चितवन, जेठ २७ गते ।
भरतपुर महानगरपालिकाले अबको चार वर्षभित्र बालमैत्री महानगर बनाउने भन्दै २३ बुँदे घोषणापत्र जारी गरेको छ । भरतपुर महानगरपालिका र युथ क्लब नारायणगढको संयुक्त आयोजनामा शनिबार भरतपुरमा भएको वृहत बाल भेलामा बालमैत्री नगर बनाउने सूचकसहित घोषणापत्र जारी गरेको हो ।
बाल अधिकारका विषयमा विभिन्न २३ वटा बुँदाहरु घोषणापत्रमा उल्लेख गरिएको छ । हरेक वडामा बाल सञ्जाल गठन गर्ने, वडाको बजेट निर्माणमा बालबालिकालाई सहभागी गराउने, बालबालिकाको विकासमा महानगरले बजेट विनियोजन गर्ने, बालअधिकारको सन्दर्भमा उल्लेख भएका सूचनकहरु पूरा गर्ने गरी घोषणापत्र जारी गरेको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आउँदो २०८३÷०८४ मा सवै वडालाई बालमैत्री बनाउने गरी कार्यक्रम सम्पन्न गर्ने बताउनुभयो । ‘हामीले अन्य क्षेत्रमा जसरी काम गरेका छौँ, त्यसैगरी बालअधिकार र उनीहरुको क्षेत्रमा पनि प्राथमिकताका आधारमा काम गर्नेछौँ’ दाहालले भन्नुभयो । उहाँले हरेक विद्यालयमा खेलमैदान निर्माण गर्न लगाउने, उनीहरुको क्षमता वृद्धि गर्नको लागि अवसर प्रदान गर्ने, बालमैत्री विद्यालय, शौचालय निर्माण गराउनेलगायतका कामहरु भएको जानकारी दिनुभयो ।
महानगर उपप्रमुख चित्रसेन अधिकारीले अबको एक वर्षभित्र चारवटा वडा बालमैत्री घोषणा गरिने जानकारी दिनुभयो । उहाँले बालमैत्री हुनका लागि सूचकहरु पूरा भएका वडालाई घोषणा गर्ने तयारी भएको बताउनुभयो । स्थानीय सरकारसंग बालबालिकाले आफ्नो अधिकार राख्न पाउने वातावरण निर्माण गर्दै लैजाने उहाँले बताउनुभयो ।
नगर बाल सञ्जालका अध्यक्ष आदर्श तिवारीले स्थानीय पालिकाले कम्तीमा पनि बालबालिकासंग वर्षको एक पटक बसेर उनीहरुको मागका विषयमा सुनुवाइ हुनु पर्ने बताउनुभयो । बालअधिकारको विषयमा कति गम्भीर भएका छौ भन्ने विषय बालबालिकाको मुखबाट सुनेपछि मात्र सत्य हुने उहाँले बताउनुभयो । उहाँले घोषणापत्रमा उल्लेख भएका बुँदासंगै बाल न्यायालय सञ्चालन गर्नु पर्ने, अनलाइन सुरक्षा प्रदान गर्नु पर्ने लगायतका बुँदाहरुको विषयमा महानगरपालिका गम्भीर हुन अनुरोध गर्नुभयो ।
बाल सञ्जालकी प्रतिनिधि कृपा दाहालले सामाजिक सञ्जालबाट बालबालिकाको अधिकार हनन् भएको बताउनुभयो । उहाँले आफ्नै अभिभावकबाट सामाजिक सञ्जालमा छोराछोरीलाई प्रयोग गरेर पैसा कमाउन लगाउने जस्ता काम भएकाले त्यसलाई रोक्नु पर्ने बताउनुभयो ।
स्वास्थ्य महिला तथा सामाजिक महाशाखा प्रमुख शान्ताकुमारी पौडेलले बालमैत्री महानगर बनाउन सरकारी निकायबाट मात्र नभई सामाजिक संघसस्थाको पनि भूमिका रहेको बताउनुभयो । कार्यक्रममा राष्ट्रिय बालपरिषदका पूर्व कार्यकारी निर्देशक मिलन धरेलले आफ्नो अधिकारका लागि बालबालिका आफैले बोल्नु पर्ने बताउनुभयो । सामुहिक रुपमा स्थानीय सरकारलाई दबाव दिन सकेमा अधिकार सुनिश्चित हुने उहाँले बताउनुभयो ।
घोषणापत्रमा महानगर प्रमुख, उपप्रमुख, स्वास्थ्य महिला तथा सामाजिक महाशाखा प्रमुख, बालसञ्जालका अध्यक्षले हस्ताक्षर गर्नु भएको थियो । युथ क्लब नारायणगढका अध्यक्ष शालिग्राम नेपालको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय बालपरिषदका पूर्व कार्यकारी निर्देशक मिलन धरेल र क्लबका उपाध्यक्ष दयाराम कँडेलले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । कार्यक्रम महासचिव रामचन्द्र आचार्यले सञ्चालन गर्नु भएको थियो ।





