गोरखा, ८ असार ।
गोरखामा जन्ती बोकेको बोलेरो जीप दुर्घटनामा हुँदा ५ जनाको मृत्यु भएको छ । १२ जना घाइते भएका छन् ।
शहिद लखन गाउँपालिका–३ सिलिङ कोटगाउँबाट शहिद लखन गाउँपालिका–५ पोखरीडाँडा जन्ती फर्कने क्रममा सिलिङ र डाँडाबारीको बिचमा अमलडाँडा भन्ने ठाउँमा बिहीबार राति जीप दुर्घटना भएको गोरखा प्रहरीले जनाएको छ ।
गोरखा प्रहरी प्रमुख अनुपम श्रेष्ठका अनुसार अहिलेसम्म ५ जनाको शव भेटिएको छ भने अन्यको खोजी जारी रहेको छ । मृत्यु हुनेमा ४ पुरुष र एक महिला रहेको उनको भनाइ छ । घटनास्थल मनकामना नजिकै पर्दछ ।
श्रेष्ठका अनुसार भीरमा अन्य पनि हताहति भएको हुनसक्ने भन्दै प्रहरीले खोजी गरिरहेको छ । २ जनाको सकुशल उद्दार गरिएको छ भने १२ जना घाइतेलाई उपचारको लागि तनहुँको खैरेनीमा पठाइएको छ ।
पानी पनि परिरहेको हुनाले उद्दार कार्य कठिन भएको प्रहरीले जनाएको छ । अहिले जिल्लाबाट नेपाल प्रहरी, शसस्त्र पहरी र नेपाली सेनाको थप उद्दार टोली घटनास्थलतर्फ गएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।




