भरतपुर, ४ साउन ।
भरतपुर महानगरपालिका–१२ मा रहेको ग्रिनल्याण्ड पब्लिक स्कुल सिंगापुरबाट प्रदान गरिने ‘इनोभेटिभ स्कुल अवार्ड २०२३’ बाट सम्मानित भएको छ ।
एक्जिटो एजुकेसन अष्ट्रेलियाको आयोजनामा सिंगापुरमा सम्पन्न एक्जिटो इन्टरनेशनल एक्सिलेन्स अवार्ड कार्यक्रममा ग्रीनल्याण्डले ‘इनोभेटिभ स्कुल अवार्ड २०२३’ प्राप्त गरेको हो । कार्यक्रममा नेपालको शिक्षा क्षेत्रमा योगदान दिएका ३३ स्कुल र स्कुल सञ्चालक सम्मानित भएका थिए । सोही अवसरमा ग्रिनल्याण्डले उक्त अवार्ड प्राप्त गरेको हो ।
स्कुलकी प्राचार्य इन्दिरा पन्त कार्की उक्त अवार्डबाट सम्मानित भइन् । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार कार्की पनि सहभागी थिए । शिक्षा क्षेत्रको विकासमा विद्यालयले पुर्याएको योगदानको मूल्याङ्कन गर्दै आयोजकले इनोभेटिभ स्कुल अवार्डबाट सम्मान गरेको प्राचार्य कार्कीले जानकारी दिइन् ।
यो अवार्ड समग्रमा चितवनकै विद्यालयहरुको लागि गौरवको विषय भएको उनको भनाइ छ । शिक्षक, विद्यार्थी, अभिभावक सबैको योगदानका कारण विद्यालयले यो उपलब्धि हासिल गरेको उनले बताइन् । कार्यक्रममा नेपालभरीबाट छनोटमा परेका विभिन्न स्कुल, कलेज तथा तिनका सञ्चालकहरुलाई शिक्षा क्षेत्रको विकासमा पुर्याएको योगदानको कदर गर्दै अवार्ड प्रदान गरिएको थियो ।





