आजदेखि महिला विश्वकप फुटबल

मेलबर्न, अस्ट्रेलिया ।
महिला विश्वकप फुटबल प्रतियोगिता बिहीबार सुरु हुँदैछ ।
नवौं महिला विश्वकप न्यूजिल्याण्ड र अष्ट्रेलियाले संयुक्तरुपमा आयोजना गर्दैछन् । अमेरिका पुनः विश्वकप उपाधिको प्रमुख दाबेदारका रूपमा रहेको छ । अमेरिका ह्याट्रिक उपाधिको दाउमा छ । अमेरिकालाई सधैँजसो युरोपका फुटबल शक्ति राष्ट्रहरू र ब्राजिलले चुनौती पेस गर्ने छन् ।

अस्ट्रेलिया र न्युजिल्यान्डमा हुने विश्वकपमा पहिलो पटक ३२ टिम सहभागी छन् । जसमध्ये धेरै टिमले यी दाबेदार राष्ट्रलाई स्तब्ध पार्ने विश्वास गरिएको छ । यीमध्ये सबभन्दा अगाडि जापानको नाम आउँछ । जापान सन् २०११ को विश्व विजेता पनि हो । सो समय जापानलाई सेमिफाइनलसम्म पुग्ने टिमका रूपमा पनि लिइएको थिएन तर भूकम्प र सुनामीले थलिएको जापान दाबेदार अमेरिकालाई टाइब्रकेरमा स्तब्ध पारेर विश्व च्याम्पियन बन्यो । जापान महिला विश्वकप फुटबलको उपाधि जित्ने एसियाको एक मात्र राष्ट्र पनि हो । जापानसँग हारेपछि अमेरिकालाई अहिलेसम्म विश्वकप महिला फुटबलमा कसैले पराजित गर्न सकेको छैन ।

अमेरिकाका प्रशिक्षक भ्लाट्को एन्डोनोभ्स्कीका अनुसार सन् २०११ मा जापानले चमत्कार गरे जस्तै यस पटक महिला विश्वकपमा सनसनी मच्चाउन सक्ने धेरै टिम छन् । उनले जाम्बियातर्फ सङ्केत गरे । हालै मैत्री खेलमा जाम्बियाले जर्मनीलाई स्तब्ध पारेको यिथो । जर्मनी सन् २००३ र २००७ को विजेता हो । महिला विशवकपमा वरीयतामा शीर्ष दसमा रहेका सबै टिम उत्तिकै बलिया छन् तर वेल्स, भियतनाम, जाम्बिया, पोर्चुगलजस्ता टिम पनि कम छैनन् । विगतमा जस्तो महिला विश्वकपमा ७–०, ८–० को नतिजा निस्कने दिन अब गए । हालै जाम्बियाले जर्मनीलाई ३–२ ले हरायो । यस्ता स्तब्धकारी नतिजा विश्वकपमा पक्कै दोहोरिने छन्, प्रशिक्षक एन्डोनोभ्स्की भन्छन् ।

क्यानडालाई उपाधि दाबेदारमध्ये एक नै मानिएको छ । टोकियोमा भएको ओलम्पिकमा सबैलाई चकित पार्दै महिला फुटबलको स्वर्ण पदक जितेपछि क्यानडालाई यस विश्वकपमा ठुलो भाउ दिइएको छ । यसपालि आठ टिम आयरल्यान्ड, भियतनाम, जाम्बिया, हाइटी, मोरक्को, पनामा, पोर्चुगल र फिलिपिन्सले पहिलो पटक विश्वकप खेल्दै छन् ।

खेलभन्दा ठुलो

विश्वकप फुटबल महिला खेलाडीका लागि खेल मात्र होइन । यो उनीहरूका लागि असमानता, मानव अधिकार र सामाजिक मुद्दाबारे आफ्नो कुरा राख्ने मञ्च पनि हो । चार वर्षअघि फ्रान्समा भएको महिला विश्वकपमा अमेरिकी खेलाडीले पुरुषसरह तलबको माग गरेका थिए । जसलाई हरेक खेलमा रङ्गशालामै समर्थकले पूर्ण समर्थन गरेका थिए । जुन माग गत वर्ष पूरा पनि भयो ।

त्यसको सिको गर्दै अन्य टिमले पनि राम्रो तलब र सुविधाको माग गरे । पछिल्लो संस्करणमै महिला फुटबलरले यस पटकको महिला विश्वकपमा पुरुषसरह पुरस्कार रकम हुनुपर्ने अभियान चलाएका थिए । उनीहरूले समान पुरस्कार रकम मात्र होइन, पुरस्कार रकमको केही प्रतिशत सिधै खेलाडीले पाउनुपर्ने मागसमेत गरेका थिए ।

फिफाले पुरुष विश्वकपको पुरस्कारसँग बराबरी नगरे पनि सन् २०१९ मा फ्रान्समा भएको महिला विश्वकपको भन्दा यस पटक तीन गुणाले पुरस्कार रकममा वृद्धि गरेको छ । यसैगरी फिफाले गत जुनमा केही रकम सिधै खेलाडीको हात पुर्‍याउने निर्णय पनि गरेको छ । जुन निर्णयअनुरूप यसपालि फिफा महिला विश्वकपमा खेल्ने सबै ७३२ खेलाडीले कम्तीमा ३० हजार डलर पाउने छन् । प्रतियोगितामा टिम अगाडि बढेसँगै खेलाडीको व्यक्तिगत पुरस्कार रकम पनि बढ्ने छ । महिला विश्वकप जित्ने टिमका २३ खेलाडीले जनही दुई लाख ७० हजार डलर प्राप्त गर्ने छन् ।

मार्टा र सिन्क्लियरको छैटौँ विश्वकप

क्यानडाकी क्रिस्टिन सिन्क्लियर र ब्राजिलकी मार्टाले छैटौँ पटक विश्वकपमा सहभागिता जनाउँदै छन् । ४० वर्षीय सिन्क्लियरले क्यानडाका लागि ३२३ खेलमा १९० गोल गरेर पुरुष र महिला फुटबलमै सर्वाधिक अन्तर्राष्ट्रिय गोलकर्ताको कीर्तिमान बनाएकी छन् । ३७ वर्षीय मार्टा छ पटक फिफा विश्वकी सर्वश्रेष्ठ महिला फुटबल बनिसकेकी खेलाडी हुन् । उनले पनि ब्राजिलका लागि १७४ खेलमा ११५ गोल गरेकी छन् । विश्वकपमा मार्टा १७ गोलसहित सर्वाधिक गोलकर्ता हुन् । उनी अब विश्वकपको छ संस्करणमा गोल गर्ने विश्वकै पहिलो खेलाडी बन्ने अभियानमा रहेकी छन् ।

यी दुई मात्र होइन नाइजेरियाकी ४० वर्षीय ओनोमे इबीले पनि छैटौँ पटक विश्वकप खेल्दै छन् । सिन्क्लियरभन्दा एक महिनाले जेठी इबी यस विश्वकपकी सर्वाधिक उमेरकी खेलाडी हुन् । यस विश्वकपमा दक्षिण कोरियाकी कासी फायरलगायत १६ वर्षका पनि चार खेलाडीले खेल्दैछन् । पहिलो दिन न्युजिल्यान्ड र नर्वे तथा अस्ट्रेलिया र आयरल्यान्डबिच खेल हुने छ । एपी

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट