देवचुली, ८ असार ।
देवचुली नगरपालिकाको दोस्रो नगरसभाको तेस्रो अधिवेशन सम्पन्न भएको छ । शुक्रबार देवचुली नगरपालिकाको सभाहलमा नगरप्रमुख हरिप्रसाद न्यौपानेको अध्यक्षतामा सम्पन्न अधिवेशनबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, आर्थिक विद्येयक र आगामी आर्थिक वर्षको अनुमानित आयव्यय विवरण सर्वसम्मत रुपमा पास भएको छ ।
नगर सभा बैठकमा नगर प्रमुख हरिप्रसाद न्यौपानेले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । नगरपालिकाले कृषि, उद्योग, पशु, पर्यटन तथा व्यापार व्यवसाय प्रवर्द्धनमा विशेष जोड दिएको सो क्रममा नगरप्रमुख न्यौपानेले बताए । अधिवेशनमा नगर प्रवक्ता तिलप्रसाद काफ्लेले आर्थिक वर्ष २०७९/०८० को प्रगति प्रतिवेदन पेश गरेका थिए ।
नगरउपप्रमुख पार्वता तिवारीले आर्थिक विद्येयक २०८० नगरसभामा पेश गरेकी थिइन् । सो विद्येयक ध्वनिमतका आधारमा सर्वसम्मत रुपमा पास गरिएको छ ।
उपप्रमुख तिवारीले आगामी आर्थिक वर्षको अनुमानित आयव्यय विवरण सहित विनियोजन विद्येयक समेत प्रस्तुत गरिन् । उनले ८० करोड २६ लाख ३५ हजार रुपैँया बराबरको अनुमानित आय व्यय प्रस्तुत गरेकी हुन् । जसमध्ये संघीय वित्तिय समानीकरण अनुदान १३ करोड ३२ लाख, संघीय राजस्व बाँडफाँड १० करोड ८१ लाख ४९ हजार , प्रदेश वित्तिय समानीकरण अनुदान १ करोड ८३ लाख ५५ हजार , प्रदेश राजस्व बाँडफाँड १ करोड ३४ लाख १५ हजार, सशर्त विशेष ५० लाख,समपुरक अनुदान ५० लाख ,आन्तरिक आम्दानी १२ करोड ८४ लाख १६ हजार,मालपोत रजिष्ट्रेसन शुल्क ५ करोड गरि कुल ८० करोड २६ लाख ३५ हजार आम्दानी हुने प्रक्षेपण गरिएको छ।
त्यसैगरि कुल विनियोजित बजेटमा सामाजिक क्षेत्र तर्फ ४१.३० प्रतिशत,आर्थिक विकास क्षेत्र तर्फ ११.२५ प्रतिशत, पूर्वाधार विकास क्षेत्र तर्फ २२.१३ प्रतिशत, वन वातावरण तथा विपद व्यवस्थापन क्षेत्रतर्फ २.९२ प्रतिशत, संस्थागत तथा सुशासन विकासतर्फ २२.४० प्रतिशत बजेट विनियोजन गरिएको छ ।
नगरसभाबाट राजश्व संकलन ऐन तथा देवचुली नगरपालिका युवा तथा खेलकुद विकास समितिको ऐन पारित गर्दै शिक्षा ऐन २०७६ को दोस्रो संशोधन गरेको छ । विधायन समिति संयोजक एकदेव पौडेलले प्रस्तुत गरेको ऐन सर्वसम्मत पारित गरिएको छ ।





