आदरणीय गुरुवर्ग, सम्बन्धित कार्यालय, सम्बन्धित व्यक्तित्व ‘ग्लोबल वार्मिङ’ (विश्व तापमान) वृद्धिका कारणले गर्मी हरेक वर्ष बढिरहेको छ । यसले मान्छेको सामान्य दैनिकी बिथोलिएको छ । चितवनलगायत तराईका जिल्लामा वर्षको ८ महिना गर्मी महसुस हुन्छ । सामान्य दैनिकी त अप्ठ्यारो भइरहेको यी ठाउँमा दिनभर स्कुल कलेजमा बिताउनुपर्ने विद्यार्थीहरूको दैनिक कति कष्टकर भइरहेको होला भन्नेमा हामीले पर्याप्त ध्यान दिन सकेका छैनौँ । यी ठाउँमा अब स्कुल कलेजले आफ्ना कार्यक्रम तथा नीति नियममा समयानुकूल हेरफेर गर्न अत्यावश्यक भइसकेको छ । हाम्रा बाबुनानीको दैनिकी सजिलो बनाउन र पढाइमा ध्यान बढाउनका लागि गर्न सकिने केही उपायहरू यहाँ प्रस्तुत गर्ने जमर्को गरेकी छु ।
पोशाक–
उखरमाउलो गर्मीमा विद्यालयले विद्यार्थीलाई हल्का तौल र सास फेर्न सक्ने कपडा लगाउन अनुमति दिनुहोस् । विद्यालयहरूले हाउस ड्रेसका नाममा बाक्ला पोल्ने खालका लुगालाई अनिवार्य नगरिदिनुहोस् । त्यसको सट्टा हल्का सुतिका लुगाहरु लगाउने व्यवस्था गरिदिनुहोस् । यस्ता लुगाहरूले तिनीहरूलाई आरामदायी राख्न मद्दत गर्न सक्छ । जबसम्म शरीरले आराम महसुस गर्दैन तबसम्म पढाइमा मन जाँदैन ।
जुत्ता-माेजा- यो गर्मीमा बिहान १० बजेबाट ४ बजेसम्म लगातार ऊनीको मोजा र जुत्ता लगाएर हेर्नुहोस्, तपाईंलाई कति अफ्ठ्यारो हुन्छ । कलिला बालबालिकालाई ४० डिग्रीको गर्मीमा अनिवार्य जुत्ता–मोजा लगाउन लगाएर हामीले कुन अनुशासन सिकाइरहेको छौँ ? यो जुत्ता र मोजा यहाँको कुनै पनि हिसाबले वातावरणमैत्री छैन । यस्तो गर्मीमा जुत्ता–मोजा अनिवार्य गरेर हामीले शिक्षा दिइरहेका छौँ कि यातना ? विचार गर्नुपर्ने बेला भइसकेको छ ।
समायोजित समयतालिका
समय अब परिवर्तन भइसकेको छ । अब पहिलाको जस्तो बेलुका कक्षा सञ्चालन गर्न नसक्ने अवस्था छैन । त्यसैले अत्यधिक गर्मी हुने महिनामा विद्यालयका कक्षा सञ्चालन तालिका परिमार्जन गर्नुहोस् । सकेसम्म बिहानी वा बेलुकाको समयमा विद्यालय सञ्चालन गर्ने व्यवस्था मिलाउनुहोस् । यदि यसरी समस्या पर्ने भए कम्तीमा कलिला बालबालिका (नर्सरीदेखि कक्षा ५ सम्म) पढ्ने कोठामा एसी जडान गर्नु अनिवार्य जस्तै भइसकेको छ । यसको व्यवस्था तुरुन्तै गरिदिनुहोस् । शिक्षाको नाममा वर्सेनि करोडौँ बजेट छुट्टाइन्छ । अब थोरै बजेट यता पनि खर्चिनुहोस् ।
सफा पिउने पानी
सफा पिउने पानीको सुविधा हरेक स्कुल कलेजमा गरिदिनुहोस् । पानीको गुणस्तर परीक्षण गरी विद्यार्थीहरूलाई नियमित पानी पिउन प्रोत्साहन गरिदिनुहोस् । गर्मीबाट बच्ने आधारभूत उपाय भनेको प्रशस्त पानी पिउनु नै हो भन्ने उनीहरूको दिमागमा पारिदिनुहोस् ।
उचित भेन्टिलेसन
कक्षा कोठाभित्र तातो कम गर्न प्राकृतिक भेन्टिलेसन विधिहरू जस्तै खुला झ्याल र ढोकाहरू प्रयोग गर्ने, स्कुल हाताभित्र कम्तीमा पनि हरेक वर्ष बिरुवा रोप्ने आदि गरियोस्, स्कुलका वार्षिकोत्सवमा बिरुवा रोप्नैपर्ने वाध्यकारी प्रावधान बनाइयोस् ।





