।

उपन्यासकै शब्दलाई सापटी लिने हो भने शब्दकालागि अनुजासँगको सम्बन्ध अमिलो पिरो नुनिलो टर्रो छ । तर अमनसँगको सम्बन्ध गुलियो र मिठो छ । शब्द बोकामाथि बोका चढ्दा खुसी हुन्छ । झिंगाको सहवासमा भालेभालेको सम्बन्ध अनुमान गर्छ तर कुकुर र कुकुर्नीबिचको प्राकृतिक सम्बन्धलाई उ फरक दृष्टिले हेर्छ । स्कूले जीवनमा अमनले स्वस्थानीसंग गरेको प्रेमलाई डाहाका दृष्टिले हेर्छ । यतिसम्म कि स्वस्थानीले अमनलाई अमनले स्वस्थानीलाई दिएको पत्र समेत बिचमा हुलाकी बनेको शब्दले गायब गराउँछ । आफू भने अमनसँगको स्पर्शमै रमाउँछ । यो सब समलिंगीको स्वभाव उपन्यासमा चित्रण गरिएको पाइन्छ ।

एउटा समलिंगीले घर, समाज कलेजमा छक्का र गेका नाममा कस्तो विभेद भोगिरहेको छ भन्ने कुरा देखाउन उपन्यासकार यस उपन्यासमा सफल भएका छन् । उपन्यासको अझै बलियो पक्ष अधिकारकै क्षेत्रमा क्रान्तिकारी कुरा गर्ने आफ्नै बालसखा अम्बिका, जो त्रिभुवन विश्वविद्यालय पढ्दाकी पनि साथी हुन्छे । उ नै समलिंगीका सवालमा कडा विभेदकारी बनेकी छे । उपन्यासमा मानिस बाहिरी र भित्री रुपमा फरक हुन्छ भन्ने देखाइएको छ ।

उपन्यासमा शब्द मूल पात्र हुन् तर हिरो अमन हुन् । जसले शब्दलाई हरेक समस्यामा साथ दिएको छ । शब्दका लागि अगाडिको बाटो देखाएको छ । उपन्यासमा बहुलाको भुमिकामा देखिएको हर्षमा, रोमन, नविन, विनोद, उर्वसी, शब्दका बुबा श्याम अर्थात् हुलाकी बा, आमा शर्मिला लगायतका पात्रहरुको भूमिका आआफ्नो ठाउँमा सशक्त छन् ।

नेपाली समाजमा विद्यमान लैंगिक विभेद र त्यसमा पनि समलैंगिता आजसम्म पनि सर्वस्वीकार्य नरहेको अवस्थामा यसबारे खुलेर बहस गर्नुपर्ने राज्यको नीति निर्माण तहले यो विषयलाई विषायन्तर गर्न नहुने कुरा उपन्यासमा सशक्त रुपमा उठाइएको छ । लेखन भाषा सलल बगेको छ । ठेट नेपाली भाषा र बोलीचालीका भाषाले उपन्यासमा मिठास थपेको छ ।
यति भन्दै गर्दा उपन्यासमा मलाई केही कुरा अल्लि नभैदिएका भए हुने भन्ने पनि लाग्यो । कुकुरको रतिक्रिडा पारदर्शी ढंगले देखाइएको छ । त्यसलाई अल्लि परिवारमा बाबु, छोरी, आमा, छोरा बसेर पनि पढ्न सक्ने बनाउन सकेको भए सुनमा सुगन्ध हुने थियो । उपन्यासमा शब्दलाई गाँजाको कुलतमा फसाउनु र कुलतबाट निकालिनु अनि गाँजाको कुलतमा पनि कलेजमा पहिलो हुनु अस्वाभाविक देखिन्छ ।

मलाई उपन्यास दोस्रो संस्करणमा जाँदै गर्दा यो प्रसंग सुहाउँदो गरी व्यावहारिक बनाउनु पर्छ भन्ने लाग्छ । उपन्यासमा महिला पात्रहरु कमजोर देखिएका छन् । क्रान्तिकारी देखिएकी अम्बिका पनि उपन्यासले उठाउन खोजेको मूल मुद्दा समलिंगीको सवालमा हेर्ने दृष्टिकोणमा कमजोर देखाइयो । कमसेकम अनुजालाई शब्दसँगै राखेर आफ्नो कदममा सहयोगी बनाउनु पर्थ्यो । माओवादी आन्दोलनमा जोडेर अनावश्यक तन्काइयो । अझै उपन्यासकार त यो उपन्यासमा कडा माओवादी नै हुन् कि भन्ने देखियो । अनुजालाई सहिद मानिनु, उसले गरेको सशस्त्र विद्रोहलाई मुक्तिको संज्ञा दिनु, डाक्टर बाबुराम भट्राईलाई ठाउँठाउँमा उदाहरणीय पात्र मान्नु उपन्यासकारको दृष्टिकोण माओवाद हो भन्ने प्रष्ट देखिएकोे छ ।

समलिंगीको आत्मसम्मान, पहिचान र आफ्नै अस्तित्व कायम गराउने उपन्यासको जुन उद्देश्य हो त्यसमा उपन्यासकार सफल भएको मान्नुपर्छ । देखिँदा पुरुष र महिला जस्ता देखिए पनि छक्का, गे वा समलिंगी जे भने पनि उ सामान्यभन्दा अन्तर छ भन्ने देखाउन उपन्यास सफल सावित भएको छ । यसले उपन्यासको नाम अन्तर रहेको सार्थकता पनि देखाउँछ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट