कवि विवेकी लेखपढबाहेक सारा कामधाम छोडेर, साथीहरुको सङ्गतबाट टाढा रहेर, पारिवारिक मोहबाट मुक्त रहेर एकान्त जीवन गुजारिरहेका पूर्णतः कवि व्यक्तित्व हुन् । उनले कविता कोर्न थालेको करिब साँढे तीन दशक पुगिसक्यो । यति लामो साधना गरेका उनको कम्तीमा आधा दर्जन कविता कृति प्रकाशित भइसक्नुपर्ने हो । जेहोस्, हालसालै उनको ‘चस्मा’ नामको एउटा कविताको कृति निस्किएको छ । यो कृतिको अपार सफलताको कामना गर्दछु ।
उठान
कवि विवेकीलाई म वि.सं. २०४५ तिरदेखि नै चिन्छु । चितवन साहित्य परिषद्ले मासिक रुपमा नियमिति तरिकाले गर्ने कवितावाचन कार्यक्रममा उनको नियमित उपस्थिति हुन्थ्यो । त्यतिबेला उनका कवितामा विभत्स रसको ज्यादा प्रयोग भएको पाइन्थ्यो । उनी आफ्ना कवितामा कतै न कतै क्रुर शासक ‘इदि अमिन’को बिम्ब उतारिहाल्थे । त्यो क्रम करिब एक दशक जति चल्यो । त्यसपछि एकाएक रङ्गमञ्चबाट विवेकी हराए । हराएको साँढे दुई दशकपछि उनी ‘चस्मा’ लिएर हामी माझ देखापरेका छन् ।
चितवनको भरतपुर–४ मा स्थायी बसोबास गर्ने क्रियाशील कवि विवेकीकोे जीवनकै पहिलो कृति हो, चस्मा कवितासङ्ग्रह (२०८०) । कविता लेखनमा करिब साँढे तीन दशक समय बिताइसकेका एकान्तसाधक विवेकीले सुरुका दिनमा चन्दप्रकाश ‘विवेकी’का नामबाट कविता लेख्ने गर्थे भने कविताको सङ्ग्रह निकाल्ने बेलामा भने केवल विवेकी मात्र राखेका छन् । उनी प्रगतिशील चेतना भएका सधैँ सत्ताको विरोधमा उभिने कवि हुन् । उनको कवितामा सत्ताको समर्थन गरेको पाइँदैन ।
‘चस्मा’ कवितासङ्ग्रहमा प्रतिबिम्बित भाव
भरतपुर महानगर प्रज्ञाप्रतिष्ठानको थोरै आर्थिक सहयोगमा लेखक स्वयम्ले प्रकाशित गरेको चस्मा कवितासङ्ग्रहमा समसामयिक जीवनका विविध खालका भावहरू समेटिएका छन् । कूल १३६ पृष्ठको आयाममा फैलिएको यो कृतिमा समाजमा विद्यमान विविध विषयवस्तुका ५५ वटा कविताहरु समेटिएका छन् । आजको अभावग्रस्त जीवन, जीवनको निस्सारता, आजीविकाको सन्दर्भ, संस्कृतिमा पाइने विविधता, व्यक्तिचित्रण, अस्तित्वचेत, देशप्रेम, व्यङ्ग्यात्मकता, जीवन र दर्शन आदि यो कृतिका मूल भावहरु हुन् ।
यहाँ कवि विवेकीको ‘चस्मा’ कवितासङ्ग्रहका कविताले उठाउन खोजेको सन्दर्भ अर्थात् भावगत सौन्दर्यलाई निम्न साक्ष्यका आधारमा समीक्षा गरिएको छ :
कवि विवेकी प्रगतिशील चेत भएका कवि भएर पनि जीवनको निस्सारतामा रमाइरहेका कवि हुन् । उनको कवितामा जीवनको निस्सारता यसरी चित्रित भएको पाइन्छ :
आजसम्म पनि
सोच्नै नभ्याई जीवनको रङ
पाकेको हो यो जीवन । (रङ, पृ. १२४)
अन्य कविजस्तै विवेकीमा पनि देशप्रेम छताछुल्ल भएको पाइन्छ । उनी माटोविहीनहरुको सन्दर्भ उठाउँदै देशप्रेमको कुरा गर्छन्, हेरौँ एउटा नमुना :
थाहै नपाई भूगोलबाट
हराउँदोरहेछ एउटा प्रदेश
जब हराउँछ मनमा माटोप्रेम । (अस्तित्वपीडा, पृ. १४)
कवि विवेकी अस्तित्वचेत भएका कवि हुन् । मानवीय अस्मिताको खोजी गर्दै उनी यसरी कवितामा अभिव्यक्त हुन्छन् :
म पर्खिरहेछु
समयचेत फर्केर कहिले बेदाग बन्छ स्वाभिमान ?
जोडिएर सम्पूर्णतामा प्राप्त हुन्छ अस्मिता ? (देश दुखेको दिन, पृ. ८)
कविमा हुने एउटा प्रवृत्ति भनेको व्यङ्ग्यात्मकता पनि हो । कवि विवेकीका कवितामा पनि व्यङ्ग्यात्मकता पाइन्छ । हेरौँ एउटा नमुना :
जबसम्म ऊ सडकमा थियो
कुर्सीमा फोहरैफोहर देख्यो
कुर्सी पाउनेबित्तिकै उसले
सडकमा फोहोर मात्र देख्न थाल्यो । (दृष्टि, पृ. १३२)
नेपाल विविध जातीय संस्कृति भएको मुलुक हो । चितवनमा हेर्ने हो भने पहाडी भूभागमा चेपाङ जाति रैथाने जातिका रुपमा बस्दै आएका छन् । तर तिनलाई हेर्ने सम्भ्रान्तहरुको दृष्टिकोण खराब छ । उनीहरु चेपाङलाई सधैँको गरिब र अभावमा बाँचेका व्यक्तिका रुपमा लिने गर्छन् । त्यसको विरोधमा चेपाङ कसरी बोल्छ भन्ने कुराको चित्रण कवि यसरी गर्छन् :
म चेपाङ
दुःखको चक्रव्यूहबाट तिमीलाई भन्दैछु
सुन महाशय,
म तिमीलाई मन पराउँदिन
कारण स्पष्ट छ
कमजोरलाई दबाइरहने
बलियालाई खुसामद गरिरहने
तिम्रो ‘सभ्यता’बाट
आजित
अलग इतिहास हूँ । (म चेपाङ, पृ. १११)
कवि विवेकीले आफ्ना कवितामा व्यक्तिचित्रणलाई पनि स्थान दिएका छन् । उनी कवितामा सडकछेउमा जुस बेचिरहेकी मनमायाको चित्रण यसरी गर्छन् :
सहरको व्यस्ततादेखि पर
यहीँको रमिताशास्त्रबाट मौन
मनमाया एकचित्त भएर
जुस बेचिरहेकी छिन् । (जुस पिइरहेको मानिस, पृ. १०८)
कवि विवेकीले आफ्नो कवितामा समकालीन आजीविकाको प्रसङ्गलाई उठाएका छन् । देशमा जे भएपनि गरिखाने वर्गलाई त्यति वास्ता नहुने कुरालाई उनको कवितामा यसरी चित्रण गरिएको पाइन्छ :
जतिसुकै गरुन् सभामा भाषण
जतासुकैबाट आऊन् कार्यकर्ता
फरक पर्दैन रामविलास मल्लिकलाई
उसको चटपट बिके पुग्छ । (रामविलासको खुसी, पृ. ६४)
देशमा विभिन्न खालका परिवर्तनहरु भएका छन् । तर ती परिवर्तन कुन दिशामा गएको छ ? समकालीन जीवन कतातिर उन्मुख छ ? शासकहरु कतातिर लम्किरहेका छन् ? भन्ने अहम् प्रश्नलाई पनि कविले कवितामा यसरी उठाएका छन् :
मानौँ, मर्निङवाकमा
सबैसबै छन्
सानो एउटा संसार छ अलग पहिचानको
तर वर्षाैंदेखि जर्जर बिरामी चिन्तनले तन्नम
व्यवहारले आडम्बरग्रस्त
मेरो देशको शासक
किन कहिल्यै
मर्निङवाकमा निस्किँदैन ? (सहरको रमिता, पृ. ७३)
कवि विवेकी दार्शनिक चेतनाले बेस्सरी गाँजिएका कवि होइनन्, तर पनि उनका कवितामा कतैकतै जीवन र दर्शन पनि मुखरित भएको पाइन्छ । हेरौँ एउटा नमुना :
यो चस्माबाट
त्यस्तो केही नदेखिएपछि
मलाई यथाशीघ्र मुक्ति चाहिएको छ । (चस्मा, पृ. १०७)
बैठान
कवि विवेकीको ‘चस्मा’ शीर्षक राखिएको यो कृतिको शीर्षक नै प्रतीकात्मक छ । त्यसो त चस्मा भनेको आँखा देखाउन सहयोग गर्ने वस्तु हो । यसले पावर भए सोही अनुसार दृश्य देखाउँछ भने रङ भए पनि त्यस्तै देखाउँछ । तर प्रतीकात्मक रुपमा चस्मा भनेको विचार वा दर्शनको प्रतीक हो । हामी एक खालको चस्मा लगाएर सारा समाजको विश्लेषण गर्न अघि सर्छौं, त्यसो गर्दा हाम्रो विश्लेषण कतिपय अवस्थामा गलत पनि हुन पुग्छ । यही कुराको चित्रण विवेकीले आफ्नो कृतिमा गरेका छन् ।
कवि विवेकी लेखपढबाहेक सारा कामधाम छोडेर, साथीहरुको सङ्गतबाट टाढा रहेर, पारिवारिक मोहबाट मुक्त रहेर एकान्त जीवन गुजारेका व्यक्ति हुन् । उनी बुबासहित दाजुको संयुक्त परिवारमा बस्छन् । उनले दाजुको परिवारलाई नै आफ्नो परिवार ठान्दै आएका छन् । यसरी एकान्तिक तबरले कविताको सिर्जनामा तल्लीन व्यक्ति भएकाले उनका कवितामा जीवनको निस्सारता ज्यादा पाइनु स्वाभाविक हो । उनले कविता कोर्न थालेको करिब साँढे तीन दशक पुगिसक्यो । यति लामो समयमा उनका कम्तीमा आधा दर्जन कविता कृति प्रकाशित भइसक्नुपर्ने हो । जेहोस्, हालसालै उनको एउटा कविताको कृति निस्किएको छ । यो कृतिको अपार सफलताको कामना गर्दै छिट्टै अर्को कृति निस्कोस् भन्ने कामना र शुभेच्छासहित कलम रोक्छु । शुभमस्तु ।
(समीक्षक प्रभात वीरेन्द्र बहुमुखी क्याम्पस, भरतपुरका उपप्राध्यापक हुन् ।)





